राष्ट्रपति ट्रम्पको ठुलो लगानी: मार्चमा बन्ड खरिदमा ५१ मिलियन डलरभन्दा बढी
कार्लाल, पेन्सिलभेनिया /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च महिनामा कम्तीमा ५१ मिलियन डलर बराबरका बन्ड (ऋणपत्र) खरिद गरेका छन् ।
शनिवार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार यी लगानी विभिन्न क्षेत्रहरूमा फैलिएका छन् ।
अमेरिकी सरकारी नैतिकता कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार राष्ट्रपति ट्रम्पले गत महिना १७५ वटा वित्तीय कारोबार गरेका थिए । प्रतिवेदनमा प्रत्येक कारोबारको ठ्याक्कै रकम उल्लेख गरिएको छैन ।
उपलब्ध विवरणअनुसार अधिकांश लगानी राज्य, काउन्टी, विद्यालय जिल्ला तथा सरकारी वा सार्वजनिक–निजी साझेदारीसँग सम्बन्धित निकायहरूले जारी गरेका म्युनिसिपल बन्डहरूमा केन्द्रित छन् ।
राष्ट्रपति ट्रम्पको सबैभन्दा ठुला २६ वटा कारोबार (प्रत्येक १ मिलियनदेखि ५ मिलियन डलरसम्म) मुख्यतः म्युनिसिपल बन्ड वा अमेरिकी ट्रेजरीमा रहेका छन् । तीमध्ये दुई कारोबार वायरहाउजर र जेनरल मोटर्सका कर्पोरेट बन्ड खरिदसँग सम्बन्धित छन् ।
साथै ट्रम्पले उच्च प्रतिफल बन्ड सूचकांक पछ्याउने एक्सचेन्ज–ट्रेडेड फन्डमा पनि लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले ऊर्जा, प्रविधि, स्वास्थ्य सेवा र वित्तीय सेवा क्षेत्रका विभिन्न कम्पनीहरूको कर्पोरेट बन्ड पनि खरिद गरेका छन् । ती कम्पनीहरूमा कन्स्टेलेशन इनर्जी, अक्सिडेन्टल पेट्रोलियम, ब्रडकम, एनभिडिया, मेटा प्लेटफम्र्स र माइक्रोसफ्ट लगायत रहेका छन् ।
यसैगरी, वाल स्ट्रिटका ठुला बैंकहरू सिटीग्रुप, गोल्डम्यान स्याक्स, जेपी मोर्गन चेज र बोइङमा पनि उनले लगानी गरेका छन् ।
समग्रमा, राष्ट्रपति ट्रम्पले विभिन्न सम्पत्ति वर्गमा गरेका बन्ड खरिदहरूको अधिकतम कुल मूल्य करिब १६१ मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

















