सम्झनाको देशप्रति भावनाका पुष्पहरू


ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ आफ्नो जन्मिएको भूमि कति प्यारो हुन्छ र आस्थादेवको दर्शन र पूजा अर्चना गर्न मानिस कति व्याकुल हुँदो रहेछ भन्ने कुरो भुटानी राजाको छोटो नेपाल भ्रमण र उनले गरेका पूजा अर्चनाले पुष्टि गरेको छ । ७ डिसेम्बर २०२४ शुक्रवारका दिन भुटानी राजा भारतको औपचारिक दुई दिने भ्रमण पूरा गरी भुटान फर्कने क्रममा नेपालको काठमाडौँमा बौद्ध र स्वयम्भूमा दर्शन गरी पूजा अर्चना गरे । राजा खेसर नेपालको प्रसुतिगृह थापाथलीमा जन्मिएका हुन् । सायद त्यही भएर नै होला उनी पटक पटक नेपाल आउने गरेका छन् । उनी बौद्ध मार्गी हुन् ।
भुटानीका पाँचौँ राजा जिग्मी खेसर नामग्येल वाङ्चुक आफ्ना रैतीसँग निकै नम्र र उदार देखिन्छन् । उनी छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम राख्न दौडधुप गरिरहेकाछन् । भुटानका पाँचौँ राजा खेसरको यो उदारतालाई ९० मा लखेटिएका जनताले गम्भीरताकासाथ नियाली रहेका छन् । अब पक्कै पनि हामीमाथि पनि उनको कृपा दृष्टि पर्नेछ भन्नेमा आशा जगाएको छ । राजा खेसरलाई आफू जन्मिएको भूमिप्रति कति गहिरो माया रहेछ भन्ने उनको यस भ्रमणले स्पष्ट गरेको छ । अनि त्यस तीर्थ भूमिप्रतिको मोहले मन-मुटु र हृदयमा कति गम्भीर प्रभाव पारेको रहेछ भन्ने प्रमाणित नै गर्दिएको छ । त्यसरी नै भुटानमा जन्मिएका र त्यही हुर्किएका हामी विस्थापित भुटानीहरू सबैलाई आफ्नो मातृभूमिको एक पटक दर्शन गरेर मर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले पिर्नसम्म पिरेको छ ।पर्यटकै रूपमा भए पनि एक पटक जन्मिएका ठाउँको माटो स्पर्श गर्न र त्यस पवित्र माटाको टीका लगाएर जीवनलाई सार्थक गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । प्रवासमा रहेका देश प्रेमी नागरिकहरूका लागि पनि मार्ग खोल्दिन वर्तमान राजालाई हामी विशेष आग्रह गर्न चाहन्छौ ।
जन्मभूमिप्रतिको माया र श्रद्धा देशभक्त नागरिकका नशा नशामा बगेको हुन्छ । अझ आफ्ना पुर्खाको रगत र पसिनाले सिञ्चित गरी देशलाई विकास र समृद्ध बनाएको सम्झनाले मानिसलाई मानसिक रोगी नै बनाउँदो रहेछ । संसारको शक्तिशाली र समृद्ध देशमा पुनर्वाससित भई त्यहाँको सम्मानित नागरिक भइसकेका हाम्रा अधिकांश बाबा-आमा र अग्रजहरू जन्मभूमि मै गएर मर्ने र आफ्नो चिता गाउँकै नदीमा जलोस् भनी दिनरात ईश्वरसँग प्रार्थना गरिरहेका छन् । उनीहरूले देशप्रति गरेको गहिरो सम्झना र मायाबाट के स्पष्ट हुन्छ भने जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि महान् हुन्छ ।
