गीत सङ्गीतको सम्मानमा मनदेखि मनसम्म

गण्डकीपुत्र
मम्स ममको मझेरीमा मानिसको चहलपहल थपिँदै छ । उता सूर्य आफ्नो दिनभरिको यात्रा पुरा गरेर विश्रामको तयारी मा पश्चिमी क्षितिजबाट ओरालो झर्दै छ । विविध बिचारहरू र गुनगुनले मझेरीमा मादकता , काव्यात्मक आत्मीयता र हार्दिकता विनम्र भएर टेबलहरूमा विश्वास साटिरहेका छन् । लाग्छ ह्यारिसबर्गको सुन्दरता अब विविध रङ्गमा घोलिएर चित्रमा अनुवाद हुदैछ ।
विश्वासको रङ्ग , प्रेमको रङ्ग , सामाजिक दाइत्वको को रङ्ग र एकताको रङ्ग । यिनै रङ्गहरूले रङ्गिएर बन्ने हो एउटा चित्र मनदेखि मनसम्म । अहिले क्यानभासमा परिणत भएको छ मझेरीमा परालको गुन्द्रीमाथि राडी ओछ्याएको पिँडी । यही पिँडीमा बसेर पोखिने छन् सिर्जनाका अनेकन रङ्गहरू ।
आज एकाकार हुने प्रयत्न र प्रयासमा छन् मातृभाषा संरक्षण मञ्च , भाषा परिषद् भुटान , विश्व भुटानी साहित्यिक संगठन र त्रिवेणी साहित्य मञ्च । आ-आफ्नो छातामुनि बसेर यी संस्थाहरूले भाषाको क्षेत्रमा साहित्यको क्षेत्रमा अनवरत काम गरिरहेका छन् । यिनैको छहारीमा बसेर श्रष्ठा र सर्जकहरू आफ्ना भावनाहरू कविताको रुपमा , गजलको रुपमा , मनो संवादको रुपमा प्रकट गरिरहेका छन् । हुन त रोदीको मादल पनि बज्छ ह्यारिसबर्गमा , चण्डीको च्याब्रुङ , ल्होसारको गीत र धान नाचको पालम पनि गुन्जन्छन् । वेदका ऋचा देखि पुराणका कथा पनि हालिन्छ । यी सबै कर्मले भाषा र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न भूमिका निभाई रहेका छन् र नेपाली जाती हुनुको गौरव, नेपाली भाषी हुनुको गौरव उचाली रहेका छन् ।
मझेरीको पिँडीमा उक्लिएर कार्यक्रमको दैलो खोल्छन् गण्डकी पुत्रले । पातलो अन्तरेले कार्यक्रममा प्रस्तुत हुने कविहरूको नाम वाचन गरेर सुनाउँछन् । भरत तिम्सिना ध्वनि नियन्त्रण गर्दैछन । शेखर कोइराला क्यामेराको लेन्स मिलाउँदै छन् । अब कार्यक्रम काव्यमय बन्दै जान्छ । गोविन्द अधिकारी पहिलो श्रष्ठाले गीत र गजलको सम्मिश्रण सहितको सिर्जना सुनाउँछन् स्वर किन्नरी तारादेवीले गाएको एक टुक्राबाट ,
घाम ताप्न पर्खी बस्छु पानी त्यसै दर्की दिन्छ
अँध्यारोमै बसौँ भन्छु उज्यालो पो चर्की दिन्छ
घाम लाग्नु पनि जीवन , पानी पर्नु पनि जीवन
जस्तो भोग्यो त्यस्तै हुन्छ देखेजस्तो हुन्न जीवन
प्रेम र समर्पणको भावले भरिएको उनको गजल शृङ्गारिक शैलीमा पोखिएको थियो । उनी गायन क्षेत्रमा सक्रिय हुन संधर्ष गरिरहेका उदीयमान कलाकार पनि हुन । त्यसपछिको पालो थियो डा . नारद पोख्रेलको । यिनी कविताका साथै समीक्षकका रुपमा पनि उत्तिकै बलशाली सर्जक लाग्छ मलाई । कुनै पनि कृतीको गहन समीक्षा गर्न सक्ने पोख्रेल , अङ्ग्रेजी भाषामा पनि बरोबर कविता कोरी रहन्छन् । यिनले पनि शृङ्गारिक कविता सुनाएका थिए ।
