अमेरिकी पासपोर्ट रहेन अब सबैभन्दा शक्तिशाली, सिंगापुर नम्वर १
ल्याक्यास्टर, पेन्सिल्भेनिया / सन् २००६ मा, अमेरिकाको पासपोर्ट विश्वको एक नम्बरमा थियो । अमेरिकी नागरिकहरूहरुको विश्वव्यापी पहुँच सहज थियो ।
अमेरिकी पासपोर्ट जस्तै शक्तिशाली डेनमार्क र फिनल्याण्डको मात्र थिए । तर दुई दशकमा परिस्थिती धेरै बदलिएको छ ।
हेनली पासपोर्ट इन्डेक्सले मंगलवार सार्वजनीक गरेको २० औं वार्षिकोत्सव प्रतिवेदनमा अमेरिकी पासपोर्ट विश्वको शक्तिशालीमा दशौ स्थानमा पुगेको छ ।
इन्डेक्सले रहेका वर्ष विश्वका शक्तिशाली पासपोर्टको वरियता सार्वजनीक गर्छ । पासपोर्ट वाहकहरूले बिना भिसा वा अन अराइवल भिसाको पहुँच कति देशमा पाउछन भन्ने आधारमा वरियता तोक्ने गरेको जनाइएको छ ।
हेनली पासपोर्ट इन्डेक्सको सन् २०२६ को रिपोर्ट अनुसार विश्वको सबै भन्दा शक्तिशाली पासपोर्टको सूचीमा नम्वर एकमा सिंगापुर रहेको छ । यसले आफ्ना वाहकहरूलाई विश्वका एक सय ९२ गन्तव्यहरूमा बिना भिसा सहजै प्रवेश गर्न अनुमति दिन्छ ।
संयुक्त अरब इमिरेट्स (यूएइ ) ले यो वरियतामा सबैभन्दा ठूलो फड्को मारेको छ । सिंगापुरपछि यूएई दोस्रो शक्तिशाली पासपोर्ट बनेको छ । यूएइले जापान र दक्षिण कोरिया सँग बराबरी गरेको छ । यी तीन वटा देशका नागरिकहरूले विश्वभरका कुल १८८ गन्तव्यहरूमा बिना भिसा यात्रा गर्न पाउँछन्।
दुई दशक अघिको तुलनामा, जापानका लागि ६०, दक्षिण कोरियाका लागि ७३, र युएइका लागि १५३ वटा नयाँ गन्तव्यहरू थपिएका छन्।
तेस्रो स्थानमा १८७ अंकसहित स्विडेन रहेको छ। सन् २००६ मा पनि स्विडेन १२९ अंकसहित दोस्रो स्थानमा थियो।
चौथो स्थान बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे र स्पेन छन् । यी सबै देशको १८६ अंक छ ।
माल्टा १८५ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ, पाँचौ स्थानमा अस्ट्रिया, ग्रीस, पोर्चुगल र स्विट्जरल्याण्ड पनि छन्।
सन् २००६ मा माल्टा शीर्ष १० भन्दा बाहिर, अर्थात् ११ औं स्थानमा थियो।
छैटौं स्थानमा हंगेरी, पोल्याण्ड र संयुक्त अधिराज्य (यूके) छन् ।
सातौं स्थानमा आठवटा देशहरू छन् । सन २००६ मा २६ औै स्थानमा रहेको लाटभिया अहिले आठौ स्थानमा उक्किएको छ । यस्तै स्लोभाकिया, चेक गणतन्त्र, स्लोभेनिया, अष्ट्रेलिया, मलेसिया, क्यानडा र न्युजिल्याण्ड छन् ।
सबैभन्दा पुछारमा अफगानिस्तान छ ।
२०२६ का लागि विश्वका टपटेनमा रहेका पासपोर्टहरू:
सिंगापुर (१९२ गन्तव्य)
जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (१८८)
स्विडेन (१८७)
बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, स्पेन (१८६)
