अपडेट: भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

नयाँ दिल्ली / भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो ।
मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताए ।
महाकुम्भ दुर्घटनाः मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
“प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ ।
प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहेको बताए । उनले बुधबार बिहानदेखि समाचार तयार पार्दासम्म तीन पटकसम्म उत्त। प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।
‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो ।
दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ ।
महाकुम्भमा स्नान गर्ने अन्य महत्वपूर्ण तिथिहरू वसन्त पञ्चमी (फेब्रुअरी ३), माघी पूर्णिमा (फेब्रुअरी १२) र महाशिवरात्रि (फेब्रुअरी २६) रहेका छन् ।
(रासस/सिन्ह्वा)
र यो पनि…