‘युएससीआइएस’द्वारा ग्रीन कार्ड र प्रिमियम भिसा शुल्क वृद्धि, नयाँ शुल्क मार्च १ तारिखदेखि लागू
कार्लाल, पेन्सिलभेनिया / यु-एस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेस ‘युएससीआइएस’ले द्रुत (प्रिमियम) प्रक्रियामार्फत भिसा तथा ग्रीन कार्ड आवेदनको शुल्क वृद्धि गरेको छ ।
‘युएससीआइएस’ले छिटो निर्णय चाहने कामदार र रोजगारदाताहरूका लागि थप आर्थिक भार सिर्जना गरेको छ । यो शुल्क वृद्धि संघीय नियमअनुसार मुद्रास्फीतिअनुसार गरिने नियमित समायोजनपछि गरिएको हो ।
लामो प्रतीक्षा सूचीका कारण छिटो प्रक्रिया सेवाको माग उच्च नै रहेकाले नयाँ शुल्क मार्च १ तारिखदेखि लागू गरिएको छ ।
‘युएससीआइएस’ले विभिन्न भिसा र ग्रीन कार्ड निवेदनअनुसार फरक–फरक दरमा प्रिमियम प्रोसेसिङ शुल्क बढाएको छ। अधिकांश रोजगार–आधारित भिसा तथा रोजगार–आधारित ग्रीन कार्डका लागि अब द्रुत प्रक्रिया शुल्क २९ सय ६५ डलर पुगेको छ ।
यो वृद्धि अतिरिक्त शुल्क तिरेर छिटो निर्णय लिन चाहने आवेदकहरूमा लागू हुनेछ । त्यस्तै, रोजगार–आधारित ग्रीन कार्ड निवेदनहरू मात्र यस उच्च प्रिमियम शुल्कबाट प्रभावित भएका छन् ।
‘युएससीआइएस’का अनुसार प्रिमियम प्रोसेसिङ वैकल्पिक सेवा भएको जनाइएको छ । जसअनुसार आवेदनको समीक्षा निश्चित समयसीमा (सामान्यतया १५ देखि ४५ दिन) भित्र गर्ने प्रतिबद्धता जनाउँछ ।
यसले स्वीकृतिको ग्यारेन्टी भने गर्दैन, केवल छिटो निर्णयको सुनिश्चितता दिने बताइएको छ । यो सेवा लिनका लागि फर्म आई ९०७ प्रयोग गरिन्छ ।
रोजगार–आधारित ग्रीन कार्डका लागि मुख्य परिवर्तन फर्म आई–१४० मा लागू भएको छ । जुन विदेशी कामदारलाई रोजगारीमार्फत स्थायी बसोबासका लागि दर्ता गरिने निवेदन हो ।
आई–१४० निवेदनको प्रिमियम शुल्क २८ सय ५ डलरबाट बढाएर २९ सय ६५ डलर पु¥याइएको छ । यसले यो परिवर्तन पारिवारिक–आधारित ग्रीन कार्ड नभई रोजगार–आधारित आवेदनमा मात्र लागू भएको पुष्टि गर्छ ।
२९ सय ६५ डलर शुल्क फर्म आई –१२९ अन्तर्गत दर्ता गरिने धेरै रोजगार भिसा एच वान बी र एल १ मा पनि लागू हुनेछ । केही धार्मिक तथा मौसमी कामदार भिसामा कम दरको वृद्धि गरिएको छ । साथै, विद्यार्थी कार्य अनुमति तथा स्ट्याटस परिवर्तन आवेदनमा पनि अलग वृद्धि गरिएको छ ।
‘युएससीआइएस’ले पुरानो शुल्कसहित पठाइएका आवेदन अस्वीकार गरिने चेतावनी दिएको छ । अमेरिकामा काम सुरु गर्न वा निरन्तरता दिन छिटो निर्णयमा निर्भर आवेदकहरूलाई ढिलाइ हुन सक्छ ।















