नवौँ कालु सिंह तामाङ स्मृति फुटबल च्याम्पियनसिप आगामी सेप्टेम्बरमा

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नवौँ कालु सिंह तामाङ स्मृति फुटबल च्याम्पियनसिप आगामी सेप्टेम्बर १९ देखि २१ तारिख सम्म हुने भएको छ।
आयोजक समितिको तर्फबाट आइतबार ह्यारिसबर्गमा आयोजित पत्रकार सम्मेलनमा च्याम्पियनसिपको मिति सार्वजनिक गरिएको हो।
च्याम्पियनसिप आठौँ संस्करण खेलाइएको स्थल ह्यारिसबर्गको स्काईलाइन स्पोर्ट्स कम्प्लेक्समा नै हुने जनाइएको छ।
च्याम्पियनसिप आयोजक समितिको बोर्ड बैठक पछि पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
ह्यारिसबर्ग स्थित एशियन रेफ्युजी युनाइटेड एआरयुको यूथ सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रत्न गुरुङ, उपाध्यक्ष अमल थुलुङ, सचिव विनय लुइँटेल र बोर्ड सदस्य बिर्ख गुरुङले च्याम्पियनसिपका बारेमा जानकारी दिएका थिए।
‘कालु सिंह मेमोरियल च्याम्पियनसिप प्रत्येक वर्ष गरिने फुटबल प्रतियोगिता हो, जसले खेलकुद मार्फत एकता र ह्यारिसबर्गमा रहेका युवाको खेलकुद विकासमा काम गरिरहेको छ।‘पत्रकार सम्मेलनमा उपाध्यक्ष थुलुङले भने, ‘एआरयुको सकर फर सक्सेस जस्ता कार्यक्रमहरूको समर्थन गरेर यो प्रतियोगिताले स्थानीय युवा र तिनका परिवारमा सकारात्मक प्रभाव पार्न निरन्तर योगदान पुर्याउँदै आएका छौ ।‘
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै थुलुङले खेलकुदमा समुदायको मनोबल बढाउने र युवालाई फुटबलमा प्रोत्साहित गर्ने उद्देश्यसँगै च्याम्पियनसिपलाई वार्षिक कार्यक्रम बनाइएको जनकारी दिए।
उनले च्याम्पियनसिपको गत संस्करणमा खर्च कटाएर ५ हजार ४० डलर बचत भएको जानकारी दिए। सो रकम मध्ये युवाको खेलकुद विकासप्रति आफ्नो प्रतिबद्धतासँगै समितिले एआरयु द्वारा सञ्चालित “सकर फर सक्सेस” को ट्राभल टिमलाई समर्थन गर्न पाँच हजार डलर दिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा थुलुङले जानकारी दिए।
‘च्याम्पियनसिपले युवा खेलाडीहरूको खेल विकासमा सहयोग गर्नेछ। ‘उनले भने, ‘हामी २०२५ को कार्यक्रमलाई स्मरणीय बनाउने र समुदायलाई खेलकुद मार्फत जोड्न अनि युवा विकास, र दिवङ्गत कालु सिंह तामाङको स्मृतिलाई सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौ ।‘
पत्रकार सम्मेलनमा जनाइए अनुसार नवौँ संस्करणमा बढीमा दश टिमलाई सहभागी गराइने छ। हरेक टिममा ४० वर्ष माथिका नेपाली भाषी खेलाडीले मात्र खेल्न पाउने छन्। यस पटक पनि आठौँ संस्करणमा भाग लिएको अमेरिका बाहिर बेल्जियमको टिमले भाग लिने सम्भावना बढी रहेको जनाइएको छ।
पत्रकार सम्मेलनमा च्याम्पियनसिपमा प्रायोजन गर्न वा स्वयंसेवक भूमिकाको रूपमा सहयोग गर्न समुदाय सँग आग्रह गरिएको छ।
