मदर्स डेको दिन आमाछोरीलाई तेक्वान्दोको तेस्रो डान

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकामा आइतबार ‘मदर्स डे’ । आमाहरूको सम्मान गर्ने दिन। आमा हुनेले भेटेरै सम्मान गरे। मिठो मसिनो खाए। जसको आमा छैनन् उनीहरुले पनि आमा सम्झिए होलान्।
पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा भने आइतबार पुनम दुलाल र उनकी छोरी सुवर्ण शर्माले तेक्वान्दोको ‘तेस्रो डान’ संयुक्त रुपमा थापेर मदर्स डे मनाए। पुनमकी कान्छी छोरी नब्या शर्माले पनि दोस्रो डान लिइन्।
‘ए यो त गज्जब संयोग परेछ।’ पुनमका श्रीमान्, सुवर्ण – अवयाका पिता तथा हिमालयन तेक्वान्दोका संचालक एवं प्रशिक्षक नकुल शर्मा भन्दै थिए, ‘हामीले त्यसरी त सोचेकै थिएनौ।’
दुई छोरीकी आमा पुनम ३९ औ वसन्त पार गर्दै छिन्। जेठी छोरी सुवर्णा १३ औ वर्ष । यी दुवैले एउटै वर्ष सन् २०१८ देखि तेक्वान्दो खेल्न शुरु गरेका हुन्।
‘छोरीलाई तेक्वान्दोमा प्रोत्साहन गर्ने क्रममा ख्यालख्यालैमा पुनमले तेक्वान्दो शुरु गरेकी थिएन, अब त यो हाम्रो परिवारको मुख्य व्यवसाय नै भएको छ।’ चौथो डान प्राप्त प्रशिक्षक नकुलले समाज टाइम्स सँग भने।
‘हामीले हिमालयन तेक्वान्दो शुरु गर्नु अगाडि छोरीलाई सिकाउन नजिकै किम तेक्वान्दो स्कूल लगेका थियौ, खासमा मलाई आफैले तेक्वान्दो स्कुल किन शुरु नगर्ने भने सोच त्यही बेला मनमा आएको हो।’ नकुल अतीत कोट्याउँदै गए, ‘छोरीलाई तीन महिना किममा लगे पछि आफैले स्कुल शुरु गर्यौ।’
४४ वर्षका नकुलले नेपाल स्थित भुटानी शरणार्थी शिविरमा मोहन सेन्चुरी सँग तेक्वान्दो सिकेका हुन्। पछि उनी आफैले क्याम्पमा अरुलाई सिकाउन थाले। सन् २०१३ मा अमेरिका आए पछि पनि उनलाई तेक्वान्दोले छोडेन।
शुरुमा उनी मेरिल्याण्डको सिल्भरस्प्रिङ्गमा बस्थे। अमेरिकी तेक्वान्दो बुझ्न र थप सिक्न दुई घण्टा ड्राइभ गरेर भर्जिनियामा रहेको एचकेली तेक्वान्दो स्कुल सम्म पनि पुगे। त्यही हो, उनले तेक्वान्दो मास्टर कुमार कार्की भेटेको। त्यही बेला मिचिगनमा रहेका अर्का तेक्वान्दो मास्टर लव गोर्खाली सँग पनि सम्पर्क गरे।
नेपालमा तेक्वान्दोको दोस्रो डान थियो। तर कोरिया स्थित तेक्वान्दो हेडक्वार्टर कुकिवानबाट प्रमाण पत्र आएन। कारण उनी सँग नागरिकता थिएन्। नेपाल तेक्वान्दो संघलाई उनले पैसा समेत तिरेका थिए। तर गैर नागरिक भएका कारण संघले पैसा लिएको रिसिप्ट मात्र दियो, फाइल कोरिया नै पठाइदिएन।
मेरिल्याण्डबाट पछि उनी पेन्सिल्भेनियाको ह्यारिसबर्ग बसाई सरे। त्यही बेला बाल्टिमोरमा कुमार कार्कीले तेक्वान्दो स्कुल खोले। केही महिना उनी ह्यारिसबर्गबाट बाल्टिमोर धाउन थाले। पछि सन् २०१८ मा नकुलले आफैले ‘हिमालयन तेक्वान्दो ह्यारिसबर्ग’ नाममा तेक्वान्दो स्कुल शुरु गरेको । उनी पेन्सिल्भेनियामा तेक्वान्दो स्कुल शुरु गर्ने पहिलो नेपाली भाषी हुन्।
‘छोरीलाई तेक्वान्दो सिकाउन अरूको स्कुलमा लैजादा लैजादै आफै किन स्कुल नखोल्ने भन्ने लागेको थियो, समुदायका अगुवाहरूले पनि प्रोत्साहन गरे अनि आँट गर्यौ।’ समाज टाइम्स सँग नकुलले भने।
‘छोरीलाई प्रोत्साहन दिन र नकुल सरको तेक्वान्दो प्रतिको समर्पणलाई श्रीमतीको रुपमा साथीको रुपमा समर्थन गर्न मैले तेक्वान्दो शुरु गरेको हुँ।‘ पुनमले भनिन्। जुन समय उनी ३१ वर्षको थिइन्।
‘त्यो बेला श्रीमान् र छोरीलाई साथ दिने मात्र उद्देश्य थियो, अहिले भगवानलाई धन्यवाद दिन्छु, त्यो बेला तेक्वान्दो शुरु गरेकोमा।‘ पुनम भन्छिन्, ’फिजिकल फिट् रहन पाए, जति उमेर ढल्कियो बिरामीले च्याप्छ, तेक्वान्दोले स्वस्थ बनाएको छ।‘
शुरुमा केही गाह्रो भए पनि पछि बानी परेको पुनमको भनाई छ। ‘यसले आमाहरूलाई फाइदा नै हुन्छ, अभिभावक र छोराछोरी सँग सँगै बातचित गर्न पाइयो।’ पुनम भन्छिन्, ‘अप्ठेरो लाग्दैन, फाइदा मात्र देख्छु।‘
पुनम सरकारी जागिरे पनि हुन्। चार जना परिवारको घरधन्दा पनि उनको जिम्मेवारीमा पर्छ। ‘समय मिलाउनु पर्छ त्यो चैँ टाइट छ, तर व्यवस्थापन गर्दै आएको छु, अब बानी परिसक्यो।’
उनीहरूका कान्छी छोरी नब्या शर्माले पनि आइतबार नै दोस्रो डान प्राप्त गरेकी छिन्।

