बेलायती सेनामा कार्यरत नेपालीहरूको समान तलबको मागमा माओवादीको ऐक्यबद्धता

काठमाडौँ/ बेलायती सेनामा लामो समय देखि कार्यरत नेपालीहरूले उठाउँदै आएको समानताको मुद्दालाई नेकपा माओवादी केन्द्रले दस्ताबेज बाटै ऐक्यबद्धता जनाएको छ।
केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले समानताको पहलका लागि कूटनीतिक कदम चाल्न सरकार सँग माग समेत गरेको छ।
‘बेलायती सेनामा काम गरेका नेपालीहरूले लामो समयदेखि समान तलब, समान पेन्सन र सुविधाका लागि उठाउँदै आएको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । साथै बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गर्दछ।’ बैठकमा प्रस्तुत भएका प्रस्तावको बुँदामा उल्लेख छ।
यस्तै प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई, उचित ठहर गरेको छ।
‘प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई, उचित ठहर गर्दछ र संयुक्त राष्ट्र सङ्घको ’दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्दछ।’ बैठकको एजेन्डामा उल्लेख छ।
साथै हमास समूहको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पनि सरकारको ध्यानाकर्षण गरिएको छ।
‘इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनाव प्रति गहिरो चिन्ता व्यक्त गर्दछ। वार्ता द्वारा शान्तिपूर्ण ढङ्गले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दछ साथै हमास समूहको कब्जामा रहेका विपिन जोशीको रिहाइ एवं मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाको सुनिश्चितताको लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
र यो पनि…