एनआरएनए अमेरिका: कार्यकाल ६ महिना थप्ने तयारीमा डा. बन्जाडे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ परिवर्तनको नारा लगाएर चुनाव जितेका गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अध्यक्ष डा. अर्जुन बञ्जाडेले कार्यकाल थप गर्ने तयारी गरेको बताइएको छ।
विधानतः एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिको दुई वर्षे कार्यकाल जुलाईमा सकिँदै छ। यो समाचार तयार पार्दा (अप्रिल २ तारिख) सम्म एनआरएनए अमेरिकाले आगामी निर्वाचनका लागि कुनै पनि तयारी शुरु गरेको छैन। जबकि गत जुलाईमा मेरिल्यान्डको बाल्टिमोरमा सम्पन्न साधारण सभाले जनवरी देखि सदस्यता खुलाउने निर्णय गरेको थियो।
एनआरएनए अमेरिकाका वर्तमान कार्यसमितिका सदस्यका अनुसार अध्यक्ष बन्जाडे समयमै निर्वाचन गराउनु भन्दा पनि कसरी कार्यकाल लम्ब्याउने भन्नेमा लागेका छन्।
‘आइसीसीको बहाना बनाएर अध्यक्ष नै कम्तिमा पनि ६ महिना कार्यकाल थप गर्ने पक्षमा देखिएका छन्।’ बन्जाडे निकटका एक बोर्ड सदस्यले नाम उल्लेख नगर्ने शर्तमा समाज टाइम्सलाई भने।
त्यसो त अध्यक्ष बञ्जाडेले पनि त्यो सम्भावना औँल्याएका छन्। कार्यकाल ६ महिना थप्न लाग्नु भएको हो भन्ने समाज टाइम्सको लिखित प्रश्नमा डा. बञ्जाडेले ‘सम्भावना रहेको तर अहिले सम्म कुनै निर्णय नभएको बताए।’
कहिले सम्म निर्णय गर्नु हुन्छ भन्ने अर्को प्रश्नमा डा. बञ्जाडेले अर्को बैठक सम्म आफूले केही भन्न नसक्ने बताए। ‘अर्को बैठक कहिले बस्ने भन्ने अहिले सम्म टुङ्गो छैन।‘ बञ्जाडेले भने।
एनआरएनए अमेरिकाका सचिव दिपक सापकोटाले निर्धारित समयमा चुनाव हुने सम्भावना अब नदेखिने बताए।
‘चुनाव सर्छ तर कति समयका लागि सर्छ थाहा छैन। ‘सापकोटाले भने, ‘यो कमजोरी नै हो, टिम लिडर भएकाले यो अध्यक्ष कै मुख्य कमजोरी हो, टिमको पनि कमजोरी हो।’
सापकोटाले परिवर्तनको नारा अनुसार काम हुन नसकेकाले पनि यो स्थिति आएको बताए। ‘हामी साधारण सभा सम्म सबै ठिकै थियौ, आफ्नै पोटलबाट सदस्यताको काम शुरु गर्ने भन्ने थियो त्यो पनि हुन सकेन।’ सापकोटाले भने।
‘पोर्टलको जिम्मा उपाध्यक्ष भानु खरेल, महासचिव रामहरि अधिकारी र कोषाध्यक्ष सरोज सिग्देललाई दिएको हो उहाँहरूले समयमा नै जिम्मेवारी पुरा गर्न सक्नु भएन। आइसीसीमा पनि विवाद भयो जसले गर्दा सदस्यता खोल्न सकिएन।’ सचिव सापकोटाले भने।
महासचिव रामहरिले भने अझै पनि चुनाव गराउनका लागि समय रहेको दाबी गरे। ‘जुलाईको तेस्रो साता सम्म अधिवेशन गर्न पाइन्छ, अझै पनि समय छ, भ्याइन्छ।’ उनले भने।
विषेश अवस्थामा बाहेक एनआरएनएको विधानमा जुलाईमा साधारण सभा गर्नु पर्ने व्यवस्था छ। साधारण सभाको एक महिना अगाडि चुनाव गर्ने परम्परा छ। यस अगाडि कम्तिमा तीन महिना अगाडि सदस्यता खुल्ला गरिँदै आएको थियो।
महासचिव रामहरिले तीस दिनको समय दिएर सदस्यता खुलाएर पनि समयमा नै चुनाव गराउन सकिने बताए।
‘मे महिनाको अन्तिम सम्म हामीले सदस्यता खुलायौ भने पनि भ्याइन्छ।‘महासचिव अधिकारी भने।
त्यो निर्णय चैँ कहिले गर्नु हुन्छ भन्ने प्रश्नमा भने उनले जवाफ दिन सकेनन्। उनले कार्यकाल ६ महिना थप्ने अभियान नलागेको बताए। ‘केही साथीहरूको त्यस्तो धारणा आएको हो तर बहुमत साथीहरू सार्नु पर्छ भन्नेमा छैनन्।’
महासचिव अधिकारीले सदस्यताका लागि आफूहरूको सिस्टम तयार भइसकेको दाबी गरे।
एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले विधानले विषेश अवस्थामा ६ महिना कार्यकाल थप गर्ने सुविधा दिए पनि आफू व्यक्तिगत रुपमा भने त्यसको पक्षमा नरहेको बताए।
परिवर्तनको नाराका मुख्य शुत्रधार एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले आफू अझै पनि चुनाव समयमा नै गराउन सकिन्छ भन्ने पक्षमा रहेको बताए।
‘संस्थागत निर्णय भएको छैन, म सार्ने पक्षमा छैन ।’ वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने ‘पहिलाको जस्तो धेरै समय नभए पनि छोटो समयमा नै चुनाव गराउनु पर्छ भन्ने पक्षमा म छु।‘
साधारण सभाले जनवरी महिना देखि सदस्यता वितरण शुरु गर्ने निर्णय गरेको थियो। विधान अनुसार मे १५ सम्म सदस्यता टुङ्गाउनु पर्छ। यस अगाडि कम्तिमा ९० दिन सदस्यता वितरणको समय दिइँदै आएको थियो।
आइसीसीमा जे भए पनि अमेरिका आफ्नो विधान अनुसार अगाडि बढ्ने भन्दै गत वर्ष साधारण सभा गरेका बञ्जाडेले त्यस पछि भने नीच मारेर बसेको देखिन्छ।
बन्जाडे तिनै व्यक्ति हुन् जसले यस अगाडिको कार्यसमितिको कार्यशैलीको चर्को आलोचना गर्ने गर्दथे।
‘अरूले काम गरेनन् भनेर परिवर्तनको नारा लगाएर चुनाव जितेका बन्जाडे अहिले आफू भने समयमा नै चुनाव गर्न नसक्ने अवस्था पुगेका छन्। हामी उनलाई जिलाउन पर्छ भनेर लागेकाहरु पछुताउदै छौ।‘ एनआरएनए अमेरिकाका ती बोर्ड सदस्यले समाज टाइम्स सँग भने।