वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने
काठमाडौँ । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ ।
त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन खेलाडी छनोट गरिने जानकारी दिएको हो ।
फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागी गराउने तयारी गरिरहेको बताए ।
वर्ल्ड एथलेटिक्स, वर्ल्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए), आईएयु र स्पेनिस ट्रेल संघले संयुक्त रुपमा उक्त च्याम्पियनसिप आयोजना गर्नेछ ।
फेडेरेसनका अन्तर्राष्ट्रिय मामिला संयोजक प्रीति खत्रीले इच्छुक खेलाडीहरूले सुरुमा आफ्नो नाम दर्ता गर्न सक्ने र त्यसपछि खेलाडीहरूको छनोट प्रक्रिया अघि बढाइने बताइन् । एक महिनापछि अप्रिलमा खेलाडीहरू छनोट गरिने उनले जानकारी दिइन् ।
खेलाडी छनोटपछि उनीहरूलाई आफ्नो स्पोनसर आफैँ खोज्नका लागि फेडेरेसनले सम्झौता गर्ने पनि उनले बताइन् । तर त्यति बेलासम्म खेलाडीहरूको लागि फेडेरेसनले प्रायोजकहरू खोज्न प्रयास गर्ने कुँवरले बताए । उनले यो फेडेरेसन नयाँ संघ भएकोले बिस्तारै सहयोगीहरू खोज्दै जाने बताए ।
नेपालका शीर्ष वरीयताका पुरुष खेलाडी सुमन कुलुङलाई अस्ट्रियास्थित डा. सिग्रिड फाउन्डेसनले प्रायोजन गर्नेछ । सुमनले यसअघि नै आफ्नो प्रायोजक पाइसेकोले उनको सहभागिता लगभग पक्का भइसकेको छ । यस्तै नेपालबाहिर ट्रेल रनिङहरुमा प्रतिस्पर्धा गरिरहेकी सुनमाया बुढालाई पनि कैलाश फुगाले स्पोनसर गरेको छ । मार्च अन्तिममा इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए) स्कोर हेरेर शीर्ष वरीयताका खेलाडीहरूलाई सहभागी गराउने फेडेरेसनको तयारी छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले जेठमा नेपालकै हालसम्मको ठूलो खप्तड रामा रोशन अल्ट्रा ट्रेल रेस तथा चैत १७ गते लाङटाङ–शिवपुरी अल्ट्रा ट्रेल रेस गर्ने तयारीमा महासंघ जुटेको जानकारी गराए ।