यस्तै च्याम्पियनसिप आयोजनाका लागि रन्त गुरुङको अध्यक्षतामा दश सदस्यीय समिति समेत गठन गरिएको जनाइएको छ।
समितिको उपाध्यक्षमा अमल थुलुङ, सचिवमा विनय लुइँटेल र कोषाध्यक्षमा मित्रा भण्डारी रहेका छन्। यस्तै बोर्ड सदस्यहरूमा पर्शु अधिकारी, रबिन गुरुङ, डिल्ली चाम्लागाईं, देवन क्षेत्री, के.बी. गुरुङ, बिर्ख गुरुङ र पेमा तामाङ रहेका छन्।

पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य बृख गुरुङले च्याम्पियनसिप आठौँ संस्करण देखि संस्थागत भएको र यस पटक देखि झनै भव्य हुने बताए।
‘विभिन्न स्टेटमा बस्ने भुटानी दाजु भाईले च्याम्पियनसिप मन पराउनु भएको छ, गत वर्ष देखि कालु सिंह च्याम्पियनसिप झन् राम्रो हुने छ भन्ने हामीले आश लिएका छौ। ‘उनले भने।
आयोजक समितिका सचिव विनय लुइँटेलले नवौँ संस्करणमा टिम दर्ता शुल्क चार सय डलर घटाइएको बताए।
‘हामीले गत वर्ष टिम दर्ता एक हजार डलर लिएका थियौ तर अब यस पटक ६ सय १ डलर मात्र लिने भएका छौ र समितिका सदस्यबाट प्रत्येकले पाँच पाँच सय डलर सहयोग गर्ने भएका छौँ।’ लुइँटेलले भने।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रत्न गुरुङले च्याम्पियनसिपलाई सफल बनाउन सबैलाई अनुरोध गरे।
पत्रकार सम्मेलनको पुरा भिडियो
को हुन कालु सिंह
च्याम्पियनसिप आयोजक कमिटीका सदस्य बृख गुरुङका अनुसार कालु सिंह तामाङ भुटानको ड्रुक ११ बाट खेल्ने कुशल नेपाली भाषी खेलाडी हुन्। ड्रुक ११ नै पछि भुटानको राष्ट्रिय टिममा रूपान्तरण भएको हो।
भुटानको साम्जी जिल्लाको सिप्सुमा १९९५ मा जन्मिएका कालु सिंह भुटान रोयल आर्मीमा भर्ती भए पछि फुटबलमा झन् सक्रिय भएका हुन्।
भुटानलाई प्रतिनिधित्व गर्दै कालु सिंहले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यो क्रममा उनी नेपालमा पनि खेलेका थिए । पछि भुटानमा आन्दोलन चर्किए पछि कालु सिंह पनि खेदिए र झापाको बेलडाँगी शिविरमा बसेका थिए।
‘हामी जति पनि भुटानबाट निस्किएका साथीहरूले धेरैले उहाँ सँग क्याम्पमा फुटबल सिक्न पायौ,’ पत्रकार सम्मेलनमा गुरुङले भने, ‘हामी त्यसमा धेरै नै धन्य छौ।’
बृखका अनुसार कालु सिंहको ४४ वर्षको उमेरमा सन् १९९८ मा नेपालमा निधन भएको थियो। जुन समय कालु सिंह भर्खर मात्र दार्जिलिङमा भएको प्रतियोगिता खेलेर फर्किएका थिए।
त्यस पछि झापामा नै कालु सिंहको स्मृतिमा प्रतियोगिता भएको थियो। शिविरमा रहेकाहरू अमेरिका आए पछि सन् २०१७ देखि यो प्रतियोगिता पुन सुरु भएको हो। अमेरिकामा पहिलो संस्करण नर्थ क्यारोलाइना भएको थियो। दोस्रो संस्करण ओहायोको एक्रोनमा भएकोमा त्यस पछिका सबै संस्करण ह्यारिसबर्षमा हुँदै आएका छन्।
च्याम्पियनसिपमा समाज टाइम्स मिडिया साझेदारको रूपमा रहने छ।