दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमै राख्न अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई विद्युतीय कसुरको मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखेको हो।
ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध आइतबार अदालतले म्याद थप गरेको हो। यसैगरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरिसकेको छ।
प्रसाईंलाई झापाका हरिचन्द्र फुयालसँगको कनेक्सनका कारण आपराधिक लाभको कसुरमा पनि अनुसन्धान भइरहेको छ। फुयाललाई व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पक्राउ गरिएको थियो।
त्यस्तै, साइबर ब्यूरोले प्रसाईंको हालै प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी दिएको विवादास्पद अभिव्यक्तिको विषयमा पनि अनुसन्धान गरिरहेको छ।