विभिन्न कालखण्डमा हाम्रा पुर्खाहरूलाई नेपालबाट सन्धि-संझॏता गरेर भुटान लगियो । स्थायी रूपमा बसोबास गराइयो । केही समयपछि आफ्ना नातागोता खोज्दै अन्य स्थानहरूबाट पनि नेपाली भाषीहरू भुटान पसे । त्यस बेला भुटानमा न कुनै धान खेती नै थियो । न सुन्तला र अलैँचीका बर बगानहरू नै । थियो त केवल घना जङ्गल र जङ्गली जनावरको साम्राज्य । औलो र महामारी रोगहरूको अखडा । त्यस्तो बञ्जर र कहाली लाग्दो स्थानलाई खुन पसिनाले सिञ्चिएर गुल्जार बनाए । हराभरा बनाए । मानव बस्ती बसाए । ठुलठुला भीर र पहरा फोरेर राज मार्गहरू बनाए । देशलाई मज्बुद,सङ्गठित र समृद्ध गर्न भोक तिर्खा बिर्सिएर त्यहाँका राजा र रजौटाहरूको विना स्वार्थ सेवा र सहयोग गरे । जब देश विकास हुँदै गयो , संवृद्ध हुँदै गयो , बसेर खाने बेलामा बन्दुकको नोक छातीमा बजारेर त्यहाँका चौथा राजा जिग्मी सिग्मीसिङ्गीले देशबाट लखेटेर हाम्रा सोझा साझा पुर्खाहरूमाथि गम्भीर विश्वासघात गरे ।
त्यही भएर होला हाम्रा बाबा आमा अग्रजहरू जहिल्यै पनि भुटानको मात्र कुरा गर्न चाहन्छन् । दुखले खेत खनेको , बारी बनाएको , सुन्तला -अलैँची बगान बनाएको , जोङ्ग र गुम्बा निर्माण गरेको , स्कुलहरू निर्माण गरेको , गोरेटो र घोडेटोहरू निर्माण गरेको , देश निर्माणमा पुर्याएको अतुलनीय योगदानका मर्मस्पर्शी रमाइला सम्झनाहरू सुनाउन सधैँ व्याकुल छन् । भुटानको राजमार्ग खन्दाका घटनाहरूको समेत स्मरण र अनुभव ताजै छ उनीहरूसँग । गेलेफु टोङ्सा रोड । फुन्छोलिङ -थिम्फु रोड । गेलेफु – सरभाङ रोड । वाङ्दी थिम्फु रोड निर्माण गर्दाका तिलस्मी र हृदय विदारक अनुभवहरू सुनाएर मन हलुको गर्न चाहन्छन् उनीहरू । यिनै रोडहरुमा पर्ने मधुरग , जयन्ती रग , भोटे भीर , च्याफ्ले भीर , जन्तरे भीभर , जाँते भीर र न्यानुलाखा भीरहरूमा पहरो फोर्न भऱ्याङमा चढेर ब्लाष्टिङ विस्फोट गराउँदा कयौ मानिसहरूले ज्यान समेत गुमाएका ह्रदयविदारक घटनाहरू भावुक हुँदै सुनाइरहेका छन् ।
यस्तै अनेकॏ घटनामा विलय भएका व्यक्ति हुन “डाकवाला घिमिरे” । सुरे – सामखारा बिचमा पर्ने भोटेभीरसँग जोडिएको एउटा घटनालाई यहाँ सान्दर्भिक लागेर जोड्न चाहेँ – ती डाकवाला घिमिरे एक चर्चित हुलाक कर्मचारी थिए । रोड निर्माणको हुँदै गरेका स्थानमा सरकारी चिठ्ठी पत्र लिएर आउने जाने गर्थे । सुरे र सामखारा बिचको भोटेभीर सडक खण्डको निर्माणको समयमा डाकवाला घिमिरे सरकारी चिठी पत्र बोकेर गोरेटो बाटो हुँदै गइरहेका थिए। ८१ वर्षीय प्रत्यक्षदर्शी मान प्रधानका अनुसार, “अचानक पहिरो खस्यो, र उनी क्षणभरमै भग्नावशेषमा पुरिएर हराए।” आँखामा आँसु पार्दै प्रधानले थपे, “सडक निर्माणको क्रममा थुप्रै मानिसको मृत्यु भएको थियो, तर ती घटनाबारे सम्झन पनि गाह्रो छ।”
