द्वन्द्व र स्वार्थमा फसेको गैर आवासीय नेपाली संघ
राजेन्द्र बहादुर राउत (हाल अमेरिका)
मेरो विचारमा गैर आवासीय नेपाली संघ (एनआरएन) नेपाली भूमि बाहिर विदेशमा रहेका नेपाली र विदेशी नागरिकता लिएर विदेशमा बसोबास गर्ने नेपाली मूलका विश्वभरका नेपालीहरूको साझा संस्था हुनुपर्ने हो ।
यो संस्था गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिको परिचालन र उपयोग गरी नेपालको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने पवित्र उद्देश्यका साथ सञ्चालन हुनु पर्नेमा विपरीत दिशा तर्फ उन्मुख भइरहेको छ ।
आज भन्दा करिब दुई दशक अघि म नेपाल छोडेर अमेरिका आए, त्यति बेला यो संस्था भर्खरै जन्मिएर बामे सर्ने अवस्थामा थियो र यसको उद्देश्य एवं गन्तव्यको सकारात्मक भविष्य माथि केही विश्वास र भरोसा पनि थियो । तर मेरो अनुभव र भोगाइमा पछिल्लो समय एनआरएन केवल सीमित समूह र व्यक्तिको स्वार्थ पूर्ति गर्ने अखडामा परिणत भै निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ ।
पछिल्लो समय विदेशी भूमिमा बसोबास गर्ने नेपालीको हित र अधिकार संरक्षण गर्ने नाममा भैरहेको आन्तरिक लफडा, झगडा, भाँडभैलो र हाल नेपालमा भैरहेको महाधिवेशनमा देखिएको विभाजनले यसको वास्तविक तथ्यलाई उजागर गरेको छ ।
✓ एनआरएनए गैर आवासीय नेपालीहरूको अधिकारको कानुनी पहिचानका लागि लड्नु पर्ने संस्था हुनु पर्नेमा सो हुन सकेको छैन ।
✓ नागरिकताको कुरा सबै सरोकारवालालाई स्मरण रहोस् वि.सं २०६३ अघि प्रायः सबै विदेशमा बस्ने नेपालीहरू विदेशमा बस्दा विदेशको नागरिकता र नेपालमा बस्दा नेपालको नागरिकता प्रयोग गरिरहेका थिए ।
✓ जब यस मुद्दालाई एनआरएनको नेतृत्वले आफ्नो स्वार्थ अनुरूपको (लगानीसँग गाँसेर) एजेन्डा बनाए, त्यस बेला देखि सामान्य गैर आवासीय नेपालीहरूको पैतृक सम्पत्ति माथिको अधिकार समेत गुम्न पुग्यो ।
नेपाल र विश्वको राजनीति बझने एक सचेत एनआरएनएको हैसियतले के भन्न चाहन्छु भने अहिलेको अधिवेशनले के साँच्चै एनआरएनएको साझा हितमा काम गर्न सक्ने नेतृत्व चयन हुन सक्यो ? हजारौँ डलर खर्च गरेर प्रतिनिधि बन्नु पर्ने बाध्यकारी व्यवस्थाले आफना विचार राख्न पाउने परिस्थिति भयो ? के अव एनआरएनएले सही दिशा निर्देश गर्न सक्छ ? यी तमाम प्रश्नहरू अझै अनुत्तरित नै रहने अवस्था अधिवेशनले सिर्जना गरेको छ ।
तसर्थ यस संस्थाको सञ्चालन प्रक्रियामा नै समस्या छ र जबसम्म यसको विधान र सञ्चालन प्रक्रिया सामान्य गैर आवासीय नेपालीहरूको हातबाट कोरिँदैन, तब सम्म यस्ता विभिन्न बहानामा गरिने भेला, कथित महाधिवेशन÷सम्मेलनहरूको कुनै अर्थ र मान्यता रहँदैन । यदि वास्तविक एनआरएनए बनाउन खोजेको हो भने तपाईँहरू धनी व्यक्तिहरूको साझा संस्था भन्ने सोचबाट बाहिर निस्कनुस्, तब मात्र हामी तपाईँहरूको प्रयासलाई सम्मान गर्नेछौं ।
अन्त्यमा, नेपालको लगभग १५% जनसंख्या विदेशी भूमिमा बसोबास गरिरहेका छन् र एनआरएनको नाममा हाम्रो भाग्य, भविष्य र अधिकार माथि खेलबाड भइरहन्छ।
तसर्थ यसका बारेमा नेपालका प्रमुख राजनीतिक नेतृत्वले समेत यो वास्तविकतालाई हृदयङ्गम गरी आवश्यक समन्वय र सहकार्य गरी एनआरएनएलाई सबै नेपाली जनता र एनआरएनएको हितमा उपयोग गर्ने संस्थाको रुपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता हो ।