महासंघको चुनावमा युनियन चौतारी सहकार्य, युनियनबाटै विद्रोह
काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको २८ गते हुने चुनावका लागि उम्मेदवारी दर्ता भएको छ । सत्ता दल निकट प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाउँदा युनियनबाटै बागी उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन र प्रेस चौतारीले १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका कमिटीको जिम्मेवारी आपसमा बाँडेका छन् ।
गठबन्धनको अध्यक्ष पदका लागि प्रेस चौतारीकी निर्मला शर्मालाई उम्मेदवार बनाएर महिला उपाध्यक्षमा नीतु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र समावेशी सचिवमा सविन प्रियसनलाई राखेको छ ।
त्यसैगरी महासंघमा संख्याका हिसावले ठूलो भए पनि प्रेस युनियनले बरिष्ठ उपाध्यक्षसहित अरु पदाधिकारी लिएको छ । प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षका लागि दीपक आचार्य, समावेशी उपाध्यक्षका लागि उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी सचिव पदमा पनि भागबन्डा भएको छ । महासंघका १० वटा प्रदेश मध्य कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष पदहरू प्रेस चौतारीले भएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र अन्य समितिका अध्यक्ष पदहरू प्रेस युनियनले लिने गरी भागबन्डा गरिएको छ । १० प्रदेशको उम्मेदवारी दर्ता भने २६ गते हुने छ ।
युनियन र चौतारीको गठबन्धन विरुद्ध प्रेस सेन्टर नेपालले अन्य वामपन्थी समूहहरूसँग संयुक्त प्यानल बनाएको छ । यस प्यानलको अध्यक्ष पदका लागि कमल गिरी उम्मेदवार रहेका छन्, जसको समर्थनमा माओवादीको भ्रातृसंगठन प्रेस सेन्टरका विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी पनि उम्मेदवार छन् ।
गिरीको प्यानलमा वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महिला उपाध्यक्ष गंगा बराल, समावेशी उपाध्यक्ष सुभाषप्रसाद साह, महासचिव लेखनाथ न्यौपाने, खुला सचिव उत्तर विष्ट, मधेसी सचिव सिर्जन झा, महिला सचिव सरिता बराइली, दलित सचिव वसन्त विश्वकर्मा, आदिवासी तथा जनजाति सचिव भीषण राई, एसोसिएट सचिव विकास कार्की, कोषाध्यक्ष रामकृष्ण अधिकारी र लेखा समिति संयोजक ध्रुव रावल रहेका छन् ।
प्रेस युनियन र चौतारीले संयुक्त रुपमा उम्मेदवार टुंगाए पनि युनियनबाटै नेताहरुले विद्रोह गरेका छन् । युनियनबाटै यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष र केही समय कार्यबहाक अध्यक्ष पनि भएका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दर्ता गर्दा, वरिष्ठ उपाध्यक्षमा दामोदर प्रसाद दवाडी र महासचिवमा प्रकाश थापालगायतले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले प्रारम्भीक उम्मेदवारको सूची भने सार्वजनिक गरेको छैन ।