नेपाली सेनाले देशभर मनायो पृथ्वी जयन्ती
काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले शनिवार देशभर विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।
दिवसका अवसरमा जङ्गी अड्डामा विशेष समारोहको आयोजना गरी पृथ्वीनारायण शाहका योगदानका विषयमा चर्चा गरियो । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे ।
यसै सिलसिलामा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झन्डा तथा नेपाली सेनाका आरम्भकालीन पाँच वटा पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झन्डा र दिपज्योति सहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमान ढोका पुगेर आजै बिहान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा गरी जङ्गी अड्डाको कार्यक्रममा सहभागी भएको थियो ।
यस्तै, प्रा.डा.त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा र प्राडा राजाराम सुवेदीले नेपाल एकीकरणमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियताको बारेमा प्रवचन दिए ।
यसै गरी नेपाली सेनाका सकल दर्जा, सैनिक विद्यालय तथा राष्ट्रिय सेवा दलका छात्रछात्राहरू सम्मिलित कविता प्रतियोगिताका उत्कृष्ट कविताहरूको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राहरूबाट राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे लघु नाटक प्रस्तुत गरिएको थियो ।
पूर्वप्रधान सेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष, रथी वृन्द, इतिहासविद्हरू लगायत नेपाली सेनाका सकल दर्जा एवं राष्ट्रिय सेवा दलमा तालिमरत छात्रछात्राहरूको उपस्थिति रहेको उक्त समारोहको अन्तमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरुलाई प्रधान सेनापतिले पुरस्कृत एवं सम्मान गरेका थिए ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा नेपाली सेनाले धरानको फुस्रेबाट धनकुटाको पाख्री बाससम्म ऐतिहासिक साँघुरी गढी पदयात्रा, उदयपुरको उदयपुर गढी–चौदण्डी गढी पदयात्रा र इलामको नागरीगढीदेखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका इकाईहरूमा विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।
राष्ट्रिय एकता प्रवर्द्धनका यस्ता कार्यक्रमहरूबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना अझ मजबुत भई इतिहासको जगेर्नामा थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
फोटो : नेपाली सेना