नेपालीपन र संस्कृतिलाई प्रवर्द्धन गर्ने सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव

सान् फ्रान्सिस्को, क्यालिफोर्निया/ नेपालीपन र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।
महोत्सवमा हिन्दु र बौद्ध धर्मका विभिन्न पूजा हुने भएका छन् । श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत वाचन गर्ने छन्। यस्तै बौद्ध गुरु तेन्जिङ लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्ने छन्।
भागवत श्रवण गर्ने मात्र नभएर यस पटक सोही मण्डपमा भक्तजनले निजी पूजा पनि गर्न पाउने भएका छन् । पितृ मोक्ष सङ्कल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ती पूजा गर्न सकिने धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिए।
‘धेरैलाई विभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाई दिने र भक्तजनहरू आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भने। यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम छ । यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरू कलश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिए ।
भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भने– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यस पटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।
सङ्कलित रकम नेपाली कम्युनिटी सेन्टरलाई
नास्नले गत नोभेम्बरमा नेपाली कम्युनिटी सेन्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछि यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धीकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताए। यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेन्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।
नास्नले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यसअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछि ३ महिनामा ७ लाख रुपैयाँ सङ्कलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेन्ट गरेको कार्कीले जानकारी दिए ।
धर्म संस्कृति प्रवर्द्धन मूल उद्देश्यसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्सवको लक्ष्य रहेको कार्कीले बताए। यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रस्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकहरूमा बिष्णु घले, पशुपति कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहेका छन्। त्यस्तै बोर्ड अफ ट्रस्टी र केही समावेशीहरू रहेको सल्लाहकार समिति बनाइएको छ । जसको संयोजकमा दिक्पाल केसी रहेका छन्।
करिब १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरू र शौचालय छन् । ५४ हजार वर्ग फिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।