एनआरएनए बद्री केसी टोली र प्रधानमन्त्रीबिच भेटघाट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैर आवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले ११ औँ महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कति पटक तपाईँहरूको कार्यक्रममा सहभागी भएँ त्यसको मतलब नै तपाईँहरू आधिकारिक हो । अब दसौँ महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औँ महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औँ महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।’
प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै त्यसतर्फ तयारी गर्न आग्रह गरे । आइतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौँमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो ।
सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।