अमेरिकामा चलेनन् दुर्गेश थापा, स्थानीय आयोजक भन्छन् ‘घाटामा गयौ’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ साङ्गीतिक प्रस्तुतिका लागि पहिलो पटक अमेरिका भ्रमणमा रहेका गायक / प्रस्तोता दुर्गेश थापाका कारण स्थानीय आयोजकहरूले हैरानी व्यक्त गरेका छन्।
नेपालमा उनको क्रेजको पारो उकालो चढेको थियो। आफू व्यस्त भएको भन्दै आयोजक सँग उनले हेलिकोप्टरको डिमान्ड गर्ने गरेको खबर बाहिर आएका थिए।
अमेरिकामा अहिले सम्म टेक्ससको ह्युस्टन, न्यु योर्क, पेन्सिल्भेनियाको ह्यारिसबर्ग र पिट्सबर्ग तथा भर्जिनिया र बाल्टिमोरमा दुर्गेशको कार्यक्रम सकिएको छ। भर्जिनियालाई छोडेर अन्य स्थानमा दुर्गेशको कार्यक्रममा दर्शकको उपस्थिति अत्यन्त न्यून देखिएको छ।
अधिकांश स्थानीय आयोजकले आफूहरू घाटामा गएको बताएका छन्।
दुर्गेशको कार्यक्रम टेक्ससको ह्युस्टनबाट शुरु भएको थियो। जहाँ दर्शकको उपस्थिति अत्यन्त न्यून रहेको थियो।
आइतबार साँझ मात्र दुर्गेशले मेरिल्याण्डको बाल्टिमोरमा प्रस्तुति दिएका छन्। बाल्टिमोरको फ्यामेली किचन रेस्टुरेन्टमा कार्यक्रम भएको थियो।
बाल्टिमोरका लागि दुर्गेशको साङ्गीतिक कार्यक्रमका आयोजक मध्येका एक फ्यामेली किचनका सञ्चालन सुबोध विलास पन्तले आफूले सोचे अनुसार दर्शक नआएको स्वीकार गरे।
‘दुर्गेश थापाको जुन चर्चा थियो त्यस अनुसार दर्शक आएनन्, म आफै आश्चर्यमा परे।’ पन्तले भने, ‘ दर्शक नआए पछि हामी घाटामा जाने नै भयौ।‘
दुर्गेशको ब्रान्ड अनुसार मोटो रकम लगानी गरेका पेन्सिल्भेनियाको ह्यारिसबर्गका आयोजक पनि यतिखेर थैथै मानिरहेका छन्।
ह्यारिसबर्गमा सांग्रिला भट्टी प्यालेस र केटिएम इन्टरटेनमेन्टले दुर्गेशको कार्यक्रमको आयोजना गरेका थिए।
‘दर्शक पनि सोचे जस्तो आएन र प्रायोजक सँग पनि भने अनुसार कार्यक्रम गर्न पाएनौ, हामी घाटामा गयौ।’ सांग्रिला भट्टी प्यालेसका राजेश अर्यालले समाज टाइम्स सँग भने।
राजेशले आफूहरू घाटामा जानुमा दुर्गेश थापा भन्दा पनि उनलाई अमेरिका ल्याउनेहरू मुख्य कारक भएको बताए। राजेशले सम्झौता अनुसार काम हुन नसकेको गुनासो गरे।
‘हामी सँग एउटा सम्झौता गरियो तर त्यो कुरा दुर्गेश जीलाई खबर नै नगरिएको रहेछ।‘ राजेशले भने, ‘हामीले तोकिएको समयमा कार्यक्रम गर्नै पाएनौ, दुर्गेशलाई लिन जाँदा रातभर न्यु योर्कमा कुरेर रित्तै फर्कियौ, भनेको समयमा पनि दुर्गेशलाई ल्याइएन जसबाट प्रायोजकहरू रिसाए।‘
‘हामीलाई गलत सूचना दिइयो।‘ राजेशले भने, ‘अर्गनाइजर टिम जुन छ भर्जिनियाबाट उहाँहरूले हामीलाई यहाँ दुर्गेश थापालाई कनट्र्याक्ट ल्याई सके पछाडि चाही तपाईँहरूले जे गरे पनि हुन्छ भन्नु भएको थियो, तर त्यो कुरा दुर्गेशलाई भनिएको रहेनछ।‘
राजेशले आफूहरूले मुख्य मुख्य प्रायोजक सँग दुर्गेशलाई भेट गराउन खोजेको तर त्यो सम्भव नभएको बताए।
‘यहाँ आउँदा दुर्गेश थापा ब्रदर मान्नु पनि भएन।‘ राजेशले भने, ‘किनभने उहाँलाई पनि थाह रहेनछ, उहाँलाई यस्तो हुन्छ भनेर अर्गनाइजरले भनेकै रहेनछ।‘
राजेशले स्पोन्सरहरुले पैसाहरू फिर्ता मागेको समेत बताए।
दुर्गेशलाई ह्यारिसबर्गमा एक शोका लागि २० हजार अमेरिकी डलर दिने गरी सम्झौता गरेको तर सम्झौता अनुसार काम नभएकाले १६ हजार डलर मात्र दिएको पनि राजेशले बताए।
दुर्गेशलाई अमेरिका ल्याउने मध्येका एक भर्जिनिया निवासी रियल्टर गणेश पाण्डेले भने सबै कार्यक्रम घाटामा गएको भन्ने अस्वीकार गरे।
