गेलेफु मेघासिटी ह्लोछाम्पाहरुको इतिहास मेटाउने प्रपञ्च

विष्णु लुइँटेल – ह्यारिसबर्ग , पेन्सिल्भेनिया
सन् १९९० मा भुटानी राजा जिग्मी सिङ्गी वाङछुकले लखेटेका भुटानी नागरिकहरू पूर्वी नेपालको शरणार्थी शिविरमा नारकीय जीवन बिताउन बाध्य भइरहेको बेला उता भुटानी राजाले भने तिनै शरणार्थीहरूलाई लखेटेर खाली पारिएको जग्गा-जमिनमा मेघा सिटी बनाउन विश्वका धनाढ्यहरू र दाता राष्ट्रहरूको आह्वान गरेका छन् । यसरी भुटानी राजाद्वारा आफ्ना नागरिकहरूप्रति पूर्ण रूपले उपेक्षा गर्दै नयाँ विकासको परियोजना अघि सारिएको छ ।
देशका नागरिकहरू देशवासी मात्र होइनन् उनीहरू त राष्ट्रको सीमा रक्षाका पहरेदार सिपाही पनि हुन । सन् १९९० को दशकमा भुटानका राजाबाट परिचालित सेनाको अन्याय र अत्याचार सहन नसकेर करिब सवा लाख भुटानी नागरिकहरू देशबाट लखेटिएका थिए । तिनै लखेटिएका भुटानीहरूमध्ये करिब चालीस हजारका हाराहारीको सङ्ख्या त्यही आज भुटानी राजाले अघि सारेको “गेलेफु मेघा सिटी” वा “गेलेफु माइन्डफुलनेस सिटी” का लागि निर्धारित खाली जमिनका हकदार नागरिकहरूको घरपरिवार बसेको जग्गा-जमिन हो ।
भुटान सरकारबाट चालीस औँ वर्ष अघिदेखि रचेको अर्को कुचाल के हो भने जुन-जुन स्थान वा गाउँ र ब्लकबाट नागरिकहरू लखेटिए ती सबै गाऊ ब्लकको नाम परिवर्तन गरिएको छ । देशबाट आफ्ना नागरिकहरू लखेटेर पूर्ण रूपले खाली बनाएका ती ब्लक वा गाउँहरूको नाम परिवर्तन गरेर चालीस वर्ष बितेपछि भुटानले गुपचुप राखेको गेलेफु मेघा सिटीको बृहत् परियोजना सार्वजनिक गरेको छ । यति लामो समय पर्खिएर उक्त परियोजना सार्वजनिक गर्नुको कारण पनि लखेटिएका नागरिकहरूले ती परिवर्तित नाम रहेका गाऊ र ब्लकहरूको भेउ नपाउन् भन्ने नै हो ।
भुटानबाट लखेटिँदाको बूढो वा पुरानो पुस्ता प्रायजस्तो बितिसके । भएकाहरूले पनि भुटानमा भोगेको शारीरिक र मानसिक यातनाका कारण र शरणार्थी शिविरमा अभावपूर्ण जीवन भोगाइका कारण पुराना घटनाहरू भुलिसके । शरणार्थीहरूको पुरानो पुस्ताले अब केही गर्न सक्दैन र नयाँ पुस्तालाई पुराना घटनाहरूको असर थाहा छैन भन्ने डेढ अक्कल लगाएर भुटानी राजाले उक्त परियोजना निर्माण गर्न व्यापक आह्वान गरेको भन्ने बुढापाकाको अड्कल पाइन्छ । इतिहासलाई निमिट्यान्न बनाएर नयाँ र खाली जमिनमा मेघा परियोजना प्रमाणित गर्न भुटानले परिवर्तन गरेका ब्लकहरूका पुराना र नयाँ नामहरू यस प्रकार रहेका छन् –
सुरे लाखा : जिग्मीछोलिङ । भुर : जिग्मीलिङ ।
दानाबारी : छु ज गाङ्ग । ललाई : उम्लिङ । तक्लाई : तारैथाङ ।
यी ता भए ब्लकका पुराना र नयाँ नाम , यसका अतिरिक्त स-साना गाउँहरूको पनि नाम परिवर्तन गरिएको छ ।
