सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।
नेकपा (एमाले) को संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् ।
‘भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यस कारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ ।’
सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिए ।
अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए ।
कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताए ।