डीटी फेस्ट अब न्यु ह्याम्पशायरको न्यु इङ्ल्यान्डमा पनि
भर्जिनिया, अमेरिका / नेपाली महान् चाड दशैं र तिहारको अवसर पारेर भर्जिनियामा हुँदै आएको बृहत् सांस्कृतिक उत्सव ‘दशैं तिहार डीटी फेस्ट’ अब न्यु ह्याम्पशायरको न्यु इङ्ल्यान्डमा पनि हुने भएको छ ।
थ्री ई इन्टरटेनमेन्टको आयोजनामा विगत पाँच वर्ष देखि भर्जिनियामा हुँदै आएको छ । डिटी फेस्टलाई आयोजकले उत्तर अमेरिकामा नेपाली समुदायमा हुने सबै भन्दा ठूलो मेला दाबी गर्दै आएको छ ।
‘डी.सी. महानगर क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरिसकेको थ्री ई इन्टरटेनमेन्टले यस वर्ष आफ्नो ऐतिहासिक छैटौँ संस्करणलाई न्यु इङ्ल्यान्डमा विस्तार गर्न लागेको छ।’ डिटी फेस्टका मिडिया संयोजक प्रवीण भट्टराईद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति अनुसार सेप्टेम्बर २६ तारिख शनिबार न्यु ह्याम्पशायरको हलिसस्थित प्रतिष्ठित ‘एल्पाइन इभेन्ट भेन्यु’ मा दिउँसो दुई बजेदेखि राती १० बजे बजेसम्म महोत्सव सञ्चालन हुनेछ।
“हामीले डीएमभी क्षेत्रमा नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकजुट बनाउँदै एउटा बलियो जग बसाल्यौँ,” मिडिया संयोजक भट्टराईले भनेका छन्, “अब त्यही उच्च-ऊर्जा, नेपाली पहिचान र भव्यतालाई हामी उत्तर-पूर्वी क्षेत्रमा रहेका नेपाली दर्शकमाझ पस्कन गइरहेका छौँ।”
महोत्सव केवल एउटा साङ्गीतिक कार्यक्रम मात्र नभएर नेपाली कला, संस्कृति, मौलिक परिकार र हाम्रो गौरवमय विरासतलाई प्रवासमा जीवन्त राख्ने महाकुम्भ हुने आयोजकको विश्वास छ।
ओनेष्ट रियल स्टेटको प्रस्तुतिमा हुन लागेको डीटी फेस्टमा नेपालका विश्वस्तरीय चर्चित कलाकारहरूको सङ्गीतिक प्रस्तुति, मौलिक नेपाली परिकारका स्टलहरू, परम्परागत झाँकी तथा सांस्कृतिक नृत्यहरू मुख्य आकर्षणका रूपमा रहने छन्।
न्यु इङ्ल्यान्ड र वरपरका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर एउटा अविस्मरणीय र ऐतिहासिक पल सिर्जना गर्न आयोजक टोली अहोरात्र खटिरहेको जानकारी पनि भट्टराईले दिए ।
कार्यक्रमको थप विवरण, अनलाइन टिकट बुकिङ तथा व्यापारिक स्टल उपलब्धताबारे चाडै नै विस्तृत सूचना सार्वजनिक गरिने र सम्पूर्ण जानकारी उत्सवको आधिकारिक वेबसाइट www.dtfest.com मार्फत पनि हेर्न सकिने मिडिया संयोजक भट्टराईले उल्लेख गरे ।
आयोजकले न्यु इङ्ल्यान्डबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्यालेन्डरमा सेप्टेम्बर २६ को मिति सुरक्षित राख्दै यस ऐतिहासिक उत्सवको तयारीमा जुट्न हार्दिक आह्वान गरेको छ।
















