त्रिवेणीका विविध रङ्ग, त्रिवेणी साहित्य मञ्च !
गण्डकीपुत्र
प्रकाश नौबाग मेरा मित्र हुन । अमेरिकाको पेन्सिलभेनिया राज्यको योर्क शहरको अलि बाहिर रमाइलो गाउँले बस्तीमा हामी बस्छौ । अहिले अलि बढी भेट हुन्छ उनी सित । प्रकाश मूलतः कलाकार हुन । भर्खरै ओहायो राज्यबाट बसाई सरेर आफन्त खोज्दै यहाँ बस्न आएका । कलाकारितामा मात्र उनी सीमित हुन मन गर्दैनन् । कविता गजल जस्ता साहित्यका विविध विधामा कलम चलाउन पनि उस्तै सक्रिय छन् । उनै प्रकाशसँग अप्रिलको २० तारिख हामी लाग्यौ ५५० कोलोनी ड्राइभ, मिडिल टाउनलाई लक्ष्य बनाएर साँझको ३ बजे । बिचमा डेरिस्ट्रीटमा रहेको बराल सुनचाँदी पसलमा भेट्नु थियो सामाजिक क्षेत्रमा काम गर्न लागिपर्ने बौद्धिक व्यक्तित्व दिपक जङ्ग विश्वकर्मासँग । दिपक जङ्ग सङ्गको भेट पछि हाम्रो मूल गन्तव्य तिर हाम्रो गाडी मोडियो । मिडिल टाउन जहाँ बस्छन् त्रिवेणी साहित्य मञ्चका अध्यक्ष कवि केशब वैरागी माइलो ।
पार्किङ लटमा गाडी थन्क्याएर गाडीबाट निस्कँदा केशब वैरागी आफ्नो नियमित स्वभाव देखाउँदै मुसुक्क हाँसेर हामीलाई स्वागत गर्न ढोकामै आइपुगे । हामी लाग्यौ घरतिर । सन्दर्भ थियो त्रिवेणी साहित्य मञ्चको नियमित साहित्यिक मासिक गोष्ठी । यस पटकको चाँजोपाँजो मिलाएका थिए अध्यक्ष स्वयमले आफ्नो निवासमा । कोठामा पुग्दा अघि नै उपस्थित थिए ह्यारिसबर्ग क्षेत्रमा साहित्यमा सक्रिय कविहरू । औपचारिकताका सामान्य कुराहरू आदान प्रदान भए । कुशल क्षमका कुरा भए । र सबैको ध्यान केन्द्रित गर्यो ध्वनि यन्त्रले ।
मञ्चका सचिव कवि नारद सुदामा आचार्यले कार्यक्रमको पर्दा उघारे । भुटानी समाजको शैक्षिक क्षेत्रमा लामो समय योगदान गरेका व्यक्ति डी आर गौतमप्रति श्रद्धाञ्जली दिएर कार्यक्रम अघि बढ्यो । भुटानको दागापेला जिल्लाको सुरेमा जन्मिएका गौतमले भुटानमा रहँदा पनि शिक्षक भएर काम गरेका थिए भने शरणार्थीका रुपमा पथरी शिविरमा रहँदा भुटनिज रिफ्युजी एजुकेसन प्रोग्राम अन्तर्गत न्यु होराइजन एकेडेमी पथरीमा प्रधानाध्यापक भएर शैक्षिक क्षेत्रमा लामो योगदान गरेको थिए ।
पुनर्वासको क्रममा अमेरिकाको ओहायो राज्यको रिनसबर्गमा बस्दै आएका गौतमको मार्च ३० तारिख निधन भएको थियो । उनको व्यक्तित्वका बारेमा साहित्य मञ्चका उपाध्यक्ष श्रष्ठा प्रेम घिमिरेले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदनाको सन्देश दिएका थिए । कार्यक्रमको ढाँचा रमाइलो थियो । गोला प्रथा द्वारा कविता वाचनको शृङ्खला मिलाइएको थियो । यसको तारतम्य मञ्चका सचिव नारद सुदामाले मिलाएका थिए ।
गोला प्रथाको पहिलो नम्बरमा परेका थिए कवि खडनन्द भण्डारी । उनको कविताले विगत तिर फर्किएर आफ्नो गाउँ सम्झिरहेको थियो । उनले कविता वाचन गरिरहँदा शान्त वातावरणमा शब्दहरू सुन्दर भाव सहित निस्किरहेका हुनझैँ लाग्थ्यो । कवि देवीका बरालको कलम कविता र गजलमा बराबर चल्छ । यिनले समर्पित भएर लेख्न थालिन भने राम्रो साहित्य सिर्जना हुने कुरामा म चैँ विश्वास गर्छु ।
उनलाई थोरै मात्र सुन्न पाएको छु र जति पटक सुनेको छु उनीबाट काव्यात्मक सिर्जना सुनेको छु । आशा गरौँ उनीबाट साहित्य जगतले राम्रो कृति पाउने छ । त्यस पछि का सर्जक जो आफैमा पूर्ण छन् । कतिपय विषयमा उनलाई म गुरुझैँ मान्छु । उनी मेरा मनमा लागेका तिक्तताहरू पोख्ने सहृदयी मित्र पनि हुन । यी हुन काव्य क्षेत्रका विभिन्न विषयका ज्ञाता समग्रमा सशक्त साहित्यकार बिष्णु लुइँटेल । उनले गोष्ठीमा नवीनता दिने उद्देश्यले कथा सुनाए । कथा यथार्थमा आधारित एक र एक अर्धकाल्पनिक गरेर दुइटा कथा वाचन गरे । त्यसपछि म आफै मञ्चमा गएर कविता सुनाए कविता वाचनको क्रम चली रह्यो । त्यसपछि साहित्यिक कार्यक्रमलाई अघि बढाउन कविता लिएर आए ओम घिमिरे ।
