‘५औँ डीएमभीवाईए कप’ भर्जिनियामा जुलाई २५ र २६ मा हुँदै
भर्जिनिया, अमेरिका / अमेरिकाको भर्जिनियामा रहेका नेपाली समुदायको फुटबल उत्सव ‘५औँ डीएमभीवाईए कप २०२६’ जुलाई अन्तिम साता हुने भएको छ ।
डीएमभी युथ एकेडेमीको आयोजना र थ्री ई इन्टरटेनमेन्टको सहकार्यमा फुटबल उत्सव भर्जिनियाको डम्फ्रिजस्थित अलि क्रिगर स्पोर्ट्स कम्प्लेक्समा हुने जनाइएको छ ।
यस वर्षको प्रतियोगिता नेपाली समुदायका लागि झनै विशेष र ऐतिहासिक बन्ने आयोजकको दावी छ ।
उत्सवमा खुल्ला समूह, किड्स र पुराना तथा पाका खेलाडीहरूलाई लक्षित गरी ‘४० वर्षमाथिको मास्टर्स’ फुटबल प्रतियोगिता समावेश गरिएको छ। भेट्रान खेलाडीहरूको खेलप्रतिको समर्पण र ऊर्जालाई सम्मान गर्न यो विधा थप गरिएको आयोजकले जनाएका छन्।
उत्सवमा भर्जिनिया सहित टेक्सास, ओहायो, पेन्सिलभेनिया, न्युयोर्क, नर्थ क्यारोलिना, मेरिल्यान्ड लगायतबाट उत्कृष्ट टोलीहरूले सहभागिता जनाउने निश्चित भएको छ।
मैदानमा कुल २८ वटा टोलीहरू उपाधिका लागि उत्रिनेछन्, जसमा २० वटा ओपन टिम र ८ वटा मास्टर्स टिम रहनेछन्।
आकर्षक पुरस्कार राशि र बालबालिकालाई प्राथमिकता
प्रतियोगिताको मुख्य विधा (ओपन डिभिजन) को विजेताले ७ हजार ७ सय ७७ अमेरिकी डलर र उपविजेताले ३ हजार ३ सय ३३ डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, नयाँ थपिएको मास्टर्स विधा (४० वर्षमाथि) तर्फको विजेताले २ हजार ५ सय डलर र उपविजेताले १ हजार ५ सय डलर पाउनेछन्।
सन् २०२४ मा स्थापित डीएमभी युथ एकेडेमीले नयाँ पुस्तालाई खेलकुदमार्फत जोड्न भर्जिनियामा पहिलो पटक नेपाली बालबालिकाहरूका लागि नियमित सकर ट्रेनिङ कार्यक्रम सुरु गरेको थियो।
हाल ४० जना बालबालिकालाई प्रशिक्षण दिइरहेको एकेडेमीले यस प्रतियोगितामा बालबालिकालाई विशेष स्थान दिएको छ।
९ वर्षमुनि (यू-९) र १२ वर्षमुनि (यू-१२) का बालबालिकाहरूका लागि दर्ता पूर्ण रूपमा निःशुल्क गरिएको छ। सहभागी सबै बालबालिकालाई मेडल र विशेष पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन्। यसका साथै खेल हेर्न आउने अभिभावकहरूका लागि पनि विभिन्न मनोरञ्जनात्मक खेलहरूको व्यवस्था गरिएको छ।
भव्य तयारी, समुदायलाई निमन्त्रणा
यस वृहत् प्रतियोगिताको सफल व्यवस्थापन र नेतृत्व डीएमभीवाईए कार्यसमिति सदस्यहरू प्रदीप कार्की, माधव गौतम र मिलन गोर्खालीले गरि रहेका छन् ।
प्रतियोगितालाई ‘ओनेस्ट रियल स्टेट’ ले मुख्य प्रायोजन गरेको छ भने थ्री ई इन्टरटेनमेन्टले प्राविधिक तथा व्यवस्थापकीय सहकार्य गरेको छ।
बाहिरी राज्यबाट आउने खेलाडी, खेलप्रेमी तथा दर्शकहरूका लागि आयोजकले भर्जिनियाको ‘विन्डह्याम गार्डन मनासस’ होटलमा विशेष छुटसहितको होटल ब्लक (ग्रुप कोड: ०७२४२६एनईपी) को समेत व्यवस्था गरिसकेको छ।
“खेलकुदले जित मात्र होइन, सम्बन्ध पनि जिताउँछ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस उत्सवमा भर्जिनिया, मेरिल्यान्ड लगायत अमेरिकाभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र नेपाली समुदायको एकता, ऊर्जा र प्रतिभालाई विश्वसामु प्रस्तुत गर्न आयोजक कमिटीले हार्दिक निमन्त्रणा गरेको छ।

