अस्ट्रिया, ग्रीस, माल्टा, पोर्चुगल, स्विट्जरल्याण्ड (१८५)
हंगेरी, पोल्याण्ड, संयुक्त अधिराज्य (UK) (१८४)
अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, लाटभिया, मलेसिया, न्युजिल्याण्ड, स्लोभाकिया, स्लोभेनिया (१८३)
क्रोएसिया, इस्टोनिया (१८२)
लिचटेनस्टाइन, लिथुआनिया (१८१)
आइसल्याण्ड, संयुक्त राज्य अमेरिका (१८०)
दक्षिण एशियामा कुन देश कति
सन् २०२६ जुलाईको नयाँ हेनली पासपोर्ट इन्डेक्स प्रतिवेदन अनुसार, दक्षिण एसियाली देशहरूमा मालदिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली र अफगानिस्तानको पासपोर्ट सबैभन्दा कमजोर अवस्थामा रहेका छन्।
मालदिभ्स सूचकांकको ५८ औं स्थानमा रहँदै आफ्ना नागरिकलाई ७८ गन्तव्यहरूमा बिना भिसा यात्रा गर्ने सुविधा दिन्छ भने भारत ५५ गन्तव्यमा पहुँचसहित ८० औं स्थानमा रहेको छ। त्यस्तै, भुटान ३२ गन्तव्यसहित ८७ औं स्थानमा, श्रीलंका ३७ गन्तव्यसहित ९३ औं स्थानमा, र बंगलादेश ३५ गन्तव्यसहित ९५ औं स्थानमा रहेका छन्।
नेपाल र उत्तर कोरिया संयुक्त रूपमा ९७ औं स्थानमा छन्, जहाँका नागरिकले ३५ वटा गन्तव्यहरूमा बिना भिसा वा अन-अराइभल भिसामा यात्रा गर्न सक्छन्। दक्षिण एसियाको पुछारतर्फ पाकिस्तान ३० गन्तव्यसहित १०० औं स्थानमा छ भने अफगानिस्तान विश्वकै सबैभन्दा कमजोर अर्थात् १०१ औं स्थानमा खुम्चिएको छ, जहाँका नागरिकले मात्र २३ वटा गन्तव्यहरूमा पूर्व-भिसा बिना प्रवेश पाउँछन्।
नेपाली पासपोर्टले कति देशमा बिना भिसा यात्रा गर्न पाउछन्
नेपाली पासपोर्ट भएका नागरिकहरूले विश्वका ३५ वटा गन्तव्यहरूमा बिना भिसा वा अन-अराइभल भिसामा यात्रा गर्न सक्छन् ।
पूर्ण रूपमा भिसा नचाहिने देशहरूमा हाम्रा छिमेकी राष्ट्रहरू भारत, बंगलादेश र पाकिस्तानसहित सिंगापुर, फिलिपिन्स, हाइटी, बारबाडोस, डोमिनिका, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स र माइक्रोनेसिया रहेका छन्।
त्यस्तै, त्यहाँ पुगेपछि विमानस्थलमै भिसा पाइने एसियाली र मध्यपूर्वी देशहरूमा मालदिभ्स, श्रीलंका, कम्बोडिया, लाओस, म्यानमार र तिमोर-लेस्ते पर्दछन्।
अफ्रिकी महादेशका मरिसस, केन्या, मडागास्कर, इजिप्ट, रवाण्डा, बुरुन्डी, केप भर्ड, कोमोरोस, जिबुटी, गाम्बिया, गिनी-बिसाउ, माउरिटानिया, मोजाम्बिक, सेनेगल, सेशेल्स, टोगो, तान्जानिया र सोमालियामा पनि नेपालीहरूले अन-अराइभल भिसा पाउँछन्।
यसबाहेक प्रशान्त महासागरीय क्षेत्र (ओशिनिया) का कुक आइल्याण्ड्स, निउए, पलाउ, सामोआ र तुभालु तथा दक्षिण अमेरिकाको बोलिभियामा पनि नेपाली नागरिकका लागि अन-अराइभल भिसाको व्यवस्था रहेको छ ।














