सिंहदरबार ‘स्याल दरबार’ बन्न समय लाग्दैन : गोविन्दराज पन्त
काठमाडौँ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले रगत बगाएर सम्हालेको देशलाई मुठीभरका मान्छेले कैद गरेर राखे सिंहदरबार नभई जनताले ‘स्याल दरबार’बनाउने बताएका छन् ।
शनिवार काठमाडौँ उपत्यका खानेपानी संघर्ष समिति गौरवमय वार्षिक एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई जनतामाथि शासन गर्न खोजे सिंहदरबारभित्र नेपाली जनताले बङ्गुर पालेर देखाउने बताएका हुन् ।
उनले भने, ‘रगत बगाएर सम्हालेको देशलाई आज मुठीभरका मान्छेले कैद गरेर हामीमाथि शासन गर्न खोजे । राम्रोसँग काम गर्नुस् । नत्र जनताले सिंहदरबार होइन स्याल दरबार बनाएर अब नेपाली जनताले बङ्गुर पालेर देखाउने छन् । त्यहाँ शासन गर्ने दिन जान सक्छन् । अब होस् गर, होसमा आउँ ।’
यसै गरी उनले काठमाडौँ उपत्यकाको केही ठाउँ छन् जहाँ अहिलेसम्म पाइप लाइनको बिस्तार नभएको बताए । उनले पाइप लाइन बिस्तार नभएको ठाउँमा काम सुरु गर्न सरकारसँग मागसमेत गरे ।