गेलेफु “मेघा सिटी” को केन्द्रबिन्दु हो । गेलेफुबाट दुई किलोमिटर सर भाङ राजमार्गको उत्तरपट्टि पाँच किलोमिटरको धावनमार्ग रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य धमाधम भइरहेको विशेष स्रोतबाट खुल्न आएको छ । मौसमी खोला आइपुवालीलाई पहाडको फेदीबाट बाँध बाँधेर नियन्त्रण गरी पैठा नदीमा मिसाउने भनी ई-क्यून्सेलमा उल्लेख गरिएको छ । त्यसैगरी पूर्वपट्टिका मौसमी धौला र सेती खहरेलाई पनि नियन्त्रण गरी पुल लगाएर कटाउने भनिएको छ । मेघा सिटी निर्माणका निम्ति निर्माण सामग्रीको आपूर्तिका लागि भारत असमको कोक्रा झारबाट गेलेफु विमानस्थलमा जोड्ने पैँतालीस किलोमिटर लम्बाइको रेलमार्ग निर्माण गरिने भनिएको छ । मेघा सिटीको आकर्षणलाई विशेष पहिचानमा ल्याउने अन्तर्राष्ट्रिय विमानस्थलको केही दक्षिण तर्फसम्म रेल आउने र त्यहाँ एक सुख्खा बन्दरगाह निर्माण गरिने भनिएको छ । यसरी मेघा सिटीका लागि ख़ाली गरिएको गेलेफुको जमिनबाट हजारौँ भुटानीहरूले सन् १९९० मा देशबाट लखेटिनु पऱ्यो ।गेलेफु सबै ब्लकहरू भन्दा घना बस्ती रहेको ब्लक हो । गेलेफु मेघा सिटीको मुटु पनि हो ।
गेलेफुका कारबारी (भुटानका स्थानीय कर्मचारी) भक्तिराम मिश्रका अनुसार -“ त्यस ब्लकमा जम्मा सात सय सा- ठाम (जमिनको कित्ता) रहेको र भाइछुटहरु समेत गर्दा साढे आठ सय घरपरिवारको बसोबास रहेको थियो । गेलेफु सहर केन्द्र भएकाले मुख्य बजार र त्यस आसपासमा घर घडेरी जोड्ने मानिसहरू सबैको सङ्ख्या बाह्र सय परिवार भन्दा माथि थिए । गेलेफुबासी र गेलेफु बाहिरका दक्षिण , उत्तर र पूर्वी भुटानीहरूको पनि त्यहाँ ठूल्ठूला भवनहरू थिए र छन् पनि । हामीले त्यस सहरलाई एक ऐतिहासिक सहर बनाउन धेरै मिहिनेत गऱ्यौ र पसिना बगाएका छौँ । तर आज हामीले नै लखेटिनु पऱ्यो । गेलेफुका मन्डल चन्द्र बहादुर तिवारी आएनन् । मन्डल तिवारीका घरमा एक रात भुटानी सेनाले अन्धाधुन्ध गोली चलाएका थिए । भाग्यले उनीहरू बाँचे र मण्डलका घरमा डिउटीमा खटिएका केही गाउँलेहरूलाई समेत केही समय जेल हालिएको घटना ताजै छ । पछि उनी आफै पनि जेल परे र लामो समय कठोर यातना सहनु पऱ्यो । पछि उनी बिते । यी सबै घटनाहरू मेरो आँखामा ताजै छन् । मिश्रले थपे । गेलेफुबाट स्थायी बसोबास गर्नेहरू जम्मा साढे आठ सय परिवारमध्ये त्यही सय परिवार त्यहाँ रहे होलान् । सात सय परिवार भन्दा माथि नै त्याबाट लखेटियौँ “। लामो सुस्केरा हाल्दै मिश्रले थपे । कारबारी मिश्र हाल अमेरिकाको ओहायो राज्यको ब्ल्कलिक सिटीमा सपरिवार बस्दै आएका छन् ।