आज, घिमिरेका सन्तानहरू, अन्य विस्थापित भुटानीहरूझैँ, विश्वभर विभिन्न देशहरूमा पुनर्वाससित भएका छन्। के उनीहरूलाई आफ्नो पुर्खाले निर्माण गरेको रोड वा त्यो भोटेभीरमा गएर आफ्नो बाबुका लागि श्रद्धाको एक थोपा आँसु झारेर फर्कने इच्छा नहोला र ? घिमिरेका सन्तानका नसामा भोटेभीरको त्यो दुखान्त र दर्दनाक घटनाका शृखलाहरूले कति पिर्दो हो ? कति बेचयन र व्यथित गर्दो हो भन्ने कसैले सोचेको छ ? यी र यस्तै कैयौँ घटनामा आधारित परिवारजनहरूको देश भक्तिको उत्कट इच्छाहरू पूरा गरिदिने अनुकूल वातावरणको निर्माण भुटानी राजाबाट शीघ्रताका साथ पुरा गरियोस् । हाम्रो अपेक्षा छ । देशप्रतिको स्मरण गर्नु पक्कै पनि राष्ट्रप्रतिको अटुट माया नै हो ।
भुटानी राजाको नेपाल भ्रमणका समय काठमाडौँमा एक जना पत्रकारले नेपाली भाषी नागरिकलाई किन लखेटिएको भन्ने प्रश्न गरेका थिए । जवाफ दिँदै ती अधिकारीले भनेका थिए ‘सरकारले खेदेको होइन । आफै देश छोडेर हिँड्नु उनीहरूको गल्ती थियो । यसमा सरकारको कुनै गल्ती छैन ।’ उनको यो भनाइ बिल्कुलै आपत्ति जनक छ । किन भने ९० मा एक लाख मानिसले एकै पटक किन र कसरी देशबाट निकालिनु परेको थियो । त्यसको वास्तविकता नबुझी हचुवा भरमा दिएको ती अधिकारीको उत्तरमा कुनै सत्यता छैन ।
सायद ती बबुरा १९९० मा जन्मिएकै थिएनन् । जन्मिएकै थिए भने पनि बच्चै थिए होला । जनताले गल्ती नै गरेका थिए भने कसकसले के कस्तो गल्ती गर्यो भनेर छानबिन गर्नु राज्यको दायित्व होइन र ? गल्ती गर्नेलाई कानुन अनुसारको सजाय दिनुपर्ने कसको जिम्मेवारी हो ? बिना प्रमाण कसैले पोल लगाएको र शङ्का गरेको आधारमा नागरिकहरूलाई त्यो हदसम्मको सजाय दिनु पटक्कै न्यायसङ्गत थिएन ।
भुटानका ती बयोबृद्धहरु , वृद्धा महिलाहरू र ससाना बालबालिकाहरूको के गल्ती थियो त ? भुटानका हामी सोझा-सिधा नागरिकहरू जो अपाङ्गता भएका विशेष सहयोग चाहिने भुटानी नागरिकहरूको के गल्ती देखे ती मन्त्रीले ? जसले देख्न सक्तैनन् , सुन्न सक्तैनन् , बोल्न सक्तैनन् अनि हिँडडुल गर्न पनि अरूकै सहारा चाहिन्छ ? उनीहरूका लागि भुटानमा लेख्ने -पढ्ने कुनै पनि व्यवस्था थिएन अनि त्यस्ता मानिसहरूले के गल्ती गरेछन् र भुटानबाट लखेटिनु परेको हो ? ती मन्त्रीले यस प्रश्नको उत्तर दिनै पर्दछ ।
राज्यसँग विवेक हुनुपर्छ । मन्त्री भएँ भन्दैमा जे पनि बोलिदिए हुन्छ भन्ने सोच हिजो थियो होला तर आज बोलिसक्दा नसक्दा त्यो संसारभर पुगिसकेको हुन्छ । हुन त भुटानमा राज्य सञ्चालनको न कुनै नियम नै थियो । न कानुन नै । मात्र थियो राजाको ओठे कानुन । आपत् परेका बेला देश नछोड्न गोहीका आँसु बगाउँदै दक्षिणका नागरिकहरूलाई जिल्लामा दिउँसो बोलाएर सम्बोधन गर्थे राजा जिग्मी। संसारलाई देश नछोड्न भनेकै छैन भन्ने नाटक गर्थे दिउँसो । तर मध्य राति सेना छोड्थे र गाउँ गाउँ लुट्न लगाउँथे । छोरी बुहारीलाई बलात्कार गर्थे । देश छोडिनस् भने घरैसँग आगो लगाइदिन्छु भन्दै उनका सेना हिँड्थे । कहिले जग्गा जमिनको पैसा लिएर जा भन्थ्यो । अनि यस्तो कहाली लाग्दो राज्य आतङ्कको स्थिति कसले बनाएको थियो ?
