झोराहाट र बालापन

गण्डकीपुत्र
जीवनका कति हो कति सुन्दर पक्षहरू हुँदा रहेछन् । अनि हामी ती कुराहरूको अनदेखा गरेर के चैँ खराब छ त्यसको खोजीनिती मा समय खर्चिदा रहेछौँ । झोराहाटको नाटकको प्रसङ्ग र त्यस बेलाको सामाजिक परिवेश सम्झँदा अहिले अचम्म लाग्ने यादहरू आउँछन् मनमा । झोराहाट सम्झँदा म बालाई सम्झन्छु । आज हाम्रा बा र केही सामाजिक र नाटकको प्रसङ्ग कोट्याउने जमर्को गर्दै छु ।
यस प्रकारका लेख र संस्मरण लेख्न सक्ने ल्यागत र तागत भएका युवा वा पचास कटेका समकालीन मानिसहरू झोराहाटले उत्पादन गरेपनि कोही आफ्नो विगत , आफ्नो पुर्खा वा आफ्ना अग्रजका बारेमा लेख्न किन सोचिरहेको छैन । भनिन्छ जसले आफ्नो विगत बिर्सन्छ उसले आफ्नो वर्तमान बिर्सिरहेको हुन्छ । यसो भनेर म कसैलाई होच्याउन वा अपमान गर्न खोजिरहेको छैन ।
म सम्झन्छु , कुन प्रेरणाले झोराहाटमा २०१९ सालबाट नाटकको सुरुवात भयो र पछिल्लो पुस्ता सम्मले कसरी त्यो परम्परालाई बचाइ राख्न सक्यो । अचम्म लाग्छ त्यो आँट र हिम्मत सम्झँदा । अँध्यारो गाउँ , धुलो र हिलोले छोपेको बाटो । झोराहाट त्यस बेला सबै खेती किसानी गरेर जीवन निर्वाह गर्ने गर्थे ।
शिक्षाको हिसाबले सामान्य साक्षर मात्र भएको गाउँ । झोराहाटबाट विराटनगर जान ६/७ किलो मिटर भएपनी दिनभरि लाग्ने बाटो । बाटामा ठुला ठुला पानीका खाल्डा पार गरेर जानु पर्ने । बिचमा गहिरो सिङ्गिया खोलो । खोला तरेर पारी जान ठाडो उकालो । बयल गाडीमा १०/१२ क्विन्टल सामान । त्यो उकालो पार गर्दा गोरुले युद्ध नै जितेझैँ लाग्ने खुसी ।
उत्पादन गरेको धान , पाटा , तोरी बेचेर घरायसी सामग्री र चाडबाडको जोहो गर्नु पर्ने । बयल गाडाको चक्का ( पाङ्ग्रा )डुबाउँदै मुस्किलले होली ( खाल्डा ) पार गरेर विराटनगर बिक्री गर्न सामान पुर्याउनु पर्ने । फर्कन ढिला भए लुटेराको बिगबिगी । त्यस बेला वल्लो पल्लो गाउँमा डाकाको चकचकी उस्तै थियो । यस्तो परिवेशमा दिनभरि खेतीपाती र घरायसी काम गरेर थाकेको हुन्थे मानिस । त्यही थाकेको शरीर लिएर बेलुकाको खाना खाएर गाउँका मानिस नजिकै भएको स्कुलको कोठामा लालटिनको उज्यालोमा जम्मा हुन्थे । जहाँ नाटकको अभ्यास हुन्थ्यो । कथंम कदाचित कोही आउन ढिलो भए सजाय भोग्नु पर्थ्यो । अभ्यास १५/२० दिन चल्थ्यो र उनीहरूको नाटक गर्ने दिन आउँथ्यो । अभ्यासमा आउन राती त्यति सहज थिएन । बाटोको विकटता , निष्पट्ट अध्योरोमा हातमा लौरो लिएर बजार्दै हिँड्नु पर्ने , सर्पको डर त्यस्तै । यसरी नाटकको अभ्यास चल्थ्यो ।
