काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
केप क्यानाभेरल (फ्लोरिडा)/ ब्लु ओरिजिनले प्राविधिक समस्याका कारण आफ्नो विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण सोमबार बिहान रद्द गरेको छ ।
तीन सय २० फिट (९८ मिटर) लामो न्यु ग्लेन रकेट बिहानै फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट एउटा प्रोटोटाइप स्याटेलाइट लिएर उड्ने योजना थियो । तर प्रक्षेपण नियन्त्रकहरूले काउन्टडाउनको अन्तिम मिनेटमा अनिर्दिष्ट रकेट समस्यासँग जुध्नु पर्यो र काउन्टडाउनको समय सकियो ।
काउन्टडाउन घडी रोकिएपछि उनीहरूले तुरुन्तै रकेटबाट सबै इन्धन निकाल्न थाले । ब्लु ओरिजिनले समस्या समाधान गर्न थप समय चाहिने बताउँदै तत्काल नयाँ प्रक्षेपण मिति तय गरेन ।
एटलान्टिकको फ्लोटिङ प्लेटफर्ममा पहिलो चरणको बुस्टर अवतरण गर्ने कम्पनीको योजनामा जोखिम निम्त्याउने खराब सामुद्रिक लहरका कारण परीक्षण उडान पहिले नै ढिलो भइसकेको थियो ।
न्यु ग्लेन नाम पृथ्वीको कक्षामा पुग्ने पहिलो अमेरिकी जोन ग्लेनको नामबाट राखिएको हो । यो टेक्सासबाट ग्राहकहरूलाई अन्तरिक्षको सीमासम्म लैजाने ब्लु ओरिजिनको न्यु शेपर्ड रकेटभन्दा पाँच गुणा अग्लो छ ।
अमेजनका जेफ बेजोसले २५ वर्षअघि यो कम्पनीको स्थापना गरेका थिए। उनले फ्लोरिडाको ओर्लान्डोबाट करिब ५० माइल (८० किलोमिटर) पूर्वमा नासाको केनेडी स्पेस सेन्टरको गेट बाहिर रहेको रकेट कारखानामा रहेको मिसन कन्ट्रोलबाट सोमबारको काउन्टडाउनमा भाग थिएका थिए ।
जे भए पनि बेजोसले आइतबार साँझ भने, “हामी उठ्नेछौँ र अघि बढ्नेछौँ ।”
(रासस/एपी)















