बानाको सदस्यका लागि पाँच हजार भन्दा बढी आवेदन, एनआरएनए पछि सबै भन्दा धेरै सदस्य
मेरील्याण्ड, अमेरिका/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) मा कीर्तिमानी सदस्य बनेका छन्।
बाना पूर्व महासचिव, सल्लाहकार तथा ट्रस्टी बोर्ड सदस्य प्रभु थापाका अनुसार सदस्यता बन्न पाउने अन्तिम दिन शुक्रवार साँझ सम्म पाँच हजार भन्दा बढीले आवेदन दिएका छन्।
‘हो कीर्तिमानी नै भएको छ, साथीहरू अन्तिम रुजु गर्दै हुनुहुन्छ।’ शुक्रवार साँझ थापाले समाज टाइम्स सँग भने,’पाँच हजार भन्दा धेरैको आवेदन परेको छ।’
बानामा यस अगाडि २३ सय सदस्य थिए। जसमा एक हजार आजीवन सदस्य थिए। ‘यस पटक पनि आजीवन सदस्य धेरै नै थपिएको हामीले अनुमान गरेका छौ।’ थापाले भने।
यो सँगै बाना गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका पछि सबै भन्दा धेरै सदस्य हुने संस्था बन्ने छ।
यस अगाडि नेपाली समाज टेक्सस एनआरएनए पछि सबै भन्दा धेरै सदस्य रहेको संस्था थियो। टेक्सस समाजमा चार हजार सदस्य छन्।
यसै बिच बाना ट्रस्टी अध्यक्ष कुल मणि आचार्यले कुल सदस्य आवेदन संख्या पाँच हजार एक सय ९२ पुगेको बताए। ‘चार हजार ६८ नयाँ र तीन सय ७७ आजीवन सदस्य भए।’ आचार्यले भने ‘ सात सय ४७ आजीवन सदस्य हामी सँग पहिले नै थिए।’
आचार्यका अनुसार सदस्यता शुल्क बाट मात्र करिब एक लाख ३० हजार डलर आम्दानी भएको छ।
बाना निर्वाचन आयोगका प्रमुख डा. कृष्ण ढकालले प्राप्त आवेदनमा छानबिन गरी एक साता भित्र पहिलो चरणको मतदाता नामावली प्रकाशित गर्ने बताए।
‘आज हामीले कुल संख्या लक गर्यौ, प्राप्त आवेदनमा छानबिन गरी एक साता भित्र पहिलो लिस्ट प्रकाशित गर्छौ त्यसमा दाबी विरोधका लागि केही समय दिइने छ त्यस पछि अन्तिम लिस्ट सार्वजनिक गर्छौ।’ प्रमुख आयुक्त ढकालले भने।
ढकालका अनुसार अप्रिल ६ तारिख निर्वाचन हुने छ।
बानाको आगामी कार्यकालका लागि जीतेन्द्र गुरुङले यस अगाडि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरी सकेका छन्। यसै गरि बानाकी वर्तमान बरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, पूर्व बरिष्ठ उपाध्यक्ष हिरा गुरुङले पनि अध्यक्षमा दावेदारी दिने बताउदै आएका छन्।
हिरा गुरुङ यस अगाडि वर्तमान अध्यक्ष सुवोध विलास पन्त सँग पराजित भएका थिए। पन्तले तेस्रो कार्यकालका लागि दावेदारी गर्ने नगर्ने निर्णय गरेका छैनन्।