युरोपमा ज्ञान–सीप सिकेँ, नेपालमा २१ सयलाई जागिर दिलाएँ : लोकराज शर्मा
काठमाडौं/ दुई दशकअघि मेरो जन्म गाउँ जुम्लाको सिञ्जा छाडेर काठमाडौँ हुँदै विदेश पुग्दा आजको सपना मैँले देखेको थिइन् । उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइन् । पहिलेका धेरै समस्या र कठिनाइहरू पार गर्दै, आइपर्ने समस्याहरू समाधान गर्दै, कठोर मेहनत र आइपर्ने चुनौतीहरूलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ । पढाइकै कुरा गर्ने हो भने कक्षा ८ सम्म जुम्लामै पढेँ । ९ र १० पढ्ने समयमा मुलुकमा चर्को द्वन्द्व थियो । जुम्लामा रहँदा पढाइमा बाधा पर्छ कि भनेर काठमाडौँ आएँ । जुम्लाको मान्छे काठमाडौँमा स्कुल भर्ना हुँदा थुप्रै समस्याहरू आए । पछि शान्ति शिक्षा स्कुलले जुम्लाको केटो भनेर भर्ना लियो ।
पढाइ कमजोर थिएन् । त्यस बखत हाजिरी जवाफ प्रतियोगितामा प्रथम पटक विद्यालय मेरै कारणले सहभागिता जनायो । हामीले पुरस्कार जित्यौँ । समय बित्दै गयो । विद्यालय शिक्षा पार गरेर उच्च शिक्षामा सिभिल इन्जिनियरिङको कोर्ष रोजेँ । तत्कालको कोर्ष पूरा गरेर त्यसपछि म विदेश गएँ । त्यहाँको बिजनेश स्कुलमा पढ्दापढ्दै टप गरेँ । स्कलरसिपमा इन्टरनेशनल बिजनेश स्कुल पढ्न पाएँ । सबै विषयहरूमा उत्कृष्ट अङ्कहरू ल्याएकाले स्टडी कोचका रुपमा काम गर्ने अवसर मिल्यो । काम गर्दै पढ्न थालेँ । पढ्दापढ्दै पढाउन पनि थालेँ । डेनमार्कबाट स्नातकोत्तर पूरा गरेको हुँ । अहिले पनि विद्यार्थी नै छु । इटालीबाट पिएचडी गरिरहेको छु ।
डेनमार्कमा मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यस कारण उत्कृष्ट नम्बरहरू पनि आयो र आर्थिक रुपमा सर्पोट पनि भयो । र केही पैसा कलेजबाट पनि आउन थाल्यो । सबै कुरा ठिक हुँदै थियो । अलिअलि पैसा जम्मा हुन थालेकाले बिस्तारै मैले पढाई सँगै बिजनेश सुरु गरेँ । पढाइ चल्दै नै थियो बिजनेश सुरु गरिसकेको थिएँ । सन् २००८ तिर नै साना स्तरको व्यवसाय आफ्नो नाममा दर्ता गरेँ । बिस्तारै आइटीमा व्यवसाय तिर पनि सुरु गरेँ । व्यवसायसँगै कलेजमा पढाउने काम पनि गर्थेँ । र आफू पनि पढ्थे । यसरी तीन चार वटा कामहरु लगातार चली नै रहन्थ्यो । कहिले १७–१८ घण्टासम्म खटेर काम गरिरहेको छु । निरन्तरको संघर्ष र मेहनतले म बिस्तारै यसरी आर्थिक र शैक्षिक हिसाबले स्थापित हुँदै गएँ ।
आर्थिक र शैक्षिक रुपमा सक्षम हुँदै गएकाले जीवनमा पछिसम्म सम्झने काम गर्ने इच्छाहरू पलाउन थाले । एक बारको जीवनमा दुःख देखेर र भोगेको व्यक्ति भएकाले केही न केही गर्नुपर्छ भन्ने सोच आयो । त्यो पनि आफू जन्मेकै ठाउँमा गरौैं भन्ने लागिरहन्थ्यो । त्यही भएर विदेशमै बसेर पनि नेपालमा हामीले विभिन्न क्षेत्रमा सामूहिक लगानीमा केही काम गरेका थियौँ । तर त्यो सामूहिक लगानी प्रतिफलमुखी भएन । विदेशमा बसेर नेपालमा सामूहिक लगानी गर्दा राम्रोसँग काम हुन सकेन ।
नेपालमा विग मार्ट खुल्नुअघि नै हामीले इजी मार्ट सुरु गरेका थियौँ । तर धेरै समस्याहरू भोग्यौँ । र सफल पनि भएनौँ । विदेशमा बसेर यहाँ मोनिटरिङ हुन सकेन । त्यसपछि नेपालमै बसेर केही काम गरौँ भन्ने सोच बनिरहँदा डेनमार्ककै एउटा कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ राम्रा मान्छेहरू हुनुहुन्थ्यो । जहाँ राम्रा राम्रा कुराहरू सिक्ने अवसर मिल्यो । मेरो आइटी व्यवसाय भएका कारणले विभिन्न आइटी व्यवसायीहरूसँग समन्वय हुन थाल्यो । धेरै ठाउँका राम्रा आइटी र फाइनान्ससँग सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न पाएँ । जसमा आइटीकै प्रयोगबाट सिर्जनात्मक कामहरु गर्ने सहयोग मिल्यो । जस कारणले गर्दा नेपालमै बिजनेश गर्ने वातावरण सिर्जना भयो ।