सरकारकारका तर्फबाट भएका ज्यादती र चरम उत्पीडनको गम्भीरता पूर्ण अध्ययन र अनुसन्धान नगरी दिएको जवाफसँग हाम्रो कुनै सहमति छैन । राजाको भ्रमण दलको प्रतिनिधि भएँ भन्दैमा जे पनि बोलिदिए हुन्छ भन्ने सोच हिजो थियो होला । तर आज छैन । क्षण भरमा बोलेको संसारभर फैलिसकेको हुन्छ । ९० को दशकमा भुटानका चौथा राजाको समयमा राज्यले विवेक गुमाएकाले नै आज पाँचौँ राजाले राम्रो अवसरका लागि विदेश गएका आफ्ना नागरिकसँग हारगुहारको रट लगाउनु परेको हो भन्नेमा दोराइ छैन ।
यस्तै अनविज्ञ र गैर जिम्मेवार मन्त्री र विवेक शून्य भारदारहरूको जत्था वरिपरि राखेर राज्य सञ्चालन गर्ने हो भने राजा खेसरले पनि फेरि बाबुको जस्तै अर्को दुर्दशापूर्ण स्थिति भोग्नुको विकल्प छैन । आजको युग अत्याधुनिक प्रविधि सम्पन्न युग हो । हिजोको जस्तो कुनै पनि अपराध गरेर त्यसलाई ढाकछोप गर्ने सामर्थ्य आज कुनै पनि शासकले नराखे हुन्छ । यस विज्ञानको विकास र प्रविधिले मानिसलाई सभ्यता तर्फ डोऱ्याएको छ । स्वतन्त्र र पारदर्शी बनाएको छ । परिवर्तनशील र जागरूक बनाएको छ र संसारलाई गाउँ बनाएको छ । सञ्चार र प्रविधिका कारण मानवमा एकता कायम हुँदैछ । यस गतिशील युगमा पनि भुटान विश्वमा भ्रमको खेती गरिरहेको छ ।
सन् १९९० मा भुटानका चौथा राजा जिग्मी सिङ्गी वाङ्चुकले धेरै लामो योजना बनाएर देशबाट आफ्ना नागरिकहरुमध्ये कतिलाई सर्वस्व हरण गरी देशबाट लखेटेका थिए । कति नागरिकहरू भने भुटानी सेनाको अत्याचारलाई सहन नसकेर देश छाड्न बाध्य भए । धेरै मानिसहरूलाई जनगणनाका क्रममा गैर नागरिक बनाएर लखेटियो । कतिपयलाई दोहोरो नागरिकताको आरोप लगाइयो । कतिलाई देशबाहिरका आमा वा बाबाबाट जन्मिएको भनेर जनगणनामा तीन र चार नम्बरमा वर्गीकृत गरी विखण्डन गरियो ।
राज्यबाट पाउने सुविधा र सौलियातबाट वञ्चित गरेको मौखिक आदेश सुनाइयो । अनि त्यसलाई कार्यान्वयन गरी लगभग सवा लाख भुटानी जनताहरूलाई देश छाड्न बाध्य पारियो । आफ्नो देश भनेर मरिमेटी काम गरेका , देश विकासका निम्ति आफ्नो पुर्खाले ज्यान सौपेका र देशलाई पूर्ण रूपले विकास र समृद्धिमा लैजाने पुस्ता र तिनका सन्तानहरूले समेत भुटानमा बस्न पाएनन् । कतिलाई ङोलोपको बिल्ला लगाइयो भने कत्तिलाई अनागरिक भनियो । अधिकांशलाई आर्मी शासनबाट पेलान गराएर ज्यादती सहन नसकेर देश छाड्न बाध्य पारिएको घटनाहरूको राम्रो अध्ययन र अनुसन्धान नगरी जथाभाबी नबोल्न राजाका मन्त्री र भारदाहरूलाई विशेष अनुरोध छ ।
र यो पनि…