गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति रहेको बताएका छन् ।
बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले गणतन्त्रको शत्रु बेथिति रहेको भन्दै यसले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा नहुने बताएका हुन्।
उनको शुभकामना सन्देशमा भनिएको छ, ‘जगजाहेर छ, आज गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही होइन– ढिलासुस्ती, अनियमितता र बेथिति हुन् । यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।’
राष्ट्रपति पौडेलले अव राजनीतिक दल, हाम्रा सरकार, हाम्रा नेतृत्व सृजनशील र जनउत्तरदायी हुनुपर्ने र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्ने बताएका छन् ।
उनको शुभकामना पत्रमा लेखिएको छ, ‘हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्दछ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील र जनउत्तरदायी हुनुपर्दछ । शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनुपर्दछ। हामीले सुशासनको प्रत्याभूति दिनुपर्दछ ।’
राष्ट्रपति पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सके मात्र गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जाने बताए ।