क्रमशः पिँडीमा उक्लिए खगेन्द्र रिजाल । असल मानिस भएर समाजमा टिकिरहन धेरै धैर्यता चाहिन्छ भन्ने भावको उनको व्यङ्ग्यात्मक कविताले अन्त्यमा भन्छ , मानिस रावण तुरुन्तै बन्न सक्छ तर राम बन्न गाह्रो छ ।

सिर्जना वाचनको क्रम अगाडि बढी रह्यो । अबको पालो थियो कवि केशव वैरागी माइलोको । त्रिवेणी साहित्य मञ्चका अध्यक्ष वैरागीको कलम धेरै विधामा सक्रिय छ । कथा , कविता , गजल , हाइकु , बाछिटा जस्ता विधामा यिनको राम्रो पकड छ । यिनले आजको कवितामा समसामयिक विसङ्गतिलाई काव्यको रूप दिएका थिए । यिनले लेखिँदै आएका उनका अघिल्ला रचना भन्दा पृथक् केही लामो तर सशक्त कविता वाचन गरेर उपस्थित स्रोताको ध्यान केन्द्रित गरेका थिए ।
कुमार शिवाकोटी मूलतः गीतकार हुन । उनका थुप्रै गीत नेपालका लोकप्रिय गायक गायिकाले गाइसकेका छन् । उनले यो कार्यक्रममा प्रेम वियोग भावको गजल सुनाए । त्यसपछिको कविता क्रममा आए लक्ष्मी दुलाल । आत्मिक भावमा प्रेमको परिभाषा उनको कविताले दिन खोजेको प्रतीत हुन्थ्यो । अलि क्लिष्ट र गहिरो गरी सुने मात्र बुझिने जस्तो उनको कविता वाचन भने त्यति प्रभावकारी हुन सकेन कि ? कविता स्वयम् अनुभूतिको कलात्मक अभिव्यक्ति हो भने प्रस्तुति पनि कलात्मक भए त्यसले स्रोताको मन प्रफुल्लित गर्न सक्छ तसर्थ प्रस्तोताले वाचनमा पनि सचेत हुन जरुरी हुन्छ ।
यो काव्य गोष्ठीमा विविध विधाका सर्जकहरूले आफ्ना सिर्जना वाचन गरेर कार्यक्रमलाई सुन्दरता दिने प्रयास गर्छन् । तिनै मध्येका एक थिए तबला वादक सरगम थपलिया । साहित्यिक गोष्ठीमा त्यति देखा नपर्ने उनले पनि शृङ्गारिक गजल सुनाएर स्रोताको वाहवाही बटुलेका थिए । यही मेलोमा जोडिए त्रिविक्रम न्यौपाने । विभिन्न कार्यक्रममा कविता वाचन गर्ने यिनका कवितामा समसामयिकताको झल्को पाइन्छ । यिनी कविता मन लगाएर वाचन गर्ने भएकाले कविता बोधगम्य लाग्छन् । आचार्य अभिव्यक्तिको कविताले देश सम्झिएको थियो ।

भुटानको सुनकोसी नदीदेखि अहिले सम्म आफ्नै खोजीमा भौँतारिएको कथालाई यिनले कविताको रूप दिएका थिए । सरल यिनको कविताले सबैको मन छोएको भान हुन्थ्यो । ह्यारिसबर्गमा उल्लेख्य नेपाली भाषी नेपाली जातीको उपस्थिति छ । जति शिक्षाको क्षेत्रमा पुरुषहरू छन् त्यति नै नभए पनि महिलाहरू पनि शिक्षा र चेतनाको क्षेत्रमा कम छैनन् तर सिर्जनाको क्षेत्रमा महिला सहभागिता अत्यन्त न्यून छ । यही न्यूनताका बिचमा आफ्नो गजल लिएर आइन निशा पाण्डे । नारी संवेदनशीलता र नारीका सुख दुःखलाई आफ्नो कविताको विषयमा समेट्दै गलल र कविता लेख्ने यिनको गजलले नारी संवेदनालाई समेटेको थियो । यिनी निरन्तर साधनामा तल्लीन सर्जक हुन ।
