भर्जिनिया र मेरिल्याण्डमा आइसको छापा १३ सय बढी आप्रवासी पक्राउ
वासिङ्टन डीसी / इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट ‘आइस’ ले भर्जिनिया र म्यारिल्याण्डमा सञ्चालन गरेको दुई हप्ता लामो विशेष कारबाहीमा १३ सय २८ जना आप्रवासी पक्राउ गरेको जनाएको छ।
‘अपरेशन सेफ कम्युनिटी–वासिङ्टन डीसी’ नाम दिइएको उक्त कारबाही अगस्ट १ देखि १४ सम्म सञ्चालन गरिएको यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डिएचएस) द्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।
डीएचएसका अनुसार पक्राउ पर्नेहरूमा गम्भीर आपराधिक पृष्ठभूमि भएका तथा विभिन्न अपराधमा दोषी ठहरिएका वा आरोपित व्यक्तिहरू छन्।
आइसका अनुसार पक्राउ परेकाहरूमा हत्या, हत्याको प्रयास, जघन्य बलात्कार, यौन दुर्व्यवहार, अपहरण, डकैती, पहिचान चोरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा दुर्घटना गराएर फरार हुनेजस्ता अपराधमा संलग्न व्यक्तिहरू रहेका छन्।
पक्राउ परेका मध्ये झण्डै ४ सय जना अमेरिकामा आपराधिक कसुरमा दोषी ठहरिएका वा गम्भीर आपराधिक आरोप लागेका व्यक्ति रहेको आइसले जनाएको छ।
कारबाहीका क्रममा एमएस–१३, १८थ स्ट्रिट ग्याङ र ट्रेन डे अरागुआ जस्ता अन्तर्राष्ट्रिय आपराधिक ग्याङका सदस्यहरू पनि पक्राउ परेको जनाइएको छ।
‘सान्क्चुअरी’ नीतिका बाबजुद कारबाही
कारबाहीको मुख्य केन्द्र भर्जिनिया र म्यारिल्याण्डमा पर्ने वासिङ्टन डीसीका उपनगरीय क्षेत्रहरू रहे पनि आइसका अधिकारीहरूले दुवै राज्यका विभिन्न क्षेत्रमा लक्षित अध्यागमन प्रवर्तन कारबाही सञ्चालन गरेका थिए।
भर्जिनिया र म्यारिल्याण्डका केही काउन्टीमा ‘सान्क्चुअरी’ अर्थात् आप्रवासीलाई स्थानीय तहबाट संरक्षण दिने नीति रहे पनि ती क्षेत्रमा आइसले कारबाही गरेको जनाएको छ।
डीएचएस सचिव मार्कवेन मुलिनले कारबाहीलाई ट्रम्प प्रशासनको ‘अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता’ दिने नीतिसँग जोड्दै आपराधिक पृष्ठभूमि भएका गैरकानुनी आप्रवासीलाई पक्राउ गरी देश निकाला गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन्।
त्यस्तै, आइसको निष्कासन तथा हटाउने सञ्चालन विभागकी कार्यवाहक सहायक निर्देशक प्याट्रिसिया हाइडले आपराधिक पृष्ठभूमि भएका विदेशी नागरिकलाई खोजी गरी पक्राउ गर्ने कार्यमा आफ्ना अधिकारीहरू सफल भएको दाबी गरेकी छन्।
विभिन्न अपराधमा आरोपित पक्राउ
आइसले सार्वजनिक गरेको विवरणअनुसार कारबाहीका क्रममा पक्राउ परेका व्यक्तिहरूमध्ये एल साल्भाडोरका इग्नर विल्फ्रेडो ह्युजो–मोरान रिचमण्डमा हत्या तथा बन्दुक प्रयोगसम्बन्धी वारेन्टका आधारमा चेस्टरफिल्डबाट पक्राउ परेका छन्।
हैटीका एक्सनेल पियरे हत्याको प्रयास, कुटपिट तथा खतरनाक हतियारसम्बन्धी आरोपमा म्यारिल्याण्डको विकोमिको काउन्टीबाट पक्राउ परेका छन्।
होन्डुरसकी एस्ट्रेला रेयेस–फुनेज जघन्य दुर्घटना गराएर फरार भएको, बम विस्फोट वा आगजनीको धम्की दिएको तथा परिवारका सदस्यलाई कुटपिट गरेको आरोपमा ह्यारिसनबर्ग, भर्जिनियाबाट पक्राउ परेकी छन्।
एल साल्भाडोरका जर्मन मेजिया–बेरेस एमएस–१३ ग्याङका सदस्य रहेको र मादक पदार्थ सेवन गरी सवारी चलाउने, गैरकानुनी रूपमा अमेरिका पुनः प्रवेश गर्ने तथा जघन्य कुटपिटलगायतका आपराधिक रेकर्ड रहेको आइसले जनाएको छ। उनलाई मनासस, भर्जिनियाबाट पक्राउ गरिएको हो।
त्यस्तै, ग्वाटेमालाका एन्जेल ग्याब्रिएल ओर्टिज–हर्नान्डेजलाई अलेक्जान्ड्रिया, भर्जिनियाबाट पक्राउ गरिएको छ। उनीमाथि मानसिक रूपमा अक्षम पीडितमाथि बलात्कार तथा जघन्य यौन दुर्व्यवहारसम्बन्धी आरोप रहेको आइसले जनाएको छ।
आइसका अनुसार पक्राउ परेकाहरूको अध्यागमन तथा आपराधिक कानुनी प्रक्रिया अघि बढाइनेछ र कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित देशमा निष्कासनको प्रक्रिया अघि बढाइनेछ।
‘अपरेशन सेफ कम्युनिटी–वासिङ्टन डीसी’ यसअघि जुलाईमा जर्जियामा सञ्चालन गरिएको ‘अपरेशन सेफ कम्युनिटी–एटलान्टा’को निरन्तरता भएको आइसले जनाएको छ। जर्जियामा सञ्चालन गरिएको उक्त कारबाहीमा १२ सय भन्दा बढी आप्रवासी पक्राउ परेको जनाइएको थियो।
फोटो : डीएचएस














