शनिवारको साँझ, मम्स ममको मझेरी, लट्ठिएका १५ कवि
बिष्णु हरि घिमिरे
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ मनमा औधी इच्छा भएर पनि व्यक्त गर्न नसकेका धेरै कुराहरू छन् जीवनमा । त्यसमा साहित्य पनि हो। मन लाग्छ कहिलेकाहीँ एउटा अजम्मरी गीत लेख्न पाए। एउटा दमदार किताब लेख्न पाए। त्यस्तै कविता कोर्न पाए।
तर खै के हुन्छ, हातै सर्दैन। अलिक तन्नेरी हुँदा एक दुई पाना नकोरेको पनि होइन। तर पार लागेन। अब त रहर हरायो। तै पनि साहित्यकर्मीको सङ्गत गर्न भने रुचाउँछु। मलाई पनि कविताको लतले छुन्छ । कथाको रस भिज्छ ।
काठमाडौँ खाल्डोमा छिरे पछि एकाध वर्ष म पनि साहित्य अनुरागहरूको पछि पछि लागेको थिए। सगरमाथा रेडियो शुरु भए पछि यो क्रम अलिक सङ्गठित भएको थियो। प्रकाश सायमीले रेडियो सगरमाथामा साङ्गीतिक कार्यक्रम चलाउँथे ‘अजम्मरी गीत संगित’ । अनि त्यो कार्यक्रम सुन्नेहरूको समूह थियो ‘भावक अभियान’।
त्यही क्रममा थुप्रै साहित्यकार सँग भेट्ने मौका मिलेको थियो। त्यही बेला राष्ट्रिय युवा कवि पुरस्कार विजेता कृशु क्षेत्री सँग धेरै वर्ष पछि न्यु योर्कमा भेट भयो। ‘कुशल कूटनीतिज्ञ विद्रोही कवि’ चार वर्ष न्यु योर्कमा सङ्गत पछि मैले लेखेको थिए, उनको बारेमा। पछि मलाई चराका गीतहरू पठाइदिए। अहिले पनि झोक चल्छ अनि चराको गीतहरू पढ्छु। अलि पहिला उनको ‘शालिक’ कविता पढ्दा पढ्दै कामेको थिए।
भावक अभियानमा जोडिएका नवीन पखेली (खतिवडा) सँग त्यस पछि पनि दोस्ती राम्रै रह्यो। आरजु सल्यानी विष्ट पोखरा गए पछि एकाध कुराकानी नभएको होइन। त्यही अभियानका प्रमुख गण्डकी पुत्र सँग भने फेरि भेट हुन झन्डै झन्डै २५ वर्ष लाग्यो।
सस्क्वाना नदीको किनार ह्यारिसबर्गमा गण्डकी पुत्र भेटिए पछि साहित्यिक कार्यक्रममा मेरो सहभागिता फेरि बढेको छ। नवीन भट्टराई, शेखर कोइराला, पातलो अन्तरेहरूले बेलाबेलामा सम्झन्छन्।
शनिवार साँझको निम्ता मैले एक साता अगाडि नै पाएको थिए। ‘मन देखि मन सम्म’ शीर्षकले मलाई छोएको थियो। शनिवार बिहानै ह्यारिसबर्गमा नै गुरुङ समुदायको ‘माङी त्हें’ को निम्ता थियो।
‘शनिवार साँझको मौषम राम्रो हुने छैन’ विहान मोबाइलमा भने जस्तै ६ बज्दा नबज्दै कनिका पोखिए झैँ आसकबाट आइस वर्षा भयो। पातलो अन्तरेलाई फोन लगाए कार्यक्रम त हुन्छ नि? न रद्द भयो की भन्ने थियो। उनले भने ‘हामी घरबाट हिँड्यौ ।’
मम्स मम
अमेरिकामा नेपाल चिनाउने अर्को माध्यम मम पनि बन्दै गएको छ। अमेरिकामा मम दोकान कति होलान् ? ठ्याक्कै तथ्याङ्क त छैन तर हजार नाघेकी? यी हजारौँ मम स्टोर मध्ये मम्स मम अजिब छ।
बाहिरबाट हेर्दा यो ह्यारिसबर्गको डेरी स्ट्रिटमा रहेको नेपाली-नेपाली भाषी भुटानीका सयौँ स्टोर जस्तै हो। तर जब भित्र जानु हुन्छ त्यो मम खाने रेस्टुरेन्ट नभएर नेपालको ग्रामीण संग्रालय छिरेको भान हुन्छ।
ढोकाको दाहिने पट्टी पधेरो छ। जहाँ भरिएको तामाको गाग्री भेटिन्छ। भित्ता भरी नेपाली ग्रामीण जनजीवनमा प्रयोग हुने प्रायशः सबै सामाग्री सजाएर राखिएको छ। कतिपय यस्ता सामाग्री झन् जुन कुरा अव नेपालमा भेटाउन मुस्किल छ।
टेबल पनि झापामा रहेको शरणार्थी क्याम्पको नामबाट नामाकरण गरिएको छ। भित्तामा नेपाली पहाडी गाउँका घर जस्तै बनाइएको छ। धुरी छाना, पाली छाना, पीढी, पीढीमा जाँतो छ, उता ढिकी छ। भान्छामा माटोको चुलोमा कसौँडीमा भात पाकिरहेको हुन्छ।
अनि त्यही पीढीमा काम्लो ओछ्याइएको छ। भित्ताहरूमा हलो, जुवा, हडौलो, काठमा ठेकी, दही मोथ्ने धार्नी, नेती के हो के के। के छैन भन्नु पर्ने छ। त्यहाँ मम मात्र खाने होइन सिङ्गो नेपाल बुझ्न सकिन्छ। नेपालमा लोप हुँदै गरेका सामाग्री जीवन्त रुपमा सजाइएको छ।