नाटक गर्ने दिन , गाउँ मा कस्का घरमा दह्रा नभाँचिने नहल्लिने खाट छन् । उसैकोमा गयो खाट बोकेर ल्यायो । ८/१० वटा खाट जम्मा भएपछि त्यसलाई मिलाएर राख्यो । चारैतिर बाँस गाड्यो । हरेक गरेर पर्दा झुन्ड्यायो । कतैबाट भाडा तिरेर ल्याएको माइकको स्पिकर बाँसमा बाँधेर अग्लो पारेर गढ्यो । मञ्च अगाडि बाजा बजाउनेहरूका लागि घेरा बेरा गर्यो ! यो पनि बाँस तेर्साएरै गरिन्थ्यो । यति गरेपछि मञ्च तयार हुन्थ्यो । अब मेन्टोलको जोहो गर्नु पर्थ्यो । मेन्टोल गाउँमा नभए छिमेकी गाउँमा गएर मागेर ल्याएर काम चलाउनु पर्थ्यो ।
दिनभरि त्यस बेलाका युवाहरू मञ्च बनाउन लाग्थे । दिउँसो कामको चटारोले नाटकको संवाद जति अभ्यासको समयमा याद गर्यो त्यति नै हुन्थ्यो । नाटकमा आफ्नो संवाद कसैले याद गर्न सक्तैन थियो । पछाडिको पर्दा पछाडि बत्ती ( टुकी ) बालेर उसको संवाद अर्कोले भनिदिएपछि अभिनय गर्न उत्रिएको कलाकार आफ्नो संवाद भन्थ्यो । मलाई सम्झना छ । एक पटक मलाई पर्दा उघार्ने र दृश्य सिद्धिएपछि बन्द गर्ने जिम्मा दिएका थिए ।
म त्यो काम गर्न पाएकोमा गर्व गर्दै थिए । मलाई अहिले कलम चलाउने बनाउनमा अग्रजले गरेका नाटक र सेवा भावको प्रभाव छ भन्दा गर्व अनुभूत हुन्छ । नाटकमा दुख दिन्थ्यो माइकले । एक छिन अधि सम्म राम्रो बजेको माइक नाटक सुरु भएपछि च्याँ र चुँ गर्थ्यो । मुस्किलले नाटक सकिन्थ्यो । मेन्टोलले पनि दुख दिन्थ्यो झ्याप्प निभेर । युगल नृत्य गर्दा महिलाले गाउने गीत पनि पुरुषले नै गाउँथे । महिला भएर नाच्ने पनि पुरुष नै हुन्थे ! यति भएपनी दर्शक खुसी हुन्थे ।
मजाले रमाएर हाँस्थे , भावुक दृश्य आउँदा रुन्थे । नाटक हुने भनेपछि गाउँ नै उत्साहित हुन्थ्यो । घरघरमा खाना बेलैमा पाक्थ्यो । विशेष गरी खाना खाएर पुरुषहरू बाटो लाग्थे । महिला दिदी बैनी , आमा खालचै छिमेकी आफ्ना दौतरीहरु मिलेर लालटिन बालेर नाटक हेर्न जान्थे । कसैले गुन्द्री कसैले पिरा बोकेका हुन्थे । मानिस त्यस्तै २००/२५० जति भएपनी नाटक सकेर घर फर्कने बेलामा हराइन्छ कि भनेर डराइरहेका हुन्थे । नाटक सकिए पनि नाटकको चर्चा धेरै दिन सम्म रहन्थ्यो । गाउँमा मनोरञ्जनका साधन हुँदैन थिए । सम्भवतः रेडियो एक दुई घरमा थिए होलान् । गाउँमा हरेक घटना अनौठो लाग्थ्यो । नाटक सकिएपछि राती अबेरसम्म मञ्च भत्काउने र खाट पुर्याउने काम हुन्थ्यो यसरी दशैं या नयाँ वर्षको अवसरमा गाउँमा रमाइलो गरिन्थ्यो ।