डोना आचार्य कविता लेख्ने कवि भएपनी अचेल उनको कलम त्यति चल्दैन रे । त्यही भएर सायद उनले पुरानै कविता भनेर दुई वटा कविता सुनाए । मानवीय स्वभाव र त्यसको प्रक्षेपण गरिएको कविता वाचन भने सशक्त थियो। कामना धिमाल उदाउँदै गरेकी र प्रशस्त सम्भावना भएकी नवोदित कवि हुन । स्वर्गीय पितालाई सम्बोधन गरेर लेखिएको उनको कविता प्रतिकात्मक र सुन्दर थियो । वाचन कला अत्यन्त सुललित र आकर्षक छ कामनाको । उनी भोलीको आशा हुन । यिनले आफ्नो लेखनलाई निरन्तरता दिन सकिन भने थुप्रै आशालाग्दा सिर्जना आउने कुरामा दुई मत छैन । म यिनको लेखन यात्रा निरन्तरताको कामना गर्दछु ।
कार्यक्रममा स्थानीय नगरबाट मात्र होइन ओहायो राज्यको सिनसिनाटीबाट सहभागी हुन आएका थिए अभिषेक शर्मा । उनको कवितामा देश र आफू जन्मिएको माटो प्रति अगाध प्रेम दर्शाइएको थियो । छोडिएको देश आफ्नो भन्न पाइएन , शरण दिने देश आफ्नो थिएन । अनागरिक भएर बाच्नुको पीडाले कविता स्वयम् पीडाको दस्ताबेज जस्तो लाग्थ्यो । सी एम निरौला चिरपरिचित अनुहार हो ।
भर्खरै उनको कविता सङ्ग्रह चिहानबाट चिन्तन बजारमा आएको छ । मनमा आएका भावलाई जस्ताको त्यस्तै अभिव्यक्त गरिएका यिनका कविता सरल र सहज लाग्छन् । उनले नारी संवेदना र अनुभूति भावको कविता कार्यक्रममा प्रस्तुत गरे । सौरभ तिम्सिनाले कवितामा बालापन सम्झिए र केटाकेटी हुँदाका चाहना के हुन्थे आफ्नो सिर्जनामा व्यक्त गरे । अबको पालो थियो देवीका बरालको । उनी सिर्जना गर्न सक्रिय कविमा पर्छिन् । सम्भवतः मैले ह्यारिसबर्गमा सबभन्दा पहिले चिनेका महिला कवि उनै हुन ।
बदला शीर्षकको उनको कविताले महिला पीडाका अनुभूतिहरू व्यक्त गरेको थियो । कसैले पनि अरू कसैका बारेमा लेख्न सक्ला तर उसैलाई शब्दमा उतार्न कठिन मात्र होइन असम्भव हुन्छ । महिलाका बारेमा पुरुषले लेखेका जति काव्य छन् ती अनुमान गरेर लेखिएका हुन्छन् । महिलाका वास्तविक कथा महिलाले मात्र लेख्न सक्छन् भन्ने मेरो ठम्याई हो । देवीकाले लेखेको कविता महिलाका अनुभूति वास्तविकरुपमा प्रकट भएका छन् ।
