हैटीको टीपीएस विस्तार गर्ने वाइडेन प्रशासनको निर्णय ट्रम्पले उल्टाए, नेपालको जुनमा सकिँदै
पेन्सिल्भेनिया,अमेरिका/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हैटीको अस्थायी संरक्षित स्थिति (टीपीएस) विस्तार गर्ने वाइडेन प्रशासनको निर्णय उल्टाएको छ।
सम्बन्धित देशमा असहज परिस्थिति हुँदा ती देशका नागरिकलाई अमेरिकामा अस्थायी रुपमा बस्न र काम गर्न दिने व्यवस्थालाई टीपीएस भनिन्छ।
अमेरिकी गृह सुरक्षा विभाग सार्वजनिक मामिला कार्यालय बिहीबार एक विज्ञप्ति जारी गर्दै हैटीको टीपीएसका लागि अघिल्लो प्रशासनको विस्तार रद्द गरेको जनाएको छ।
‘आज, सचिव नोएमले हैटीको अस्थायी संरक्षित स्थिति (टीपीएस) लाई १८ महिना बढाउने अघिल्लो प्रशासनको निर्णय खारेज गरे। यस कदमको एक भागको रूपमा, हैटीको टीपीएस अगस्ट ३, २०२५ मा समाप्त हुनेछ, जबसम्म विस्तार गरिएको छैन।‘ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो राष्ट्रपति ट्रम्पको अवैध आप्रवासनका लागि चुम्बक र कानुनसँग असङ्गत नीतिहरू खारेज गर्ने वाचाको अंश हो।‘
विभागले दशकौँदेखि टीपीएस प्रणालीको शोषण र दुरुपयोग भइरहेको जनाएको छ। २०१० देखि हैटीलाई टीपीएसको सुविधा पाउँदै आएको थियो।
२०११ को मे मा, विभागले ५७ हजार हाइटियनहरू टीपीएसको लागि दर्ता गर्न योग्य भनेको थियो । अगस्ट २०२१ मा एक लाख ५५ हजार हाइटियनहरू टीपीएसका लागि योग्य भएको भनिएको थियो। यो संख्या जुलाई २०२४ सम्म करिब पाँच लाख २० हजार ६ सय ९४ पुगेको बताइएको छ।
“बाइडेन र मेयोर्कासले हैटीको अस्थायी संरक्षित स्थितिलाई १८ महिनासम्म विस्तार गरेर ट्रम्प प्रशासनको हात बाँध्ने प्रयास गरे – जुन जायज वा आवश्यक भन्दा धेरै लामो थियो।‘ विभागको विज्ञप्तिमा भनिएको छ।
ट्रम्प प्रशासनले अघिल्लो महिना भेनेजुएला टीपीएस विस्तार रद्द गरेको थियो।
युए सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस (युएससीआइएस) तथ्याङ्क अनुसार अमेरिकामा सात हजार आठ सय ७५ जना नेपालीहरू टीपीएसमा रहेका छन्। नेपालको टीपीएस २०२५ जुन २४ सकिँदै छ। सामान्यतया टीपीएसको अवधि थप्ने नथप्ने भन्ने ६० दिन अगाडि घोषणा गर्ने गरिन्छ। नेपालको बारेमा अप्रिल २३ सम्म के गर्ने भन्ने टुङ्गो लगाउनु पर्छ।
नेपालले विक्रम सम्वत २०७२ सालको भूकम्प पछि टीपीएस पाएको हो। कतिपय एफ १ भिषामा रहेका विद्यार्थीहरू पनि टीपीएसमा रहेका थिए।