बाहिर हिउँ थपिँदै थियो। चिप्लो हिउँ। म जाँउकी बसौँ। सामान्य अवस्थामा पनि ४५ मिनेटको दुरी।
मम्स मममा मान्छे थपिँदै गए। मैले चिनेका बाहेकका पनि कविहरू भित्रन थाले। पालिको राडीमा शेखर कोइराला देखिए। उनले कार्यक्रमको खाका सुनाए। ‘कार्यक्रम संचालक हुने छैन, तोकिए अनुसार आफ्नो पालोमा आफै आएर आफ्नो सृजना सुनाउने हो।‘ उनले भने।
प्रणय दिवसको अघिल्लो साताको शनिवार मसलावाला दूध चिया पिएर कविता वाचन शुरु भयो। पारखीहरूले चियाको स्वादको खुब बखान गरेका थिए। त्यो चिया स्वादलाई ओझेलमा पार्ने गरी कविता वाचन हुन थाले।
मन देखि मन सम्म प्रेमिल साँझको इतिश्री अनिल नेम्वाङ्गले गरे। चिया कै चुस्कोमा कविहरू मुडमा थिए। रचना छोटा थिए, मिठा। एउटाले आफ्नो रचना वाचन गरे पछि अर्को टुप्लुक्क पीढीमा आइपुग्ने। त्यहाँ सम्बोधन थिएन। सोझै रचना वाचन गरिन्थ्यो।
अनिल पछि डिपी दुलाल त्यस पछि त्रिविक्रम न्यौपानेको पालो आयो। आफ्नो रचना सुनाउन उनी हिउँको चिन्ता नगरी झन्डै एक घण्टा ड्राइभमा त्यो मझेरीमा आइपुगेका थिए। त्यसो त कविता सुन्न मात्र आफ्नी छोरीहरू सँगै ओम घिमिरे पनि ल्यानक्यास्टरबाट ह्यारिसबर्ग सम्म पुगेका थिए।
रचना वाचनको क्रम रोकिएन। त्यस पछि देवी दाहाल, बालकृष्ण अधिकारी, डीबी सारू, डा. नारद पोखरेल, जितु गुरुङ, शेखर कोइराला गोविन्द अधिकारीले आ आफ्नो मन माझे। कतिले प्रेम प्रस्ताव गर्दै थिए, केही उमेर ढल्किएकोमा चिन्ता व्यक्त गर्दै थिए।
त्यही क्रममा ६ दशक पार गर्न लागेका गण्डकी पुत्र मझेरीमा हाजिर भए। ‘प्रेम गर्न त बल्ल उमेर शुरु भएको छ, युवाले त प्रेमा मात्र गर्दैनन् अरू पनि गर्छ।’ हलमा हाँसो गुन्जियो।
गण्डकी पछि, मदन दुलाल, पातलो अन्तरे हुँदै भरत तिम्सिनाले मनै भित्रबाट रचना वाचन गरे।
विषेश अतिथि नर्थ क्यारोलाइना निवासी गायक तथा सङ्गीतकार मनोज राईले हार्मोनियम बजाएर गाउँदा बाहिर हिउँ पर्न रोकी सकेको थियो।
मझेरीको अगाडि आँगनमा १५ कवि सहित त्यति नै बराबरी श्रोता थिए। दुई घण्टा कार्यक्रम चल्यो। गज्जबको कुरा सहभागी सबै यति लट्टिएकी त्यो दुई घण्टा रचना बाचक बाहेक अरूको बोली सुनिएन।
शनिवारको साँझ प्रेमिल वाचनले सबैलाई एकाकृत गरेको देखिन्थ्यो। पातलो अन्तरे र भरत दुवैले वर्षौँ पछिको योजना सफल भएकोमा खुसी व्यक्त गरे।
‘मलाई यस्तो कार्यक्रम गर्नु पर्छ गर्छु पर्छ भन्ने थियो तर भइरहेको थिएन आज भयो।‘ भरत प्रफुल्लित थिए।
पातलो अन्तरले यस्ता कार्यक्रम शुरुवात भएको बताए।
मम्स ममका संचालक सङ्गीतकर्मी अगम गुरुङले हरेक १५-१५ दिनमा यस्तो कार्यक्रम गर्नका लागि आफूले स्थान उपलब्ध गराउने बचन दिए।
‘आज दर्शक दीर्घामा बसेर सुने, मलाई पनि यो मझेरीमा बसेर यसरी नै वाचन गर्ने रहर जागेर आएको छ, अब कापी कलम लिएर म पनि लेख्न थाल्छु।’ आफ्नी श्रीमतीका अगाडी भुटानमा हुँदाको उनै सँगको पहिलो प्रेम प्रस्ताव प्रसङ्ग कोट्याउँदै अगमले भने।
कार्यक्रमले साँच्चिकै मन माझिएको थियो, सुनाउने मात्र होइन श्रोताका अनुसारको भावले त्यही भन्थ्यो । तर त्यहाँ दुई कुरा खड्कियो ।
पहिलो त्यहाँ अरूको संगित निर्वाधरुपमा प्रयोग गरियो। यही क्रम बढ्दै जाँदा भोली कपि राइटको नमिठो उल्झन आइलाग्न सक्छ।
दोस्रो १५-१५ जनाले मन देखि मनको कुरा सुनाउँदा दर्शक दीर्घामा आधा दर्जन महिला थिए तर एक जना पनि मझेरीमा उक्लन सकेनन्।
साँच्चै एक दुई स्वर त्यो पनि थपिएको भए। लगभग मध्यरातमा झन्डै एक घण्टा हिउँको हिलो छिचोल्दै घर फर्कँदा सोच्दै थिए।