नील भण्डारीले पुरा गरे न्यु योर्क सिटी म्याराथन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको मेकानिसबर्ग निवासी इन्सपायर टु एक्सप्लोरका संस्थापक नीलहरि भण्डारीले आइतबार सम्पन्न न्यु योर्क म्याराथन पुरा गरेका छन्।
इन्सपायर टु एक्सप्लोर समुदायलाई प्रकृति तर्फ फर्काउने अभियान हो। यसले पद यात्रा, क्रस कन्ट्री दौड लगायत कार्यक्रम आयोजना गर्दै आएको छ।
कीर्तिमान कायम भएको न्यु योर्क सिटी म्याराथन भण्डारीले चार घण्टा १९ मिनेटमा पुरा गरेका थिए।
’२३ माइल सम्म मेरो पेश राम्रो थियो, त्यस पछि मांसपेशीहरू बाउँडिन थाले, उपचार गरेर दौड पुरा गर्दा सोचेको भन्दा केही धेरै समय लाग्यो, तर पनि खुसी छु, भण्डारीले भने, ‘म कठिन चीजहरू गर्न सक्षम छु भनेर आफूलाई प्रमाणित गर्न खुशीको आँसु बगाउँदै अन्तिम रेखा पार गरेँ।‘
पर्वतारोही समेत रहेका ४२ वर्षका भण्डारीले म्याराथन पुरा गरेको यो दोस्रो पटक हो। ३८ वर्षको उमेर पछि दौडन शुरु गरेका भण्डारीले गत वर्ष सिकागो म्याराथन पुरा गरेका थिए।
सिकागो म्याराथन भण्डारीले चार घण्टा ५४ मिनेटमा पुरा गरेका थिए।
‘पहिलो पटक भन्दा यस पटक समयमा सुधार गरे।’ उनले भने, अझ राम्रो गर्ने भन्ने थियो।‘
केन्याली धावक द्वयको ऐतिहासिक जित रहेको न्यु योर्क सिटी म्याराथनमा नयाँ कीर्तिमान कायम भएको थियो।
अमेरिकाको न्यु योर्क शहरमा सम्पन्न ५४औँ संस्करणको न्यु योर्क सिटी म्याराथनमा केन्याली धावकहरूको दबदबा रह्यो ।
पुरुष प्रोफेसनल वर्गमा केन्याका बेन्सन किपरुटो ले २ घण्टा ८ मिनेट ९ सेकेन्ड समयसहित रोमाञ्चक जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी तथा सहदेशी अलेक्जेन्डर मुतिसोले पनि सोही समयमै दौड पूरा गरे । अन्तिम निर्णय फोटो–फिनिस मार्फत गरिएको थियो, जसले यो वर्षको म्याराथनलाई इतिहासकै सबैभन्दा साँघुरो प्रतिस्पर्धामध्ये एक बनाएको छ।
त्यस्तै महिला प्रोफेसनल वर्गमा केन्याकी हेलेन ओबिरीले २ घण्टा १९ मिनेट ५१ सेकेन्ड समयसहित नयाँ कोर्स रेकर्ड बनाउँदै उपाधि जितेकी छन्। योसँगै उनले सन् २००३ मा बनाइएको पुरानो रेकर्ड तोडेकी हुन्। दोस्रो स्थानमा केन्याकी शेरोन लोकिडी र तेस्रो स्थानमा सिला चेपकिरुई रहेका छन्।
पुरुषतर्फ तेस्रो स्थानमा केन्याका अल्बर्ट कोरिर रहे, जसले २:०८:५७ समय बनाए।
पुरुष ह्वीलचेयर वर्गमा स्विजरल्याण्डका मार्सेल हगले १ घण्टा ३० मिनेट १६ सेकेन्ड समयसहित विजेता बने।
महिला ह्वीलचेयर वर्गमा अमेरिकी सुजाना स्कारोनीले १:४२:१० मा दौड पूरा गर्दै उपाधि हात पारिन्।
यो वर्षको म्याराथनमा मौसम अनुकूल रहेकाले धावकहरूलाई राम्रो प्रदर्शन गर्न सहज भएको बताइएको छ।
म्याराथनमा एक सय ५० देशका ५५ हजारभन्दा बढी धावकहरूको सहभागिता थियो। स्टेटन आइल्याण्डबाट शुरु भएको म्यानहट्टनसम्मका सबै ५ बरोमा पुगेको थियो।
‘विश्वको सबै भन्दा ठूलो म्याराथन इभेन्ट, दर्शकको उपस्थिति पनि उस्तै, म साँच्चिकै रोमाञ्चित थिए।‘ भण्डारीले आफ्नो अनुभव सुनाए ‘यो जादु थियो’
उनी लटरी ड्र मार्फत म्याराथनमा छनौट भएका हुन्।
यस पटकको न्यु योर्क म्याराथनमा दुई लाख भन्दा धेरैले आवेदन दिएका थिए।