दुर्गा सांस्कृतिक समिति झोराहाटमा खोलिएको पहिलो संस्था थियो । पछि हिमालय सांस्कृतिक समिति बन्यो । एकै गाउँमा दुई वटा संस्था चल्दैन भनेपछि हिम दुर्गा सांस्कृतिक समिति बनाइयो । दुई वटा संस्था मिलाएर । जसले नाटक गर्थ्यो । हालको झोराहाट बजार भन्दा दक्षिण तिर एउटा मन्दिर भएको सम्झना आउँछ । कृष्ण अष्टमीमा झुलन हुन्थ्यो । त्यो गाउँलेहरूको ठूलो भेला हुने पर्व थियो । अहिलेको मन्दिर पछि बनाइएको हो । कृष्ण जन्माष्टमीमा एक पटक नाटक भएको सम्झना अलिअलि याद छ ।
जनहित पुस्तकालय थियो गाउँमा तर मैले थाह पाउँदा त्यो जीर्ण अवस्थामा थियो । त्यो कहिले र कसको अग्रसरतामा खुलेको थियो थाह छैन । गाउँ पुरानो परम्परामा चलेको थियो । हरेकले हरेकलाई उसको योग्यता अनुसार बोलाउँथ्यो । हाम्राबाट गाउँका अर्का एक त्यस बेलाका प्रतिष्ठित व्यक्ति केवल राम लुइँटेल सङ्ग नाटक हेर्दैहुनुहुदो रहेछ । केवल राम लुइँटेलका माइला छोरा हरिप्रसाद लुइँटेल र हाम्रो माइलो दाइ केदार खतिवडा कुनै उटपट्याङ गीतमा नाच्न मञ्चमा आएछन् ।
हाम्रा बाले केवलरामलाई सम्बोधन गरेर भन्नू भएछ ! फुपा हेर्नुस् रिङ्नेले वेद पढेका । यो कुरा रामप्रसाद न्यौपाने जो कलाकार नै हुन उनले सुनाउँथे । रिङ्ने बाको गाली गर्ने थेगो थियो । रिङ्ने त हामीलाई पनि भन्नू हुन्थ्यो तर पिट्न चैँ कहिले पिट्नु भएन । बस्तु भाउ कुटेको देख्नु भो भने त्यो बस्तुभाउ कुट्नेको सातो खानु हुन्थ्यो । कुमार वाग्लेका बुवा नारायण वाग्लेलाई बाउन दाइ भन्नुहुन्थ्यो भने कृष्ण खतिवडाका बुवालाई माइलाउ ( माइला बा ) भन्नू हुन्थ्यो । यस्तो थियो समाजको बनावट र सम्बोधन । राती चोरको बिगबिगी हुन्थ्यो । गाउँले पालो गरेर पहरा बस्थे । त्यस बेला थेगो थियो जागते रहो । कसैको घरमा आगलागी हुँदा गाउँले आगो निभाउन ज्यान फालेर लाग्थे । एउटा कुरामा गाउँवासी ढुक्क थिए । वल्लो पल्लो गाउँमा डाँका लागेपनी झोराहाटमा डाँका पस्न आँट गर्दैन थिए । वरपर थारु जातीको बस्तीमा डाँका आएको थाहा पाए गाउँलेहरू झोराहाटबाट टर्च लाइट र खुकुरी बोकेर निस्कन्थे । झोराहाटका मानिस आएको थाह पाए डाकाहरु भाग्थे ।
गाउँमा श्रमदानको महत्त्व थियो । बाटो खन्नु परे कुलो साफ गर्नु परे वा विद्यालयमा सहयोग चाहिए गाउँलेहरू श्रमदान गर्थे । हाम्रो बा समाजसेवी नभए पनि व्यक्तिको गाह्रो साह्रोमा सहयोगी हुनुहुन्थ्यो । बाको तमाखु खाने ठुलो हुक्का थियो । हाम्रो घरको मझेरी ठूलो थियो । बिचमा मुढा तेर्स्याएर आगो बाल्ने अगेनु थियो ।
त्यस बेला गाउँका धेरै पाका मानिसहरू हाम्रो घरमा बेलुका देखि राती सम्म भेला भएर गफ गर्थे । के गफ हुन्थ्यो थाह छैन । अलि वर्ष पछि त्यो क्रम टुट्यो । बाको हातमा हुक्काको नली र टाउकामा सधैँ फेटा हुन्थ्यो । भन्नू पर्दा हाम्रा बा कविलाका सरदार जस्तो देखिनु हुन्थ्यो । जिउडाल ठूलो साह्रै मेहनती । आफ्नो खेतका बिचमा भएका उबड खावड जमिन आफैले कोदालो चलाएर सम्म मिलाउनु हुन्थ्यो । हामी सङ्ग त्यस बेला खेत प्रशस्त थियो । वर्षामा रोपाइँका बेला सबै आलि आफै ताछ्ने र लाउने गर्नु हुन्थ्यो । खै बाहुनले हलो जोत्नु हुन्न भन्ने कुरा हाम्रा बालाई कसले भन्दियो ।
