रविलाई सांसदबाट निलम्बन नगर्नुस् : रास्वपा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न आग्रह गर्दै रास्वपाका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन्।
सोमबार सिंहदरबारमा भएको भेटमा रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभामुखलाई लामिछानेलाई निलम्बन नगर्न आग्रह गरेका हुन्।
जवाफमा सभामुख घिमिरेले यो विषयमा आफूहरु छलफलमा रहेको उल्लेख गर्दै संविधान, कानुन र संसद नियमावलीको आधारमा निर्णय गर्ने बताएका छन्।
रास्वपाका सभापति समेत रहेका रवि लामिछाने अहिले सहकारी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा छन् ।
उनी विरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दाको सुनुवाई सोमबारदेखि सुरु भएको छ ।