‘केही ठाउँमा स्थानीय आयोजकको व्यवस्थापन र प्रचार प्रसारको कमजोरीका कारण त्यस्तो देखिएको हो। हामीले भर्जिनियाको शो राम्रै गर्यौ, सात आठ सय दर्शक आएका थिए।‘ गणेश पाण्डेले भने।
तर राजेश अर्यालले पब्लिसिटीमा आफूहरूले धेरै नै मेहनत गरेको बताए।
‘दुर्गेश थापाको जुन अर्गनाइजर टिम छ उहाँहरूले केही पनि जान्नु भएन किनभने यत्रो पैसा खर्च गरेर हामीले प्रोग्राम गरिरा छौ। हाम्रो ह्रारिसबर्गमा बीस हजार भन्दिने, कोलम्बसमा गएर ३० भन्दिने, टेक्ससमा कम्ती भन्दिने, बाल्टीमोरमा कम्ती भन्दिने।‘ राजेशले दुखेसो गरे, ‘उहाँहरूको ठाउँमा ३० मा ४० मा उहाँहरूले टिकट प्रिन्ट गर्या छ। अब हामीले त ३० मा टिकट र ४० मा ५० मा प्रिन्ट गर्दा हामीलाई त घाटा हुन्छ लस हुन्छ। किनभने बीस हजार रिकभर गर्नु छ।‘
राजेशले आफूहरू माथि विभेद गरिएको पनि बताए।
‘हामीलाई चाहिँ अब एउटा भुटानी कम्युनिटी भनेर हो कि यहाँ चाहिँ धेरै जना मान्छे फकट्या पैसा हुन्छ जस्तो लागेर हो कि उहाँहरूले हामीलाई चाहिँ एकदमै प्राइसी गर्नुभएको हो।‘ राजेशले भने।
राजेशले दुर्गेश सँग भने आफ्नो गुनासो नरहेको बताए।
‘म पनि गानाहरू लेख्ने मान्छे हो म पनि गीतहरू सङ्गीतहरू लेख्छु मेरो पनि युट्युब च्यानल छ एक लाख जति सब्स्क्राइबर छन् म चाही गीतहरू सङ्गीतहरूमा एकदमै माया गर्ने मान्छे, दुर्गेश थापा जी सँगको गुनासो छैन।‘
अर्गनाइजरले अन्तिम समयमा पैसा नदिए स्टेट नचड्नु भनेका थिए तर दुर्गेशले नमानेको पनि राजेशले खुलासा गरे।
‘तपाईँहरूको कन्ट्रयाक्ट के छ म जान्दिन म पर्फर्म गरेर आएको हो। म जसरी पनि म पर्फर्म गरेर जान्छु भनेर दुर्गेशले भनेको मैले नै सुनेको हो।‘ राजेशले भने, ‘दुर्गेशले एउटा सोझोपन नै देखाउनु भयो ह्यारिसबर्गमा।‘
अर्गनाइजेशन टिम गणेश पाण्डेले मार्केटिङ र दुर्गेश थापाको व्यवहारले सबै ठाउँमा भने जस्तो हुन नसकेको बताए।
‘तपाईँले देख्नु नै भयो भर्जिनिया आठ सय माथि दर्शक थिए, अन्य ठाउँमा मार्केटिङ स्ट्रेटेजी र अलिकति दुर्गेशजीको व्यवहार फरक परेको हो।‘ गणेशले भने,’ अब आर्टिस्टको पनि केही रिक्वायरमेन्ट हुन्छ अब हाम्रो पनि केही रिक्वायरमेन्ट हुन्छ तल माथि थोरै पर्छ।‘
गणेशले अब बाँकी रहेका ठाउँमा दुर्गेशको कार्यक्रम राम्रो हुने बताए।
‘हामीले एकदमै एकदमै राम्रो गर्या छौ अब बाँकीको पनि, ओहायोमा पनि थाउजेन्ड प्लस हुने जस्तो कुरा छ र सान फ्रान्सिस्को पनि हजार जना कट्ने जस्तो कुरा छ ड्यालस मा त भन्नै पर्दैन त्यहाँ त सजिलै भइहाल्छ।‘
उनले टेक्ससको अस्टिनमा भएको कार्यक्रमका बारेमा नकारात्मक हल्ला चलेकाले पनि कतिपय ठाउँमा त्यसको असर परेको हुन सक्ने बताए।
तर लामो समय देखि ह्यारिसबर्गमा रहेर समाजसेवा समेत गर्दै आएका चलचित्र कर्मी पर्शु अधिकारीले नेपालमा जस्तो माहौल अमेरिकामा नभएकाले दुर्गेश थापाको शो नचलेको बत्ताउँछन्।
‘अमेरिकामा रहेका नेपाली भाषी भनेका नेपाली कला संस्कृति, गीत सङ्गीतलाई माया गर्ने हुन्छन्, दुर्गेश वास्तविक गायक नै होइन, त्यसले गर्दा पनि धेरैले उनलाई रुचाएनन्।‘अधिकारीले भने, नेपालमा निकै चर्चामा रहेकी भनिएकी ज्योति मगर पनि अमेरिकामा निरास हुँदै फर्किएकी हुन्।‘
यस्तै अधिकारीले दुर्गेशको कार्यक्रममा जानका लागि नेपाली भाषी समुदायले असुरक्षाको पनि महशुस गरेको हुन सक्ने बताए।
‘दुर्गेशका दर्शक त्यस्तै खालका छन्, त्यहाँ जाँदा हुलमुलमा केही होला भन्ने डर पनि हुन सक्छ।’ अधिकारीले भने।














