शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष डा. शेष घलेले संस्थाभित्र सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरामा विशेष समस्या रहेको बताएका छन् ।
आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपालि एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
उनले भने, ‘एनआरएनएको समस्या यही नै हो भनेर भन्न सकिदैँन् । धेरै वर्षदेखि विभिन्न समस्याहरू थिए । तर संस्थाभित्र सदस्यता वितरणमा त्रुटि, अधिवेशनको ढिलाइ र निर्वाचन प्रणालीमा समस्या छ । यी तीन कुरामा विशेष समस्या थियो । ती समस्याहरू समाधान गरेर यसपालिको अधिवेशन गरिएको हो । मलाई विश्वास छ, भविष्यमा संस्थाले तीनै विधिको प्रयोग गरेर अगाडि बढ्ने छ र विवादरहित एनआरएनए हुनेछ ।’
यस्तै, उनले अधिवेशनमा सहभागी हुनको लागि करिब तीन हजार जनाले इच्छा जाहेर गरे पनि विभिन्न समस्याले गर्दा आउन समस्या भएको बताए ।
सबै सदस्य नभए पनि राम्रै सङ्ख्याको सहभागितामा अधिवेशन सम्पन्न भएको पनि उनको भनाई छ ।
उनले भने, ‘एनआरएनएमा रहेका सबै सदस्यलाई अधिवेशनमा सहभागी हुनको लागि आह्वान गरिएको हो । टाइमलाइन पनि दिएका थियौँ । केही सदस्य सहभागी नभए पनि राम्रै सङ्ख्याको सहभागिता भयो । करिब तीन हजारको सङ्ख्याका सदस्यहरूले इच्छा जाहिर गर्नु भएको थियो तर विभिन्न समस्याले गर्दा पनि साथीहरू आउन समस्या भयो । तैपनि ठुलै संख्यामा आउनु भएको थियो ।’
उनले कानुनसम्मत रुपमा प्रक्रिया पुर्याएर अधिवेशन गरेको हुनाले यसमा अदालतले हस्तक्षेप नगर्ने विश्वास लिएको पनि उल्लेख गरे ।
उनले भने, ‘म खुसी छु । नेतृत्व सर्व सहमतिमा भएको हुनाले आज नै सम्पन्न गर्न पाउँदा निकै खुसी छु । अदालतको कुरामा मैँले धेरै बोल्न सक्दिन । कानुनी कुरा हो । तर हामीलाई लाग्छ स्ववेकले कानुनसम्मत रुपमा प्रक्रिया पुर्याएर नै अधिवेशन गरेका छौ ।’
गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका थिए ।
२ दिने अधिवेशनमा संसारभरीबाट आएका सयौँ डेलिगेट्सहरु सहभागी भएका थिए । अधिवेशन सम्पन्न भएसँगै सहभागीहरू कर्मथलो फर्किन थालेका छन् ।
महाधिवेशनमा डेलिगेट्सहरुबीच व्यापक छलफल गरी निम्न घोषणा गरेको छ
१. यो महाधिवेशन गैर आवासीय नेपालीहरू (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नेपालको संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी जतिसक्दो चाँडो विद्यमान ऐनकानूनमा संशोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछ ।
२. यो महाधिवेशन विदेशमा बस्ने नेपालीहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने छिटोभन्दा छिटो व्यवस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।
३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानवस जेलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
४. यो महाधिवेशन ब्रिटिस सेनाबाट सेवा निवृत्त पूर्व गोर्खा सैनिकहरूको समान पेन्सन लगायतका मागहरूलाई पूरा गर्न कूटनैतिक पहल तीव्र पार्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
५. यो महाधिवेशन विगतका तीता मीठा अनुभवहरू बिर्सेर संस्थालाई एकजुट बनाउन एउटा समयबद्ध रोडम्याप तयार गरी अगाडी बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ ।
६. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, नेपाल सरकारका प्रतिनिधि लगायत राजनीतिक दल तथा नेतृत्व वर्गप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसै गरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, निर्वाचन समिति, पर्यवेक्षक, सञ्चारकर्मी तथा पत्रकारहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।