हुण्डी कारोबारी विरुद्ध काठमाडौं प्रहरीको आक्रामक कारबाही
काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ। यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट प्रहरीले साढे २६ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ।
मंगलबार राति पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा विर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन्।
प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनाल नेतृत्वको प्रहरी टोलीले प्रदेश-३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको थियो।
भोलिपल्ट काठमाडौं-९ बत्तीसपुतलीबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा गुल्मी तम्घास नगरपालिका वडा नम्बर ४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे छन्। उनी बत्तीसपुतलीमा श्री बालाजी इम्पोर्ट प्रालि नामक कम्पनीका सञ्चालक हुन्।
प्रहरी नायब उपरीक्षक खनाल र परिसरको टोलीले कम्पनीमा छापा मार्दा भारतीय नागरिक ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं-१ कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं-१६ का ५२ वर्षीय सुरेश अधिकारी रहेका छन्।
उनीहरू उक्त कम्पनीमा शंकास्पद गतिविधि गरिरहेका थिए। सूचना पछ्याउँदै गएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।
पक्राउ परेकामाथि आवश्यक बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालिएको छ।
हुन्डी एक किसिमको ‘रेमिट्यान्स’ नै हो। तर यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन। हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ।
अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ।