धरहरा चढेर हेर्दा ….
श्रृंखला सुवेदी
गएको महिना म र बाबा धरहरा चढेका थियौँ । यो काठमाण्डौंको मुटु मानिने सुन्धारामा रहेको छ । नेपालमा मानव निर्मित सबै भन्दा अग्लो संरचना नै धरहरा हो । धरहराको परिसरमा फराकिलो भूमिगत पार्किङ स्थल छ । सायद यो नेपालमै जमिनमुनि बनाएको सबै भन्दा फराकिलो पार्किङ स्थल पनि हो ।
शिलालेख अनुसार, २ सय वर्ष पहिला अर्थात् वि.स. १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाले बनाएका थिए । त्यति बेला ६१.८८ मि. अग्लो धरहरा ११ तल्ले थियो । अहिले त यसको अवशेष मात्र देखिन्छ ।
वि.स. १९१३ मा चट्याङ्गले र वि.सं. १९९० मा भूकम्पले भत्किएको थियो । त्यसै गरी, वि.स. २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको धरहरा म जन्मिए पछि नै यो नयाँ बनाइएको रहेछ । पहिले त यति फराकिलो थिएन रे । अहिले त २४ रोपनीमा फैलिएको छ । उचाइ पनि ८२ मिटर छ । धेरै सिँढी भएकाले चढ्न पनि थकाइ लाग्छ । अशक्तहरूका लागि लिफ्टको व्यवस्था भए पनि यो चलेको छैन ।
२०औँ तलामा बार्दली छ । जहाँबाट मानिसहरू काठमाण्डौं शहरलाई अवलोकन गर्छन् । सबै तिर घुमेर हेर्न मिल्छ । यहाँबाट हेर्दा सारै रमाइलो लाग्छ । सुरक्षाका लागि ठुला अग्ला सिसाको छेकबार लगाएको छ ।
म त पहाडमा हुर्किएकी हुँ । पहाडबाट तल हेरे जस्तो लाग्यो तर केही मानिसहरू ‘फेरि भूकम्प आयो भने..’ भनेर डराएका थिए । साँच्चै ! त्यो सम्झिदा त डर लाग्ने रहेछ ।
धरहरामा जान अनलाइनबाट पहिले नै मिति र समय तोकेर टिकट लिन पर्ने रहेछ । धरहरा परिसरमा भिडभाड कम गर्ने व्यवस्था गरिएको छ । त्यसैले होला, धरहरा परिसर सफा र शान्त देखिन्छ । विभिन्न कला कृतिले सजाएको हुँदा बस्न पनि रमाइलो छ धरहरा अनि यसको परिसर पनि ।
श्रृंखला सुवेदी
कक्षा ५, इलेन मेमोरिएल स्कुल
नागार्जुन नगरपालिका ५, काठमाण्डौं