मनदेखी मनसम्मले नयाँ सर्जकहरूलाई लेख्न उत्प्रेरित गरिरहेको छ । यिनै मध्येका एक थिए सुरज सुवेदी । कुनै पनि कुरा गर्न मानिसलाई सङ्गतले प्रेरित गर्छ । भनाई पनि छ , जस्तो सङ्गत त्यस्तै फल । सुरज जस्ता युवाहरू साहित्यमा आउनु जरुरी छ । यिनको आगमन आशालाग्दो छ । नवीन भट्टराई शालीन कवि हुन । उनको शालीनता काव्य सिर्जनामा पनि देख्न सुन्न पाइन्छ । दुइटा रचना सुनाएका नवीन छन्दमा पनि राम्रो सिर्जना गर्ने कवि हुन । उनले सुनाएको सिर्जना चेतनामुखी हुन्छन् । केही न केही सन्देश बोकेका यिनको यो पङ्ती हेरौँ ।
जब हाम्रो बाटो भिन्न भिन्न हुन्छ साथी
तब हाम्रो पाटो छिन्न भिन्न हुन्छ साथी ।
कविता कार्यक्रमको बिट मार्ने बेलामा आइन वसुधा रिजाल । वसुधा सिर्जना लेखनमा अलि पछि जोडिए पनि राम्रो लेख्ने प्रयास गरिरहेकी छन् । म गरिब नै सही शीर्षक उनको कवितामा सक्षम भएपनी समाजसेवामा नलाग्ने र मात्र धनको पछि लाग्ने लोभी प्रवृत्ति भएका मानिसलाई व्यङ्ग गरिएको छ। धन सम्पत्ति भएर मैमत्त हुनुभन्दा गरिब हुनु नै बरु ठिक हो भन्ने उनको कविताको भाव थियो । अघिल्ला रचना भन्दा अझ राम्रो हुँदै आएका उनका कविताले एक दिन सुन्दर बान्की लिएर आउनेछ भन्ने आशगर्न सकिन्छ । कार्यक्रमका अन्तिम प्रस्तोता थिए चिरपरिचित कवि मदन दुलाल । मदन दुलाल आफैमा धेरै नवोदित कविका लागि प्रेरणा बन्ने क्षमता राख्छन् । कवितामा नवीन प्रयोग गर्न प्रयासरत मदनले विद्रुपता शीर्षकको अलि क्लिष्ट लाग्ने कविता सुनाएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय सर्जकहरूको उपस्थिति थियो । नेपाली चलचित्र निर्देशक तुलसी घिमिरेका साथमा सहायक निर्देशक भएर काम गरेका र पछिल्लो समय आफैँ निर्देशक भएर चलचित्र निर्देशन गरिरहेका योगेश रसाइली , कलाकार एवम् हाँस्यकवि प्रकाश नौबाग , पिट्सबर्गबाट कार्यक्रमको बारेमा सुनेर अवलोकन गर्न आएका अविमेल बराइली , गीतकार एवम् सङ्गीतकार अगम गुरुङ , सर्जक एवम् विद्वान प्रेम घिमिरे , कवि एवम् लेखक नारद सुदामा आचार्य जस्ता व्यक्तिको उपस्थितिले कार्यक्रममा उत्साह थपेको थियो । गीत सङ्गीतका सर्जकको सम्मानमा समर्पित कार्यक्रमले मम्स ममको मझेरी काव्यमय भएको थियो ।
कार्यक्रमको अन्त्यमा मम्स मम खाजा घरका तर्फबाट अगम गुरुङले नेपाली गीत सङ्गीतको प्रवर्द्धनमा सक्रिय कुमार शिवाकोटी र सौरभ तिम्सिनालाई खादा लगाएर सम्मान गरेका थिए । मनदेखी मनसम्म साहित्यिक कार्यक्रम र सिर्जना वाचनमा मात्र सीमित छैन । यसले निराश भएका एक्लो भएको महशुस गरिरहेका मान्छेहरूमा उत्साह र प्रेरणा जगाउने काम पनि गरिरहेको छ । फेरि पनि हाम्रो भेट अर्को शृङ्खलामा हुने नै छ ।
र यो पनि …