जिग्मीलिङ वा भुर ब्लकमा जहाँ कोरोना महामारीको समय कोरोनटाइनका निम्ति निर्माण गरिएका संरचनाहरू र अरू निर्माणाधीन भवनहरू कुल सात सय एकड जमिनमा फैलिएका छन् भनिएको छ । त्यस स्थानमा पनि भुटानी नागरिकहरूलाई ९०को दशकमा उठिबास लगाएर खाली गरिएको जमिन हो । त्यस स्थानमा सूचना प्रविधि विभाग (IT) , विभिन्न तालिम केन्द्रहरू , इन्जिनियरिङ विभाग र मानव स्रोत वा जनशक्ति विभाग (HR) समेत रहने बताइएको छ । भुर ब्लक अन्तर्गत पर्ने आइपुवाली गाउँको परिवर्तित नाम फुलारी (phulari) हो । त्यस भन्दा माथिको अर्को गाऊ इदी (Edi) रहेको छ । इदी गाऊ चाही आइपुवालीकै सिरानमा पर्छ। ९० का दशकमा भुटानले त्यहाँका ह्लोछाम्पाहरुलाई लखेटेर पछि सेमगाङ जिल्लाको इदी गाउँका बासिन्दाहरूलाई ल्याएर सानो बस्ती बसाएको रहेछ । त्यही सेमगाङ जिल्लाको इदीका मानिसहरू राखेर गाउँ बसाएकोले गाउँको नाम नै इदी राखिएको रहेछ ।
यही इदी गाऊ मुनि र आइपुवाली गाउँको मुटुमा एक भव्य बौद्ध मन्दिर र गुम्बाहरूको निर्माणका लागि भुटानको मेघा सिटी अन्तर्गत तारा कुलिकुली र छेपामेयी नामका भव्य मन्दिरहरू निर्माण गर्ने योजना गरिएको रहेछ । यस योजनामा आठ श्मशान भूमि, वज्रयान केन्द्रलगायत पारो रिन्पुङ जस्तै एक भव्य गुम्बा फुलारीमा निर्माण गरिँदै छन् । गेलेफु बजारबाट १५ मिनेटको दुरीमा पर्ने उक्त सबै योजनाहरूका निम्ति छुटाइएको जमिन सन् १९९० मा राजाबाट सेना परिचालन गरी नागरिकहरू लखेटेर खाली बनाइएको जमिन नै हो ।
भुर ब्लकका बिस वर्षसम्म कारबारी (भुटानका स्थानीय कर्मचारी )काम गरेका वयोवृद्ध भानुचन्द्र अधिकारीका अनुसार यो ब्लक सन १९७६ देखि गेलेफुबाट अलग भएको हो । अधिकारीले भने “ गेलेफु र भुर ब्लक एउटै हॅुदा त्यसमा धेरै घरपरिवार हुने र उनीहरूको रेखदेख र सरकारी काम गर्न पनि अति नै कठिन हुने भएकाले गेलेफु र भुरलाई अलग गरी दुई वटा ब्लक बनाएको हो “ । भुर , गेलेफु ब्लक छदैदेखि मैले कार बारीको जिम्मेवारी बहन गरे र पछि भुर ब्लक बनेपछि पनि त्यही जिम्मेवारीमा काम गरेँ । जम्मा बिस वर्ष लगातार जनताको सेवा र सरकारको सोझो गरेता पनि देशमा बस्न पाइएन । ९० को दशकमा विभिन्न यातना सहनु पऱ्यो । गॅाउघरमा आर्मीको त्रास र गेलेफु डुङ् पा डासो तोब्गेछिरिङको जबरजस्ती दबाब र पेलान सहन सकिएन । ज्यान बचाउन स-साना बालबच्चा च्यापेर चुहुँदो झरीमा देश छाड्न बाध्य भए । ती दिन सम्झन पनि मन लाग्दैन । भुटान सरकारले मलाई भए नभएका विभिन्न आरोपहरू लगायो । मेरो केही कसुर छैन भन्दा पनि सुनेन र मलाई घोक्राई मुन्ट्याइ गरेर देशबाट निकाला गऱ्यो “ – उहॅाले थप्नु भयो । भानुचन्द्र अधिकारी हाल अमेरिकाको केन्टकी राज्यमा बस्नुहुन्छ । गेलेफुको भुर ब्लकमा छदा उनी आइपुवाली वा हालको नयाँ नाम फुलारी (phulari) मा घरपरिवारसँग बसेका थिए ।
