अमेरिकामा आइस अधिकारीहरूमाथि मृत्यु धम्की बढ्दो, परिवार समेत निशानामा : डीएचएस
वाशिङटन / अमेरिकी होमल्याण्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासन तथा सीमा कार्यान्वयन एजेन्सी (आइस) अधिकारीहरू माथि मृत्यु धम्की बढ्दो मात्रामा रहेको जनाएको छ।
डीएचएसले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार आइसका अधिकारीहरू विरुद्ध मृत्यु धम्कीमा आठ हजार प्रतिशतले वृद्धि भएको छ। विभागका अनुसार अधिकारीहरू र तिनीहरूको परिवार अहिले अभूतपूर्व जोखिममा परेका छन्।
डीएचएसका सहसचिव ट्रिसिया म्याक्लफलिनले एक विज्ञप्ति मार्फत यो हिंसा भएको र तुरुन्त बन्द हुनु पर्नेमा जोड दिएकी छिन्।
‘हाम्रा आइसीइ अधिकारीहरू हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर हत्यारा, बलात्कारी, बाल यौन अपराधी, आतङ्कवादी र ग्याङ सदस्यहरूलाई देशबाट हटाइरहेका छन्। तर उनीहरू अहिले आफैँ हिंसात्मक धम्की, परिवारमाथि आक्रमण र अनलाइन डक्सिङको शिकार भइरहेका छन्। यो हिंसा तुरुन्त अन्त्य हुनुपर्छ।‘ ट्रिसियाले भनेकी छिन्।
विभागले जनाएको छ कि पछिल्ला हप्ताहरूमा आइस अधिकारीहरूका परिवारका सदस्यहरूलाई धम्कीपूर्ण फोन र सन्देशहरू पठाइएको, र कतिपयको टाउकोमाथि इनाम समेत घोषणा गरिएको छ।
ताजा घटनाहरूमा डलास, टेक्ससमा बस्ने मेक्सिकोका एडुआर्डो एगुइलार नामक एक अवैध बसोबासकर्ताले टिकटक मा भिडियोमार्फत आइस एजेन्टहरूको हत्या गराउने योजना सार्वजनिक गरेको भन्दै पक्राउ परेका छन्। उनले अक्टोबर ९ मा पोस्ट गरेको भिडियोमा “प्रत्येक आइस एजेन्टको लागि १० हजार डलर” पुरस्कारको घोषणा गरेका थिए।
अर्को घटनामा, एक आइस अधिकारीकी श्रीमतीलाई फोन गरेर अज्ञात व्यक्तिले धम्काएको पनि विभागले जनाएको छ।
‘तिम्रो श्रीमान् आइसमा काम गर्छन् भनेर तिमी कसरी सुत्छ्यौ? फ..यु, तिम्रो परिवार पनि फ .. । तिम्रा बच्चाहरू ‘गल्तीले’ डिपोर्ट होउन् भन्ने चाहन्छु। दोस्रो विश्वयुद्धपछि नाजीहरूलाई के भयो तिमीलाई थाहा छ? ठिक त्यही कुरा तिम्रो परिवारसँग हुनेछ।‘
अर्का एक आइस कर्मचारीको फोनमा “तिमीहरूले भन्या ती सबै आइस अधिकारीहरूलाई डक्स गरियोस् — एक–एक गरेर” भन्ने धम्कीपूर्ण भॉइसमेल भेटिएको छ।
वाशिङ्टनको फेर्नडेल स्थित आइस कार्यालयलाई लक्षित गर्दै जेम्स एड्रियन वारन नामका व्यक्तिले फेसबुकमा पोस्ट गर्दै आइसलाई “नाजी र गेस्टापो” भनेर उल्लेख गरेका थिए र “अधिकारीहरूलाई पछ्याउने, रेकर्ड गर्ने र रिपोर्ट गर्ने” धम्की दिएका थिए।
डीएचएसका अनुसार स्यान्क्चुअरी सहर”का राजनीतिक नेताहरूले बारम्बार आइस अधिकारीहरूलाई “नाजी” वा “गेस्टापो” भनेर तुलना गर्दा जनस्तरमा घृणा बढेको र त्यसले हिंसात्मक धम्कीहरूलाई थप उक्साएको हो।
विभागले सबै राजनीतिक र सामुदायिक समूहलाई संयम अपनाउन आग्रह गरेको छ।
“कानून कार्यान्वयन गर्ने अधिकृतमाथि यस्तो हिंसात्मक व्यवहार अस्वीकार्य छ। सार्वजनिक सेवामा लागेका अधिकारी र उनका परिवारको सुरक्षाको रक्षा हाम्रो सर्वोच्च दायित्व हो।” विभागले भनेको छ।
विभागले आइस अधिकारीहरूका लागि सुरक्षा प्रोटोकल कडा गर्ने, अनलाइन निगरानी बढाउने, र दोषीहरूमाथि कडा कानुनी कारबाही गर्ने तयारी गरेको जनाएको छ।














