शिक्षकहरूको आन्दोलनले काठमाडौँ सडक अस्तव्यस्त
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौँको सवारी आवगमन अस्तव्यस्त भएको छ ।
सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधवार देखी देशभरका शिक्षक काठमाडौँमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौँको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो ।
आन्दोलनका कारण माइतीघरदेखि बानेश्वरसम्म सवारी सञ्चालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जस कारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी कोरिडोरमा चाप बढेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलनमा शिक्षकहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् ।
उनीहरू देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौँ विद्यार्थी पढाइबाट बञ्चित भएका छन् भने काठमाडौँको सवारी आवगमन समेत प्रभावित बनेको छ ।
शिक्षकहरू प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरू खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।