केन्टकीमा हुने हिमालयन तेक्वान्दो च्याम्पियनसिप : ६ स्कुलका डेढ सय बढी खेलाडीले भाग लिँदै

लुइसभिल, केन्टकी / केन्टकी राज्यको लुइसभिलमा हुने ‘पहिलो हिमालयन इन्टर स्कुल तेक्वान्दो च्याम्पियनसिप’ मा पाँच स्कुलले भाग लिने पक्का भएको छ।
हिमालयन तेक्वान्दो लुइसभिल केन्टकीले मे २४ तारिख शनिवार च्याम्पियनसिप आयोजना गर्न लागेको हो। हिमालयन तेक्वान्दो लुइसभिल केन्टकी सन् २०२२ मा स्थापना भएको हो।
‘च्याम्पियनसिपका लागि हामीले मे १४ सम्म दर्ताको अवधि तोकेका थियौ, त्यो समयावधि भित्र पाँच स्कुलबाट डेढ सय भन्दा धेरै खेलाडीले नाम दर्ता गराउनु भएको छ।’ स्कुलकी सञ्चालिका तथा प्रशिक्षक कल्पना तिवारीले भनिन्।
तिवारीका अनुसार पेन्सिल्भेनियाका चार स्कुलले च्याम्पियनसिपका लागि नाम दर्ता गराएका छन्।
‘हिमालयन तेक्वान्दो ह्यारिसबर्ग, किस्टोन, युनाइटेड एभरेष्ट र हिङमाङ स्कुलका खेलाडी केन्टकी आउने छन्।’ समाज टाइम्स सँगको कुराकानीमा प्रशिक्षक तिवारीले भनिन्, ‘केन्टकीको थर्ड आइ तेक्वान्दो स्कुलले पनि नाम दर्ता गराएको छ।
उनका अनुसार आयोजक हिमालयन तेक्वान्दो लुइसभिल केन्टकीबाट ८४ जना खेलाडीले यस च्याम्पियनसिपमा आफ्नो दावेदारी प्रस्तुत गर्ने छन्।
‘ब्रेकिङ्ग, पुम्से र स्पाइरिङमा हामी प्रतिस्पर्धा गराउँदै छौ, एक जना खेलाडीले तीन स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न पाउने छन्।’ तिवारीले भनिन् ।
उनले च्याम्पियनसिपका लागि उत्साहित र नर्मस दुवै गरेको बताइन।
‘पहिलो पटक हो हामीले च्याम्पियनसिप आयोजना गर्न लागेको त्यस कारण हामीले यस पटक सीमित स्कुललाई मात्र आमन्त्रण गर्यौ यस पटकको अनुभवले आगामी वर्ष हामीलाई खुल्ला च्याम्पियनसिपका लागि बाटो खेल्ने छ, अलिकति उत्साहित र नर्मस दुवै छु।’
च्याम्पियनसिपका लागि समुदायबाट राम्रो सहयोग पाइरहेको तिवारीले बताइन्।
नेपालमा पथरी क्याम्पमा बसे पनि झापामा नकुल शर्माबाट तेक्वान्दो सिकेकी तिवारी सन् २००९ मा अमेरिका आएकी हुन्। अमेरिकामा आए पछि उनले स्टेट, नेश्नल र युएस ओपन समेत खेलेकी थिइन्। पछिल्लो तीन वर्ष देखि उनी स्कुल सञ्चालिका तथा प्रशिक्षक छिन्।