यति बेला नेपालमा आफैँले स्थापना गरेका कम्पनीहरूमा लगभग २१ सय जनाले रोजगारी पाएका छन् । तर केही कम्पनी विक्री भएकाले रोजगारी गर्नेको संख्या केही कम भएको होला । गृह जिल्लालाई जोड्नका लागि लघुवित्तले ठूलो सहयोगीको भूमिका खेलेको छ । मलाई धेरैले माइक्रो फाइनान्सकै माध्यमबाट चिन्ने गरेका छन् ।
अन्यतिर पनि लगानी बढाएको छु । गृह जिल्लासँगको सम्बन्ध जोड्ने काम एक लघुवित्त र अर्को काठ उद्योग हो । त्यसअघि मैँले त्यहाँ बच्चा हुँदा नै युवा क्लब खडा गरेको थिएँ । त्यसले समाजसेवा गर्न अवसर सिर्जना गरायो । ६–७ कक्षा पढ्दादेखि नै खडा गरेको युवा क्लबमा अङ्कल साइनो लाएर बोलाउनुपर्ने व्यक्तिहरू सदस्य बस्नुभयो । धेरै उमेर ग्याप भएकाले म निर्माता र अन्य एक जनालाई अध्यक्ष राखेको थियौँ । उहाँ क्षमतावान् नै हुनुहुन्थ्यो । क्लब अझै पनि सञ्चालनमा छ । क्लबबाटै पुल, बाटो, मन्दिर बनाएका छौँ । म १२–१३ वर्षको उमेरकै गरेको यो ऐतिहासिक थियो मेरो । अझै स्मरणमा छ । यो विगतको कुरा भयो ।
पछि काठको कारखाना खोलेपछि धेरैले रोजगारी पाउनुभएको छ । एक पटक कारखानामा पुग्दा एक जोडी महिला र पुरुष आएर मेरो अगाडि धेरै बेर रुनुभयो । किन रुनुभएको भन्दा कारखानामा काम गर्नुअघि गिटी कुटेर महिनाको चारदेखि आठ हजार रुपैयाँसम्म कमाउनु हुँदो रहेछ । काठ उद्योगमा काम पाएपछि मासिक ७० हजार सम्मको आम्दानी हासिल गरेपछि खुसीले रुनुभएको रहेछ । यसले मलाई खुवै खुशी तुल्यायो । किन खुसी मिल्यो भने मेरो व्यवसाय मात्र भन्दा पनि कसैको जीवन नै परिवर्तन ल्याइरहेको रहेछ । त्यसैले मैँले आफूले आफैलाई चिनाउनुपर्दा म उद्यमी भन्दा पनि सामाजिक उद्यमी भन्न रुचाउँछु । जति पनि मेरो व्यवसाय छ, फाइदाका लागि मात्र छैन । सामाजिक योगदानको लागि पनि छ ।
तर जुम्लाको प्रसङ्गमा अरू सिर्जनात्मक कामहरु गर्न खोजिरहेको छु तर सकिरहेको छैन । काठ उद्योग, युवा क्लब र लघुवित्तका माध्यमबाट गाउँसँग जोडिएको छु । लघुवित्तको शाखा खोलेर हजारौँ गाउँलेहरूका निम्ति योगदान गरिरहेको छु । विना धितो कर्जा दिएर सेवा गरिरहेको छु । समूह बनाउने, तालीम दिने र उद्यमी बनाउने कामहरु भइरहेका छन् । आर्थिक पहुँचमा वृद्धि गराउने काम भइरहेको छ ।
त्यसमाथि हामीले स्थापना गरेको मातृभूमि लघुवित्त एउटा यस्तो संस्था हो जसले राष्ट्र बैङ्कले क्याप ल्याउनुभन्दा पहिले १५ प्रतिशतको क्याप ल्याउनुभन्दा पहिला १५ प्रतिशत भन्दा बढी चार्ज कहिल्यै गरेनौँ । कुनै जमानामा हाम्रो कष्ट अफ फण्ड १६ प्रतिशत थियो । तर हामीले १५ प्रतिशतमा दिइरहेको थियौँ ।
मैँले डाटा लिएको त छैन तर आम रुपमा बुझ्दा लघुवित्त भनेको ग्रामीण अर्थतन्त्रको यस्तो ठूलो माध्यम हो जसले आम गाउँवासीको जीवनमा पुरै परिवर्तन ल्याइदिन्छ । काम गर्दै गयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पस्केका छौँ । मेरो जीवनको मन्त्र नै इमान्दार र मेहनत हो । म अहिले पनि १८ घण्टा, कहिले काहीँ रातभर नसुतेर काम पनि गर्छु । इमानदारिताका साथ खट्न सक्नुपर्छ । इमानदारिता र मेहनत जोसँग छ उसले संसार जित्न सक्छ जस्तो लाग्छ र हरेक जनताले त्यो मन्त्र अपनाउनुपर्छ । यो भयो भने राज्य, संस्था र क्षेत्र सफल बन्न धेरै समय लाग्दैनन् । कुनै नयाँ संस्था वा ओरालो लागेको संस्थालाई माथि उठाउन अठोट र मेहेनतका साथ काम गर्यो भने सफलता मिल्छ भन्ने उदाहरण हामीले देखाइरहेका छौँ ।
(विभिन्न आइटी एवम् काठ उद्योगका संचालक एवम् मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लोकराज शर्मासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)