कर्णालीलाई हराउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा
काठमाडौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो । कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २/२ विकेट लिए ।
अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा बुधवार जनकपुरलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । वुधबारको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको हो ।
हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।