भुर ब्लक अन्तर्गत झुप्रे गाउँका गाउँ बूढा पदम आचार्यका अनुसार “ भुर वा जिग्मीलिङ ब्लकमा पनि सात सय पचासका हाराहारीमा सा-ठाम धनीहरू थिए । त्यस माथि अरू सवा सय परिवारहरू भाइ छुट गरी जम्मा नौ सय घरपरिवारहरूको बसोबास रहेको थियो । भुरबाट सेनाको ज्यादती सहन नसकेर आधा भन्दा बढी घरपरिवारहरू देशबाट लखेटिए । भुर मन्डल यादबहादुर घले बितेर गए । म बल्लतल्ल ज्यान जोगाएर भागेँ । भुटान सम्झँदा रुन मन लाग्छ । कति दुःख गरेर विकाश निर्माणका काम गरियो । बेठी बेगार र झार्लङ्गी तिरियो “- उहाँले थप्नु भयो । पदम आचार्य हाल ओहायोको ब्ल्कलिकमा आफ्नो परिवारसँग बसेका छन् ।
दानाबारी वा छु ज गाङ्ग पूर्णरुपमा भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीको झल्को दिने संरचनाहरूको निर्माण हुने परियोजना रहेको विशेष सूत्रबाट अपुष्ट समाचार प्राप्त भएको छ । गेलेफु बजारबाट १५ मिनेटको ड्राइभमा पर्ने उक्त सबै योजनाहरू सन् १९९० मा राजाबाट सेना परिचालन गरी नागरिकहरू लखेटेर खाली बनाइएका जमिन नै हुन ।
दानाबारी वा छु ज गाङ्ग मण्डलका बैदार (क्लर्क) हरि काफ्लेका अनुसार – “दानाबारी ब्लकमा जम्मा सा-ठाम र भाइ छुट गरी आठ सयको हाराहारीमा घरपरिवारहरू बसोबास थियो । ती मध्ये केही नेपाली भाषी र डुक्पा जाति गरी पचास घरपरिवार त्यहाँ रहे होलान् । सन १९९० को दशकमा देशमा सैनिक शासन लागु भयो । आर्मीहरूले दिनहुँ घरघरमा आएर यातना दिन थाले । धेरै नागरिकहरूले जेलको कठोर यातना सहनु पऱ्यो । मलाई पनि अठार महिनासम्म जेलमा थुनेर विभिन्न प्रकारले शारीरिक र मानसिक यातना दियो । कति साथी भाइहरूले अङ्गभङ्ग हुनुपऱ्यो । कतिले त ज्यान समेत गुमाउनु पऱ्यो । कति महिलाहरूले आफ्नो इज्जत समेत बचाउन सकेनन् । कति जना त आज पर्यन्त जेलको कठोर यातना भोग्न बाध्य पारिएका छन् ।
हाम्रा गाउँका मानिसहरू कति त बेपत्ता समेत भए । ९० का दशकको भुटानी सरकारको ज्यादती भनिसाधे छैन । काफ्लेले अघि थपे – “दाबारीको माटो अत्यन्तै उर्वर थियो । त्यहाँ ठुला – ठुला खेतका धनीहरू थिए । तामुल र नरिवल खेती पनि त्यतिकै राम्रो उत्पादन हुन्थ्यो । त्यो सबै उन्नति नेपाली भाषी ह्लोछाम्पाहरुले उपभोग गरे भन्ने आहारिसले भुटानी सरकार हामीदेखि जलेको हो । हाम्रो केही गल्ती नहुँदानहुदै पनि हामीले नै देशबाट लखेटिनु पऱ्यो । यो हामी प्रति राजाले गरेको कठोर अन्याय हो । यस पापको परिणाम राजाले एकनएक दिन भोग्नै पर्दछ “। हरि काफ्ले हाल ओहायो राज्यको ब्ल्याकलिक सिटीमा परिवार सहित बसेका छन् ।
