नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार असफल : गगन
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा विदेशी लगानी भित्र्याउन सरकारको नीतिगत असफलताले बाधा पुगेको बताएका छन्। उनले सरकारको गैरलचकदार नीतिका कारण विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न डराएको बताएका छन्।
मानवअधिकार तथा शान्ति समाजद्वारा काठमाडौंमा आयोजित नागरिक संवाद कार्यक्रममा थापाले नेपालमा लगानी गरेर मुनाफा बाहिर लैजाने प्रयासमा तीनवटा कम्पनीलाई सरकारले अवरोध गरेको आरोप लगाए। ती कम्पनीहरूको नाम लिन डर लागेको भन्दै उनले भने, “हामीलाई फाइदा चाहिएको छ, तर वातावरण बनाउन सकेका छैनौं।”
थापाका अनुसार, विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न नेपालले मात्र आग्रह गरेर पुग्दैन। यसका लागि लगानीमैत्री वातावरण निर्माण अपरिहार्य छ।
रोजगारी सिर्जना गर्ने काम सरकारको नभई निजी क्षेत्रको भएको उल्लेख गर्दै थापाले भने, “सरकारले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिने वातावरण बनाउनुपर्छ। तर, निजी क्षेत्रले मुनाफा गर्ने विषयलाई समाजले स्वीकार नगरेसम्म यो सम्भव छैन।”
उनले कांग्रेस र एमाले सरकारलाई रोजगारीको मुद्दालाई प्राथमिकतामा राखेर प्रतिस्पर्धा गर्न सुझाव दिए। साथै, सबै राजनीतिक दलले आगामी २०८४ सालको चुनावको तयारी मात्र नगरी अहिलेको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न पनि उठाए।थापाले सूचना प्रविधि क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई विदेशी मुद्रा सटही गर्न र नेपाल बाहिर लगानी गर्न दिन राष्ट्र बैंकले बाटो खोल्नुपर्ने सुझाव दिए। “सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरूले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न बाह्य लगानी आवश्यक छ,” उनले भने।
थापाले नेपालमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बिना न आर्थिक विकास सम्भव हुने, नत रोजगारी सिर्जना हुने तर्क गरे।