झोराहाट र बालापन – २
गण्डकीपुत्र
हाम्रो बाले गीत गाएको कहिल्यै सुनिएन । तर गीत सुन्नु हुन्थ्यो । जे बि टुहुरेले गाएको एउटा गीत क्यासेटबाट धेरै पटक सुनेको सम्झन्छु । बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ । रामायण , कोमल गीता , बुद्धि विनोद , जस्ता पुस्तकहरू लय हालेर पढ्नु हुन्थ्यो । वहाँको अनौठो बानी थियो । जति गर्मी भएपनी गम्लङ्ग सिरक ओढेर सुत्नु हुन्थ्यो । खेतमा काम गर्नु हुन्थ्यो । हाम्रो बा ६ महिनाको हुँदा हजुरबुबा कामको खोजीमा हिँड्नु भएको फर्किएर आउनु भएन अरे । हजुर आमाको रेखदेखमा हुर्कनु भएका हाम्रा बा इमान्दार किसान हुनुहुन्थ्यो ।
झोराहाट आउनु भन्दा पहिले पहाडमा कष्टको जीवन बिताउनु भएका यी दुवै आमा छोराले झोराहाट आयपछि भने जीवन सहज मात्र बनाउनु भएन निक्कै जग्गा जमिन पनि जोड्नु भयो । हाम्रा बाको आठ वर्षको उमेरमा विवाह भएको थियो अरे । बेहुलो हुँदा चोखो लुगा लगाउनु पर्ने तर लुगा नभएकोले लगौंटी लगाएर रेडियो खास्टो ( एक प्रकारको बर्को ) ओढेर बेहुलो भएर जानू भएको थियो अरे । उदेक लाग्थ्यो यो कथा हाम्री हजुरआमा ( जसलाई हामी आमै भन्थ्यौ ) ले सुनाउनु हुन्थ्यो । आमै दयालु र परोपकारी हुनुहुन्थ्यो । वहाँ लाई सबै समान थिए ।
आफ्ना देवरका छोराछोरीलाई पनि आफ्नै सन्तानझैँ माया गर्नु हुन्थ्यो । हाम्रो कान्छा हजुरबा कि माइली छोरी हाम्री फुपू असाध्य अनुशासनमा बस्ने धार्मिक स्वभावकी हुनुहुन्थ्यो । फुपाजुको चाडै मृत्यु भयो । एक्लै बस्नु हुन्थ्यो फुपू । माइली फुपू र हाम्री आमै घन्टौँ कुरा गर्नु हुन्थ्यो । सायद दुवै जना पति गुमाएका अबला भएर होला कि ? त्यस्तो बेला हातमा भने घरायसी काम भै रहन्थ्यो । फुपू हामीलाई मिश्री दिनु हुन्थ्यो । त्यस कारण पनि माइली फुपू हाम्री आफ्नी फुपू हुनुहुन्थ्यो । माइली फुपू मानसिक रोगको सिकार हुनु भयो । एक रात घरबाट निस्कनु भएको फेरि फर्कनु भएन । काकाहरूले संसार खोज्नु भयो तर भेटिनु भएन । पछि वहाँ को कुशको सब बनाएर दाह संस्कार गरी पिण्ड तर्पण गरियो । आमैले बालाई नानी भन्नू हुन्थ्यो । हाम्रा बा लगभग ७० वर्षको हुँदा हाम्री आमैको स्वर्ग बास भएको थियो । ९४ वर्ष यस धर्तीमा रहेकी आमै सबैकी प्यारी आमै थिइन ।