सन १९९० मा भुटानी राजाले सेना परिचालन गरेर तक्लाई , हालको तारैथाङ ब्लकका बासिन्दालाई भन्नै नसकिने विभिन्न कठोर यातना दियो । त्यहाँका बासिन्दा भुटानी नागरिक सहित ब्लक मन्डल पूर्ण गुरुङले समेत विभिन्न शारीरिक र मानसिक यातनाको सिकार हुनु पऱ्यो । “ भुटान आर्मीको कठोर जङ्गली व्यवहारबाट बाच्न के-कस्तो भागाभाग भयो त्यो सबै भन्न सक्ने अवस्था छैन , पूर्ण गुरुङले भन्नु भयो । तक्लाई ब्लकमा पाँच सय मूल सा-ठाम (जमिनको आधिकारिक कित्ता ) रहेको र भाइछुटहरु गरी जम्मा छ सयको हाराहारीमा घरपरिवारहरू बसोबास रहेको थियो । मेरो ब्लकका सबै घर परिवारहरू पूर्ण रूपमा खेदिए ।तक्लाई ब्लकमा एकै परिवार रहेनन् र म समेत लखेटिए । कतिले आफ्नो ज्यान समेत बचाउन सकेनन् । बाचे रहेकाहरूले आज आफ्नो परिवार बचाएर यहाँसम्म आउन सकियो । यसैमा खुसी छु “ गुरुङले थपे । उनी सन् १९८१ देखि ९० सम्म तक्लाई ब्लकमा मण्डलको गहन जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन । पूर्ण गुरुङ हालमा पेन्सिल्भेनियाको यिरीमा परिवारसँग बस्नु हुन्छ ।
तारैथाङ वा तक्लाईको नागरिक खेदाएर खाली बनाएको जमिनमा मेघा सिटी अन्तर्गत तीस एकड जमिनमा फैलिएका भवनहरू निर्माणका निम्ति शिलान्यास भइसकेको खबर त्यहाँका विशेष सूत्रबाट प्राप्त भएको छ । तक्लाई ब्लकमा निर्माण हुने भवनहरूमा राष्ट्रिय सुरक्षा विभाग (NS) रहने छ । जसमा देसु तालिम केन्द्र (अर्ध सैनिक तालिम ) रहने छ । त्यसै गरी गेलेफु , उम्लिङ (दानाबारी) र तारैथाङ (तक्लाई) लाई जोड्नका निम्ति माऊ नदीमा आठ सय मिटर लम्बाई रहेको विशाल पुलको निर्माण हुने कुरा उल्लेख गरिएको छ । अन्यथा माउ नदी बडेको समयमा पूर्वी ब्लकहरू गेलेफुसँग सम्पर्क विहीन हुन्छन् र पूर्ण रूपमा आवतजावत बन्ध हुन्छ । यता चिसापानी गेलेफु टोङसा रोडमा पुग्न डेडघन्टा भन्दा ज्यादा समय लाग्छ ।
यस कारण पनि गेलेफुसित लक्लाईसम्मको सम्पर्क र आवतजावत सहज बनाउन पनि माऊ नदीमा पुल निर्माण गर्नु त नितान्त आवश्यक थियो । तक्लाई ब्लक सन १९६० को हाराहारीमा घिउवाला मन्डले बस्ती बसाउन पुनाखा दरबारबाट राजा जिग्मी दोर्जी वाङ्छुकबाट अख्तियारी (काशो) आज्ञा पत्र पाए पछि उनै मन्डल (रण बहादुर गुरुङ) घिउवालाको नेतृत्वमा बसाइएको बस्ती हो । यस अर्थमा भुटानले माऊ नदीमा पुल यो भन्दा धेरै पहिले नै निर्माण गरेर ती चार वटा ब्लकका करिब तीन हजार घर परिवारलाई सुविधा दिइनु पर्दथ्यो । तर ह्लोछाम्पाहरुको जनसङ्ख्या बडी रहेको स्थानमा भुटानका तेस्रा राजाको कार्यकालमा त्यति ध्यान पुऱ्याएको पाइँदैन । बरु उनीहरूलाई कसरी लखेट्ने र देशविहीन गराउने भन्ने तर्फ चाही बहुत चलाखी र धुर्त्याइँ गरेको पाइन्छ । नागरिक लखेट्ने र लखेटिएका नागरिकहरूका जग्गाजमिन कब्जा गरेर माइन्डफुलनेस सिटीको निर्माण गर्ने जस्ता कुकृत्यबाट उनको धुर्त्याईं स्पष्ट हुन्छ ।