परिवार नै तेक्वान्दोमा हुँदा अप्ठेरो हुँदैन ? प्रश्न झर्न नपाउँदै नकुलले भनिहाले, ‘खासै हुँदैन, उही कहिले काहीँ परिवार नै घुम्न जान मिल्दैन।‘
पुनम र उनीकी छोरी सुवर्णले तेक्वान्दोलाई निरन्तरता दिने बताए। ‘अब त छोड्न सक्दिन’ पुनम भन्छिन्। सुवर्णले त अमेरिकी राष्ट्रिय टिमबाट खेल्ने योजना बनाएकी छिन्।
‘म अझै खेल्छु।‘छोटो उत्तर दिँदै सुवर्णले भनिन्।
शर्मा परिवारका आमा छोरी सँग सँगै एन्जाइलिस चापागाईँले पनि आइतबार तेस्रो डान प्राप्त गरिन्। उनीहरू हिमालयन तेक्वान्दोबाट तेस्रो डान पाउने पहिलो ब्याच हुन्।
यसै गरी नब्या र भिभान सिवाकोटीले पनि आइतबार नै दोस्रो डान प्राप्त गरे। यस्तै ग्रेसमा गुरुङ, कृपा दाहाल, निश्चल मिश्रा, सोफी रिजाल र रोजिता खरेलले पनि आइतबार नै ब्याल्कबेल्ड प्राप्त गरे।

अस्ट्रेलियाबाट आएका चिकित्सक डा. नरेश पराजुली, साहित्यकार डा. नारद पोखरेल, तेक्वान्दो प्रशिक्षक नकुल शर्मा, राम अधिकारी र ओम विष्टले संयुक्त रुपमा खेलाडीलाई डानको प्रमाण पत्र प्रदान गरेका थिए।
‘अब हिमालयन तेक्वान्दोबाट ब्याल्कबेल्ड लिनेको संख्या ५७ जना पुग्यो।’ प्रशिक्षक नकुलले भने।