हाम्रा बालाई भन्दा बढी माया र सद्भाव थियो आमैको आफ्ना देवरको ठूलो छोराको । अनेकन कष्ट सहेर हाम्रो कुलमा पढेलेखेका विद्धान वहाँ नै हुनुहुन्थ्यो । नानी भन्नू हुन्थ्यो । बनारसमा अध्ययन सकेर नेपाल आएर हाम्रो घरमा वहाँले २०२७ साल तिर पुराण वाचक भएर ब्यासासनमा बसेर कथा भनेको अलिअलि सम्झना छ । आफ्नो भाइ पं. बद्रीप्रसाद खतिवडालाई हाम्रो बा पण्डित भनेर सम्बोधन गर्नु हुन्थ्यो । हाम्रा ३ हजुरबाका ४ भाइ छोराहरू थिए । यस्तो लाग्थ्यो यी एउटै बाबुका सन्तान हुन । अनौठो प्रेम र सद्भाव थियो । एकले अर्कालाई सम्मान गर्थे । एकापसमा बिस्तारो कुरा गर्थे । हाम्रो बा सामान्य साक्षर भएपनी आफ्ना तिनै भाइलाई सल्लाह दिइरहनु हुन्थ्यो । त्यो जान्ने हुँ भन्ने अहङ्कारले भन्दा प्रेमले हो जस्तो लाग्थ्यो । अरू ३ भाइ कम बोल्नु हुन्थ्यो । धनपति खतिवडा , श्रीकान्त खतिवडा , पं. बद्री प्रसाद खतिवडा र ईश्वरी खतिवडा यी चारै भाइ कि प्रिय थिइन आमै तुलसादेवी खतिवडा । काका पं . बद्री प्रसाद खतिवडाले झोराहाटमा पढाउनु भएको भनेर सुनेको हुँ तर सत्य के हो थाह छैन । कुमार वाग्लेले पढाएको थाह छ । निर्मल घिमिरे र सत्यनारायण चौधरी सरिताले पढाएको पनि थाह छ । लक्ष्मी सरदारले पनि पढाएको भनेर सुनेको हुँ । हेन माने मुर्गी , पट माने बर्तन यस्तै ।
हाम्रोमा पाटाको खेती खुब हुन्थ्यो । ७० मन (त्यस बेलाको वजन ) सम्म पाटा हाम्रोमा उत्पादन भएको थाह छ । घर पछाडि ठूलो होलिमा काटेको पाटाको बोट मुठा ( बिटा ) बनाएर हालिन्थ्यो । ठूलो पानी परेमा होलिमा बाढी आउँथ्यो र पाटाका मुठा जो कुहाउनु होलिमा गाडिएको हुन्थ्यो बगाउँथ्यो । त्यो नबगाओस् भनेर बाँसका किला गाडिएका हुन्थे । तर पनि कहिले काहीँ बगाएर एक किलो मिटर तल कसैको खेतमा पुर्याएको हुन्थ्यो । कहिलेकाहीँ नभेटिने गरी बेपत्ता बनाएर बगाउँथ्यो । पाटा धुन छिमेकी मुलुक भारतबाट हुलकाहुल मानिस आउँथे । हाम्रै घरमा बस्थे । पाटाका बोट मान्छे भन्दा अग्ला हुन्थे । राम्रो पाटा सप्रिएको खेतमा झार हुँदैन थियो । माटो हल्का , मलिलो र नरम हुन्थ्यो !
