पहिलो सुदूरपश्चिम मेरिल्याण्ड कप इन्टरस्टेट भलिबल प्रतियोगिताको उपाधि टेक्ससलाई
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड, अमेरिका / पहिलो सुदूरपश्चिम मेरिल्याण्ड कप इन्टरस्टेट भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट फेडरल क्रेडिट युनियन टेक्ससले जितेको छ।
मेरिल्याण्डमा आइतबार सम्पन्न दुई दिने प्रतियोगिताको फाइनलमा घरेलु टिम मेरिल्याण्ड नेप्लिज भलिबल क्लबलाई ३-१ को सेटमा हराउँदै एभरेष्ट फेडरल क्रेडिट युनियनले उपाधि जितेको हो।
नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान कैलाश दत्त भट्टको नेतृत्वमा रहेको एभरेष्टले पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको थियो। पहिलो सेटमा अलमलिएको मेरिल्यान्डले दोस्रो सेटको नतिजा भने आफ्नो पक्षमा पार्यो ।
फाइनलकै प्रतिस्पर्धी बनेको दोस्रो सेट मेरिल्यान्डले २५-२२ अंकले जितेको थियो। तर त्यस पछिका दुई सेटमा घरेलु कोर्टमा मेरिल्याण्ड नेप्लीज भलिबल क्लबको जोर चलेन।
तेस्रो सेट २२-११ ले सहजै आफ्नो पक्षमा पारेको एभरेष्टले चौथो सेट एभरेष्ट २५-१८ ले जित्दै उपाधि हात पार्यो।
उपाधि ट्रफी सँगै एभरेष्ट फेडरल क्रेडिट युनियनले सात हजार सात सय ७७ अमेरिकी डलर नगद पुरस्कार पायो। यस्तै दोस्रो भएको मेरिल्याण्ड नेप्लीज भलिबल क्लबले चार हजार चार सय ४४ डलर प्राप्त गर्यो।
उपाधि जितेको एभरेष्टका कप्तान कैलाश प्रतियोगिताको मस्टभ्यालुएवल खेलाडी घोषित भए। एभरेष्टकै सविन थापा वेस्ट सटर र बेष्टबल्करको उपाधि मेरिल्याण्ड नेप्लीज भलिबल क्लबका भगिराम केसीले पाए।
यस अगाडि आइतबार नै भएको सेमिफाइनलमा एभरेष्टले पर्वत स्पोर्टस क्लबलाई २५-२३,२२-२५ र २७-२५ ले हराएको थियो।
अर्को सेमिफाइनलमा मेरिल्याण्ड नेप्लीज भलिबल क्लबले गल्कोटलाई हराएको थियो। तेस्रो सेटको खेल जारी रहँदा रेफ्रीको निर्णयलाई लिएर गल्कोटका खेलाडीहरूले विवाद गरेका थिए। त्यस पछि रेफ्रीको ‘कल’ अस्वीकार गरेकोमा गल्कोटलाई खेलमा अयोग्य घोषित गरिएको थियो।
प्रतियोगिताका विजेता तथा उप विजेता टिमका खेलाडीलाई डेलिगेट ह्यारि भण्डारी, नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान सुनिल चौधरी, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष कुल गुरुङ, बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ट्रस्टीका अध्यक्ष प्रभु थापा, बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त लगायतले पदक, प्रमाण पत्र तथा ट्रफी वितरण गरेका थिए।
प्रतियोगिताको आयोजक सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष विक्रम शाहीका अनुसार उपविजेता टिमको नगद पुरस्कार बानाको गत निर्वाचनमा दोस्रो भएका कोशिश भण्डारीले प्रायोजन गरेका थिए।
शाहीका अनुसार प्रतियोगितामा योङ्ग ब्लड गोर्खा, रिजवुड नेपाली समाज, इन्ट्रा-नेश्नल वयरफेयर, एभरेष्ट फेडरल क्रेडिट युनियन, बाल्टिमोर गोर्खा, पर्वत स्पोर्ट्स क्लब, न्यु योर्क, मेरिल्याण्ड नेपाली भलिबल क्लब, राइजिङ स्टार, गलकोट स्पोर्ट्स क्लब, सुदूरपश्चिम भलिबल न्यु योर्क, नोभा नाइट भलिबल क्लब, माई साम्राग भलिबल क्लब, मेरिल्याण्ड नेपाली भलिबल क्लब, बाल्टिमोर, र सिननाटी भलिबल क्लबले भाग लिएका थिए।
