सन् १९९० को दशकमा भुटानमा मानव अधिकार र मौलिक हकको माग गर्दै भुटानी नागरिकहरूबाट जनविद्रोहको सुरु भयो। सरकारको विभेदकारी जनगणना नीतिका कारण एकै परिवारका सदस्यहरूले विभिन्न सात वर्गमा विभाजित हुनुपऱ्यो र देशबाटसमेत लखेटिनु पऱ्यो । भुटानीहरूको त्यस जनआवाजलाई निमिट्यान्न पार्न भुटानी राजाले दक्षिण भुटानमा सैनिक शासन लागु गरे र गाउँमा सेना परिचालन गरे । दक्षिण भुटानका नागरिकहरूले देशमा बस्ने स्थिति नभएपछि ज्यान बचाउन देश छाडेर भाग्न बाध्य भए । कति नागरिकहरू मारिए , कतिले जेलमा नारकीय जीवन बिताउन बाध्य भए भने कति महिलाहरूले बलात्कारका सिकार बन्नु पऱ्यो । दक्षिण भुटानमा बसोबास गर्ने अधिकांश भुटानी नागरिकहरू नेपाली भाषा र नेपाली संस्कृतिमा आस्था राख्ने समुदायमा पर्दछन्।
आफ्नो ज्यान बचाउन भुटान छाड्न बाध्य भएका भुटानी नागरिकहरूले छाडेका जग्गा जमिनमा भुटान सरकारले हाल मेघा सिटी गेलेफु अथवा गेलेफु माइन्डफुल्नेस सिटी निर्माण गर्ने निधो गरेको छ । पुस्तौँ पुस्ता बसोबास गरेका आफ्ना दक्षिणी भुटानका नागरिकहरूलाई देशबाट सैनिक शासन लागु गरी पूर्ण रूपमा खाली पारिएको त्यस जग्गा जमिनमा भुटानले खाली जग्गा हो भनेर आज विश्व समुदायलाई पूर्ण रूपले ढाँटिरहेको छ । भुटानका दातृराष्ट्र र संसारका धनाढ्य कम्पनी र व्यक्तिहरूलाई हार गुहार गरेर आफ्नो मेघा सिटी बनाउने कसरतमा भुटानी राजा खेसर नाम्गेल बाङ्चुक लागि परेका छन् ।
सन ९० को दशकदेखि यता प्रत्यक्ष रूपमा भुटानी राजाले आफ्नै नागरिकहरूलाई छिन्नभिन्न पारेर अनागरिक मात्र बनाएको छैन , राजाले आफ्ना नागरिकहरूको राज्य निर्माण र विकाशमा पुऱ्याएको योगदानको अन्देखा गरी विकाश प्रेमी भुटानीहरूलाई वर्षा याममा भुईँबाट पाखा निस्किएको छिचिमिरा समान बनाएको छ । नागरिक माथि स्वयम् राजाले गरेको अन्याय पक्कै पनि अक्षम्य छ । राजा न्यायिक भए “राम” बन्दछन् र राज्य “रामराज्य” बन्दछ । तर राजा अन्यायी भए ऊ “रावण” बन्दछ । के बन्ने र राज्य कस्तो बनाउने हो त्यसको छनौटको जिम्मा भुटानी राजाको हो । भुटानी राजा आफैले देशमा मच्चाएको राज्य आतङ्क र भुटानी नागरिकहरूलाई राजाले ङोलोप भनी लगाएको आरोप इतिहासले एक दिन अवश्य तराजुमा जोख्नेछ । अपराधमा कसको पल्ला भारी हुने हो त्यो इतिहासले निर्क्योल गर्ने नै छ । बाँकी अर्को अंकमा
र यो पनि