एनआरएनए एकता महाधिवेशन: अध्यक्षमा महेश श्रेष्ठ सहित टिम नै निर्विरोध
काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका छन्।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्च स्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनमा उपाध्यक्षमा अमेरिकाबाट सुनिल साह र बुद्धि सुवेदी निर्विरोध भएका छन्। उनीहरू दुवै जना एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष हुन्।
यसै गरी मलेसियाका खगेन्द्र न्यौपाने, दुबईका मनोज गोर्खाली, बेल्जियमका लोकराज दाहाल र बेलायतका विश्वास दीप तिक्ले पनि निर्विरोध भएका छन्।
उपाध्यक्षको ६ पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। रातभरिको रस्साकस्सी पछि एनआरएनए अमेरिका पूर्व अध्यक्ष डा. केशव पौडेलले र अस्ट्रेलियाका कृष्ण गिरीले उम्मेदवारी फिर्ता लिएका थिए।
‘सबै पदमा सर्वसम्मत भयो, उपाध्यक्षमा दुई जना बढी भयो, सहमतिको बाधक नबनौँ भन्ने भयो, मैले छोडे।’ समाज टाइम्स सँग डा. पौडेलले भने,’अरू साथीहरूले मान्नु भएन, यो जटिल अवस्थामा भएको महाधिवेशन हो, मैले त्याग गरे।’
महासचिवमा पनि अमेरिका निवासी बीआर लामा निर्विरोध भएका छन्।
लामाले शुरुमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। तर महासचिवमा बुद्धि सुवेदी र गंगा गौतम बीचमा सहमति हुन नसके पछि बुद्धि सुवेदी उपाध्यक्षमा र लामालाई महासचिवमा ल्याइएको जनाइएको छ। गौतमले सुवेदीलाई महासचिवमा कुनै पनि हालत नछाड्ने अडान राखे पछि साटफेर गरिएको जनाइएको छ। गौतमलाई प्रवक्ता दिने सहमति भएको छ।
सचिवमा चिन्तामणि सापकोटा, तिलक प्रसाद गैरे र टङ्क प्रसाद गैरे निर्विरोध भएका छन्। कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना निर्विरोध भएका छन्। सह कोषाध्यक्षमा कृष्ण पोखरेल निर्विरोध भएका छन्।
महाधिवेशनको शुक्रवार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन्।
यही महाधिवेशन रोक्न माग गर्दै एनआरएनएको डा. बद्री केसीको समूह अदालतमा गएको छ। सर्वोच्च अदालतमा परेको मुद्दामा यस अगाडि हेर्न नमिल्ने हुँदै आएको थियो। आइतबार भने हेर्न मिल्ने न्यायाधीशमा पेशी पार्नु पर्ने आदेश छ।