वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त
काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले शिक्षकहरूको मागबारे आफू जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए ।
उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु ।’
नवनियुक्त मन्त्री पन्तले आफू वार्ताबाट समाधान गर्ने बताए।
‘म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’
यस अगाडि नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका थिए।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् ।
विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएसँगै एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।