पाटा छिमल छिमल गरेर काटिन्थ्यो । एकापट्टिको पाटा काटिसकेपछि त्यो खेत धान रोप्न पानी लगाएर जोतिन्थ्यो । हिलो कुहाउन केही दिन छोडिन्थ्यो । त्यति बेलासम्म अर्को पाटो खेतको पाटा काटिन्थ्यो । झोराहाटबासीको प्रत्येक वर्षको बर्खा समय यसरी नै बित्थ्यो ।
पाटाको बोट सामान्यतया १५ दिन पानीमा कुहाएपछि पाटाको बाहिरी भाग जुन दुई मिटर लामो र हरियो रेसा हुन्थ्यो । त्यो डाँठबाट छुट्टिन्थ्यो । त्यो रेसा छुट्याउने कामलाई पाटा धुने भनिन्थ्यो । पाटा धुनेको भिड लाग्थ्यो । त्यो चाडै आम्दानी हुने बाटो थियो । धोएर निकालिएको पाटा पातलो गरी सुकाए एक दिनको घामले सुक्थ्यो । नभए दुई दिनमा बेच्न तयार हुन्थ्यो । स्थानीय बजार लागेको दिन पाटा किन्नेहरू पसल थापेर तराजु लिएर बसेका हुन्थे । झोराहाटका नामी बनिया ( धान पाटा किन्ने व्यक्ति ) माधे बनिया , जुग्ले बनिया आदि थिए । उनीहरू घोडा लिएर आउँथे । हाम्रो बा पाटा विराटनगर लगेर बेच्नु हुन्थ्यो । बयल गाडामा पाटा लोड गरेर विराटनगर लगेर बेच्ने चलन थियो ।
दशैंको किनमेलको समय चैँ कुनै गाडा चलाउने मान्छे खोजेर आमै जानू हुन्थ्यो । एक पटक आमै सङ्ग म पनि बजार विराटनगर गएको थिए । बयल गाडी चलाउन हाम्रै घरको सहयोगी पितिया नामको मान्छे गएको थियो । पाटा बेचेर बजारको किन मेल गरेर फर्कँदा रात पर्यो । झोराहाट स्कुल पछाडि नहरको डिल बाट गाडा ल्याउँदा रात परेको थियो । गाडा डिल मुनी पल्टियो । पल्टिएको गाडिबाट म जसोतसो निस्किए । आमै गाडी मुनि पर्नु भयो । निस्कन सक्नु भएन । हाम्रो सहयोगी ले नहरको डिलमा निस्किएर करायो गुहार मागेर । चारतिरबाट मानिसहरू टर्च लाइट बोकेर दौडँदै आए र आमैलाई निकाले । हाम्रो बा जस्तै कन्हैयालाल नामको मारवाडी सङ्ग हाम्रो बाको लेनदेन कारोबार चल्थ्यो । बा हुन्जेल हाम्रो बाट धान , पाटा , तोरी उसकैमा लागेर बेचिन्थ्यो । कसैलाई बर्खा खर्छ चाहिए बासङ्ग मानिस आउँथे । बा सानो कागतको टुक्रामा आएको मानिसलाई यति पैसा दिएर पठाउनु भनेर कन्हैयाको गोलामा पठाउनु हुन्थ्यो । कन्हैया बाको अक्षर हेरेर हो भन्ने लागे पैसा दिएर पटाउँथ्यो । कन्हैया हाम्रो परिवारमा सबैलाई चिन्थ्यो । एक पटक म पांच कक्षामा पड्दा बाले भनेको दस रुपया दिनु अरे भनेर लिएको छु । पछि हिसाब हेर्दा मैले लिएको पैसाको पोल खुल्यो । बाले मलाई केही भन्नू भएन । आमाले चैँ कन्हैयाको बाट पैसा लिएर के गरिस् भन्नू भाथ्यो । यस्तो विश्वास थियो , बा प्रति मारवाडीको ।
