एनआरएनए सम्बन्धी तीन वटै मुद्दाका मिसिल झिकाउन सर्वोच्चको आदेश, चुनाव नरोकिने
काठमाडौँ । सर्वोच्च अदालतले बुधवार गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धका तीन वटै मुद्दाका मिसिल झिकाउने आदेश दिएको छ ।
सर्वोच्च अदालतको परमादेश पछि अदालतले नै गठन गरेको शेष घले नेतृत्वको उच्चस्तरीय समिति एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको बेला परराष्ट्र मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमा चुनाव सार्नका लागि पत्राचार गरेको थियो।
परराष्ट्र मन्त्रालयको पत्राचारका आधारमा महान्याधिवक्ताको कार्यालयमार्फत ६ महिना एकता महाधिवेशन पर सार्न माग गर्दै सर्वोच्चमा पेस भएको निवेदनविरुद्ध एनआरएनए सँग सम्बन्धित तीन वटै मुद्दाका मिसिल झिकाउने आदेश गरेको हो।
सर्वोच्चले राजेश शमशेर राणाले दायर गरेको मुद्दा र परराष्ट्र मन्त्रालयको पत्र विरुद्ध दायर भएको मुद्दामा फैसला गरिसकेको छ भने आरके शर्माले दायर गरेको मुद्दा विचाराधीन छ।
परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर मुद्दामा बुधबार न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश गरेको हो ।
परराष्ट्रले सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको सहमतिबिनै महान्यायाधिवक्ताको कार्यालयमार्फत पत्राचार गर्दै ६ महिना समय थपको सिफारिस सहित पत्राचार गरेको थियो ।
परराष्ट्रको पत्रअनुसार महान्याधिवक्ताको कार्यालयले अदालतमा निवेदन पेस गरेपछि राणाले मंगलबार सर्वोच्चमा तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन गर्न चौथो पत्र पठाइसकेको छ।
चुनाव रोक्न पर्दैन: अधिवक्ता घिमिरे
यसै बीच अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्चको पछिल्लो आदेशले एनआरएनएको चुनाव नरोकिने बताएका छन्।
सर्वोच्चको परमादेशमा गठित एनआरएनएका पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे महिनाको ३-५ तारिख चुनाव गराउँदै छ।
‘सर्वोच्चले तीन वटै मुद्दाको मिसिल झिकाउनु भन्नुको अर्थ चुनाव रोक्न पर्दैन भन्ने हो।’ अधिवक्ता घिमिरेले भने, ‘सर्वोच्चले चुनाव रोक भनेर नभन्दा सम्मा प्रक्रिया अगाडि बढ्छ।’
‘बुधबार नै एकता महाधिवेशन सार्ने या रोक्ने भन्नेबारे इजलासबाट कुनै आदेश भएको छैन । अब सुनुवाइको मिति पनि तोकिएको छैन, अर्को पेसी तोकेर यस सम्बन्धमा थप आदेश हुने छ ।’ घिमिरेले भने, ‘त्यो सबै प्रक्रिया हुँदा सम्म चुनाव सकिसक्छ।’