एनपीएलको पुरस्कार राशी घोषणा : विजेताले १ करोड १० लाख पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका विजेता उप विजेताले पाउने पुरस्कार राशी घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा राजधानीमा जारी एनपीएलको विजेताले १ करोड १० लाख पाउने पक्का भएको छ ।
क्यानले आज एक विज्ञप्ति निकालेले विजेता, उप विजेता, तृतिय र चौथो स्थानमा रहने टोलीले पाउने पुरस्कार राशी घोषणा गरेको हो । जस अनुसार पहिलो हुने टिमले १ करोड १० लाख रुपैयाँ पाउँदा उप विजेताले ५१ लाख प्राप्त गर्ने छ । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख प्राप्त गर्दा चौथो हुने टिमको पोल्टामा १५ लाख पर्ने छ ।
एनपीएलमा समूह चरणका खेल भने सकिएका छन् । अब ४ टिमका बीचमा प्रतिस्पर्धा छ । जस अनुसार पहिलो क्वालीफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।
यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ भने पराजित भएको टिमलाई फाइनल पुग्न एक खेल मौका हुने छ । पहिलो एलिमिनेटर राउन्डमा भने चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने छ ।
यो खेलको विजेताले फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीचको खेलको पराजित भएको टिमसँग खेल्ने छ । प्रतियोगिता अन्तर्गत बुधबार २ खेल हुँदा विहीबार एक खेलमात्रै हुने छ । फाइनल खेल भने शनिबार हुने छ ।