ओम घिमिरेको साहित्य प्रतिको समर्पण लोभ लाग्दो र स्तुत्य छ । उनी हरेक कार्यक्रममा पुग्छन् । र आफ्नो सामर्थ्यले भ्याएको सहयोग निरन्तर गर्छन् । समाजमा साहित्यलाई जीवन्त राख्ने भनेकै ओम घिमिरे जस्ता साहित्य सेवकहरूले हो जस्तो लाग्छ । त्यसपछि गजल लिएर आइन मिरा अधिकारी । मिराले भावना भनेर प्रेम पत्रमा पोखिने प्रेमिलभावको रचना सुनाइन भने अर्को चरणमा गजल सुनाइन । सधैँ बुलन्द र निस्फिक्री गजल सुनाउने यिनको गजलले सबै स्रोताको मन आल्हादित गरायो ।
मिरालाई मञ्चबाट बिदा गर्दै आए प्रकाश नौबाग । यी हास्य अभिनयमा रमाउने सर्जक । यिनले पनि गजल वाचन गरे । यिनको गजल वाचन गर्ने शैली सुन्दर लाग्छ । कविताको र साहित्यको हरेक कार्यक्रममा उपस्थित हुने तीन जना साना सर्जकहरू त्यसपछिको क्रममा क्रमशः आए । दिव्या घिमिरे , दीपशिखा घिमिरे र आयुषा चापागाईँ । यिनको उपस्थितिले भविष्यमा यिनले साहित्यको अभियानलाई सशक्तरुपमा अघि बढाउने साहित्यका सारथि बन्ने सङ्केत गर्छ । भलै अहिले यी आफैँ लेख्न सकिरहेका छैनन् तर भविष्यका यी कवि हुने कुरामा विश्वास गर्ने आधार भने छ । मञ्चका उपाध्यक्ष विद्धान प्रेम घिमिरे त्यसपछिको क्रममा जोडिए । अङ्ग्रेजीमा कविता सुनाऊ कि भन्दै गरेका उनलाई नेपालीमै कविता सुनौँ भनेपछि भने नेपालीमै कविता सुनाएर उनको बौद्धिक क्षमताको राम्रो परिचय दिए । अलि क्लिस्ट तर बुझिने उनको कविता वाचनको शक्ति भने मलाई राम्रो लाग्छ । कविता वाचन पनि कला हो ।कविता वाचन कलात्मक भयो भने वाचन गरिएको कविता जीवन्त लाग्छ ।
त्रिवेणी मञ्चका अध्यक्ष केशब वैरागी विभिन्न विधामा कलम चलाउने श्रष्ठा हुन । उनले नलेखेको कुनै बिद्या छैन होला जस्तो लाग्छ । उनी पछिल्लो समय कवितामा समसामयिक लेखन प्रविधि अङ्गालेर कविता सिर्जनामा सक्रिय रहेको कुरा कार्यक्रममा उनले वाचन गरेको कविताले उदाहरण प्रस्तुत गरेको छ । बिम्ब , प्रतीक र कलाको उत्तम संयोजन रहेको उनको कविता सुन्दा अर्को कविता सिर्जना गर्न प्रेरणा र शक्ति थपिएको भान हुन्थ्यो स्रोतामा ।
उनको यो लेखनले निरन्तरता पायो भने श्यामल , श्रवण मुकारुङ , ज्योति जङ्गल जस्ता कविका बान्कीका कविता यतै सुन्न पाइने छ । कविता क्रमका अन्तिम कवि थिए यो कार्यक्रमका सूत्रधार कवि नारद सुदामा आचार्य । यिनले यो कार्यक्रममा नवीनताले भरिएको सुन्दर कविता सुनाए । समाजका विभिन्न आयामहरूमा जोडिएका यिनको आफ्नो कार्यक्रम सञ्चालनको शैली छ । सिर्जनाका विविध क्षेत्रमा क्रियाशील यिनको कलम यसरी नै गतिशील रहे बेश हुने थियो । कार्यक्रममा उपस्थित थिइन युवा वैज्ञानिक पूजा थापा । हाम्रो सामाजिक जीवनको विभिन्न पाटोको अध्ययन अनुसन्धान गर्ने योजना सहित उपस्थित यिनले संस्था सङ्ग सहकार्य गर्ने मनसाय राखेकी थिइन । काव्य गोष्ठीको बिट मारेकी थिइन । गायनमा अभ्यास गरिरहेकी गायिका रानी खरेलले । यिनको स्वर राम्रो भएपनी निखारता आउन बाँकी नै छ । अभ्यास गर्दै गइन भने गायनमा यी पनि एक आश लाग्दो आवाज कि धनी हुन ।
अप्रिल २० तारिकको यो साँझ त्रिवेणी साहित्य मञ्चको ब्यानर मुनि एक सार्थक अभियानमा बित्यो । त्रिवेणी साहित्य मञ्च त्यो छहारी बन्न सकोस् । सबै सर्जक र स्रष्टाले आत्मगौरब गर्ने संस्था बनोस् । यसको छत्रछायामा सधैँ रमाएर हाँस्न पाउ । यहिनै कामना छ ।
र यो पनि…