‘पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन आफैँ राजनीतिमा सक्रिय हुन चाहेका हुन्’: प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए ।
बैठकले पार्टीभित्र विचार, कार्य योजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए ।
बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशे ढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनले स्पष्ट गरे ।
अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्याङ्कन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताए ।
अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरुपमा जनताको बिचमा गएर महाधिवेशनमा जाने बताए ।
उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्य विभाजन गर्दा उनको पनि गरिने बताए ।