जीवनभरि हलोको अनौ समाउनु भएन । यो कर्म हाम्रा बाका काकाका छोराहरू श्रीकान्त खतिवडा, पं. बद्रीप्रसाद खतिवडा र ईश्वरी प्रसाद खतिवडा तिन जनाले गर्नु भएन । हाम्रा बाको आवाज बुलन्द थियो । एक पटक हाम्रैमा काम गर्न बसेका सहयोगी राती खलामा थुपारेको धान चोर्न आएछन । ठुल्दाइले सुइँको पाएर हल्ला गर्नु भएको चोर आफूले धान बोक्न ल्याएको कपडा छोडेर भागेछन । भोलि पल्ट कपडा हेर्दा त आफ्नैमा काम गर्ने सहयोगी । चोरलाई मुड्के सास्ती । गाउँले भेला भएर चुट्न थाले । बाले हेर्न नसकेर छोडी देओ यिनलाई अब यसो गर्दैनन् भन्नू भो र ती अरू कुटिनबाट बचे । त्यस मध्येको एक हाम्रो घरमा उसको मृत्यु हुँदा सम्म बस्यो । कहिलेकाहीँ रक्सी खाएर आउँदा म सङ्ग फुटानी नदेखा भनेर हामी लाई गाली गर्थ्यो । मानौँ उ हाम्रो अघोषित अभिभावक हो । हामी हाँसेर टारी दिन्थ्यौ । प्रतिवाद गर्यो भने तेरो बाउले त केही भन्दैन थिए तँ बोल्छस् भनेर थर्काउँथ्यो । उ करिब ५०/५५ वर्ष हाम्रै वरिपरि बसेर दुई वर्ष अगाडि बित्यो ।
बा श्रममा खुब विश्वास गर्नु हुन्थ्यो । गाई भैँसी पाल्नमा सोखिन हुनुहुन्थ्यो । १५/२० माउ भैँसी र त्यति नै गाई थिए । बस्तु भाउ हिउँदमा झोराहाट र वर्षा सुरु भएपछि उर्लाबारी राख्ने चलन थियो । उर्लाबारी गाई बस्तु राखेको समय बर्खे विद्यालय बिदामा म पनि दुई महिना गोठालो गएको सम्झना छ । चैत वैशाखमा कहिलेकाहीँ बेजोड आधिहुरी चल्थ्यो । आँधी हुरीले घरका छाना उडाउँथ्यो ।
कति पटक विद्यालयको छानो उडाएर कहाँकहाँ सम्म पुर्याउथ्यो । तेत्तीस सालको वैशाखमा त्यस्तै आधी आएको दिन हाम्रो घरमा चोरी भयो । टाँडे घर सबै माथ्लो तलामा सुत्ने चलन थियो । आधीले टायलको छानो उडाउने डरले आँधी आएको बेला तल झरिन्थ्यो । खै त्यो दिन किन हो कसैले तल ओर्लने कुरा गरेन । त्यही आँधीको बेला चोर पछाडिको पसाङ्गिएको ढोकामा के छिराएर आग्लो खोले छ र पसे छ घरमा ।
बिहान उठ्दा पछाडिको ढोका खुलै देखेर आमा कराउनु भयो । चोर पसेछ कि क्या हो भन्दै बा भाडा बर्तन हेर्न थाल्नु भएको तामा र पित्तलका एउटा पनि सामान थिएनन् । ठुला गाग्री , खड्कुँला देखि लोटा , गिलास , कचौरा , थाल सब चोरले बोके छ । त्यसपछि खाना खाइसकेपछि भाँडाकुँडा माथ्लो तलामा उकाल्न थालेको टाँडे घर नभत्कँदा सम्म त्यही चलन थियो । झोराहाटमा यस्ता चोरी र गाई बस्तु चोरी भई रहन्थे । एक पटक खेत मल्न खेतमा बाँधेका हाम्रा दुई हल गोरु चोरी भए । भारतमा गएर पैसा बुझाएर सात दिन पछि गोरु फर्काएर ल्याइएको थियो ।