हाम्रो घर पछाडि होली थियो । होली जसलाई जुडी भनिन्थ्यो । हिउँदमा पानी हुँदैन थियो । बर्खा लागेपछि मानिस डुब्ने पानी हुन्थ्यो । हाम्रो खेतको बिचबाट जुडी बग्थ्यो । खेतमा असार अन्तिम तिर पाक्ने धान लगाइन्थ्यो । धान पाकेपछि काट्ने समय झाडीमा हेलिएर धानका बिटा बोक्नु पर्थ्यो । झमझम पानी परिरहेको छ । धान काट्यो । पानीले भिजाएका बिटा बोक्यो र पस्यो होलिमा । घरमा ल्याएर साँझ धान झार्यो र गाई गोरुलाई त्यही नरुवा ( धानको बोट ) खान दियो । त्यस बेला खुट्टामा औलाका काप मात्र होइन पैताला समेत हिलोले खाएर टनटन हुने गरी दुख्थ्यो । बेसार र तेल मिलाएर खुट्टामा दलेर सुत्यो भने बिहान अलि सहज हुन्थ्यो । यसरी हिलोले खाएका गोडालाई काँस ( सिरु ) को धुवाँमा सेकाउँदा अति नै दुख्थ्यो । तर ३/४ दिन हिलोमा मजाले हिँड्न सकिन्थ्यो । यो प्राय: घरको दिनचर्या हुन्थ्यो वर्षामा । धुवाँले गर्दा लुगा परै गनाउँथ्यो । तर पनि जीवन मजामा थियो ।
एउटा घटनाको चर्चा भएको थियो त्यो बेला म सानै थिए । खेतमा पाटा काट्ने समय शेखर भट्टराईलाई सर्पले गोडामा टोकेछ । खुट्टा झड्कारेर सर्प झार्न खोजेको सर्पले छोड्दै छोडेन छ र गोडामा झुण्डिरहेछ । वहाँले हातमा भएको हँसियाले छाला नै काटेर सर्प छोडाउनु भएको थियो अरे । वहाँको घर स्कुल नजिकै थियो । वहाँका भाइहरू अहिलेपनि त्यहीँ छन् । सर्पले टोकेर यदाकदा मानिसहरूको मृत्यु भएको सुनिन्थ्यो । सर्पको बिगबिगी अति नै थियो । लामा लामा भाला प्रत्येक घरमा हुन्थे । सर्प देखिए हल्ला गरेर मानिस जम्मा गरेर तिनलाई मारिन्थ्यो । अनेकन सत्य कथा र किंवदन्तीहरू लुकेका छन् झोराहाटभित्र । झोराहाटको अहिलेको भृकुटी चोकबाट उत्तर नहर पारि पट्टी आडमै राया मुखियाको चिया पसल थियो । बेरा बारा नभएको बाँसका खाँबा गाडेर परालले छाएको टहरो । एउटा कुच्चिएको कित्ली , सिल्बरको दूध तताउने भाँडो , एउटा दिउरे र चार या पाँच वटा काँचका ग्लास । एक दुई पाउरोटी का प्याकेट । यही रुँगेर राया मुखिया दिनभरि त्यही सुती रहेका हुन्थे । त्यहाँ को आएर चिया खान्थे थाह छैन । झोराहाट चोकमा भने सेतुमान तुलाधर ( उनलाई यही नामले चिन्थे ) को चिया पसल , नित्यानन्द लुइँटेलको किराना पसल र श्रीमान् गुप्ताको पसल थिए । चोकमा ठुला ठुला वर पिपलका रुख थिए । जुन कुनै साल आएको हुरीले ढाली दिएका थिए ।
आज त्यो गाउँ शहर भएको छ । बोर्डिङ स्कुलहरू छन् । गाउँमा उच्च मा बि छ । चार लेनको बाटोले विराटनगर र उत्तरको पूर्व पश्चिम राजमार्ग सङ्ग झोराहाट जोडिएको । एक बिहान लाग्ने विराटनगर पुग्ने बाटो अब १०/१५ मिनटमा पुगिन्छ । सञ्चारको सुविधा छ । आफ्नै सभा भवन छ । थुप्रै पढे लेखेका मानिसहरू छन् । विभिन्न पेशा र व्यवसाय चलेका छन् । कृषिमा मात्र निर्भर गाउँले अन्य काम गरेर आय आर्जन गर्छन् । विदेश जानेको सङ्ख्या बड्दैछ । उच्च अध्ययनको भोक जागेको छ । कुनै बेलाको कलाकारले भरिएको गाउँ अब डाक्टर , प्रोफेसर , लेखक , शिक्षकहरूको गाउँ भनेर चिनिँदै छ । क्रमशः :
झोराहाट २ मोरङ
हाल :- अमेरिका
र यो पनि…