चिनियाँ इभीको बढ्दो क्रेज
काठमाडौँ । विश्वमा कार्बन घटाउने र हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ ।
केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरे लगत्तै मङ्गलवार आर्ट ग्रुप प्राइभेट लिमिटेडले चिनियाँ हाइगर बसहरू हस्तान्तरण गरेको छ ।
नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि चिनियाँ मोडलका इभी(इलेक्ट्रिक भेइकल)ले स्थान ओगट्न थालेको छ । व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरू एकदमै बलियो भएको अनुभव रहेको सुनाए ।
‘बितेको दुईचार वर्षमा चिनियाँ इभी गाडी नेपालमा बढेको छ । तर पनि धोका दिन्छ कि भन्ने त्रास छ । आशा गरौँ आएका कमजोरीहरू सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।’
नेपाल टुरिस्ट भेइकल एसोसिएसनका पूर्व अध्यक्ष एवम् व्यवसायी मनोज श्रेष्ठले चिनियाँ इभी गाडीहरू लक्जरीयस रहेको सुनाउँदै भने,‘चिनियाँ इभीहरुको सबै फिचरहरू राम्रा छन् । इभीको भविष्य राम्रो देख्छु । चिनियाँ इभी बसहरू थप भित्र्याउन आवश्यक छ ।’
अर्का व्यवसायी बेदराज बास्तोलाले चिनियाँ इभी बसको सेवा सुविधाहरू राम्रो रहेको सुनाउँदै भने,‘नेपालमा चिनियाँ इभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि बिस्तारै अपग्रेट गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’
विगतका तथ्याङ्कलाई हेर्ने हो भने पनि चिनियाँ इभी गाडीहरूको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०।८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा इभीले ओगटिसकेको छ । उक्त वर्ष मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो ।
नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका इभी भित्रिरहेपनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ ।
कुल इभीमा चीनबाट आयात भएका इभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका इभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्याङ्कहरू सार्वजनिक भइसकेका छन् । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न लिएको कर छुट नीतिले पनि इभीप्रतिको मोह बढेको देखिन्छ ।
नेपालको अटो बजारमा चिनियाँ इभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउनु रहेको व्यवसायीहरूको भनाइ छ । आर्थिक वर्ष २०७३।७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।
नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरे पनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्न सक्ने अनुमान गरिएको छ ।
गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रुपैयाँका जिप, कार, भ्यान आयात भएका थिए। त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्याङ्क थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रामक भएको देखिन्छ ।