गाउँमा कस्का राँगा गोरु बलिया र महसुर छन् चर्चा हुन्थ्यो । नामी र चर्चा हुने गाडा तान्ने राँगा लोकनाथ न्यौपाने र देवी प्रसाद ढुङ्गानाका थिए । गोरु भने दुखा राम चौधरीका थिए । राँगा र गोरुको चर्चा यस कारण पनि गरिन्थ्यो कि फाल्गुण लागेपछि बन कार्यालयले दाउराको लागि पुर्जी खोल्थ्यो । केही रकम तिरेर बन कार्यालयले जङ्गलबाट दाउरा ल्याउन अनुमति दिन्थ्यो । दाउरा लिन कानेपोखरी , पथरी , केराबारी र बेलबारीका जङ्गल जानू पर्थ्यो । एक गाडी दाउरा ल्याउन तीन दिन र कहिलेकाहीँ चार दिन लाग्थ्यो । त्यस बेला बलिया राँगा गोरु हुनेले गाडी भरी दाउरा कसेर ल्याउँथे । अनि कमजोरले त्यसै अनुसारको भारी लाउँथ्यो । १०/१२ वटा गाडी मिलाएर एउटा समूह बनाइन्थ्यो । समूहमै खाना बन्थ्यो । मिलेर खाइन्थ्यो । रमाइलो हुन्थ्यो वनभोज गए जस्तो । कतै नदी पार गर्दा वा उकालो बाटो पर्दा कसैका गोरुले गाडा तान्न नसके बलिया गोरु जसका छन् उसलाई त्यो उकालो काट्न वा नदी पार गर्न लगाइन्थ्यो । मानिसले ठेलेर पार गर्ने ठाउँमा सबै बहलवान ( गोरु वा राँगा गाडा चलाउने मानिस ) ले मद्दत गर्थे । त्यो समय विभिन्न गाउँबाट सयौँ गाडा जङ्गल पस्थे । यसरी चार पाँच गाडा दाउरा जम्मा गरेर बर्षभरिकोलागि जोहो गरिन्थ्यो । गाडा नहुनेहरू खेतमा वा गाई चरनमा गएर गाइको गोवर जम्मा गरेर गुइँठा बनाएर दाउराको जोहो गर्थे । अहिले पनि सुकुम्वासी र अत्यन्त न्यून आए भएका मानिसहरू गुइँठा बालेर खाना बनाउँछन् ।
मङ्सिर केटाकेटीका लागि पैसा जोहो गर्ने महिना हुन्थ्यो । धान काटेर बिटा लगाएका खेतमा धानका बाला खसेका हुन्थे । केटाकेटीहरू झोला बोकेर खेतमा जान्थे र धानका ती खसेका बाला जम्मा गर्थे । त्यसरी जम्मा गरिएका बाला माडेर कसै कसैले १०/१५ किलो सम्म धान बनाउँथे । धान किन्ने मानिस ( बनिया ) गाउँ गाउँमा आउँथे । दस पैसा किलो देखि पचास पैसा किलो सम्म धानको भाउ हुन्थ्यो । त्यो बेचेर कोही कापी कलम किन्थे । त्यो गर्वको विषय थियो । बाबुआमा पनि खुसी हुन्थे । कलम कापी किनिदिनु परेन भनेर होइन । छोराछोरी रमाएको देखेर । म पनि लहै लहैमा मुसाको दुलो खनेर मुसाले लगेको धान निकाल्न कोदालो चलाउँथे । त्यसो गर्दा बा आमा पनि केही भन्नू हुन्न थियो । अहिले सम्झन्छु मेरो खुसीको लागि वहाँहरू केही भन्नू हुन्न थियो । क्रमशः :
झोराहाट २ मोरङ
हाल :- अमेरिका
र यो पनि…